अर्जुन प्रधान – संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा ग्लोबल भूटानीज अर्गनाइजेशन (जीबीओ) नेपाल को भव्य उद्घाटन समारोह आज विशेष कार्यक्रमका बीच सम्पन्न भयो। प्रमुख अतिथि राना मगरकै हातबाट जीबीओ नेपालको औपचारिक उद्घाटन गरिएको थियो।
समारोहमा राष्ट्रिय हास्य कलाकार मनोज गजुरेल, बरिष्ठ कलाकार सिमान्त उदास, पूर्व प्याप्सन अध्यक्ष विजय सम्बाहाम्फे, समाजसेवी राजकुमार थपलिया, तथा कलाकार अनुभव रेग्मी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जीबीओ नेपालले आफ्नो यात्रा, उद्देश्य, र भावी योजनाहरू समेटिएको भिडियो डकुमेन्ट्री प्रस्तुत गरेको सञ्चालक समितिका कोषाध्यक्ष अर्जुन उप्रेती ले जानकारी दिए। उनले भने, “यस डकुमेन्ट्रीले उपस्थित दर्शकहरूलाई संस्थाको लक्ष्य र समाजमा यसले पुर्याउने योगदानबारे जानकारी गरायो।”
जीबीओ नेपालले शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ। संस्थाले शैक्षिक कार्यक्रमहरू सञ्चालन, स्वास्थ्य सेवामा पहुँच विस्तार, तथा प्राकृतिक प्रकोपका समयमा राहत तथा पुनर्स्थापना सहायता प्रदान गर्ने योजनाहरू अघि सारेको अध्यक्ष सिला उप्रेती ले बताइन्।
यो पनि पढ्नु होला ः- https://globalpostinfo.us/?p=16811
संघीय संसदकी उपसभामुख इन्दिरा राना मगर ले उद्घाटन समारोहमा भनिन्, “मैले पालनपोषण गरेका नानीहरू अहिले नेपाल आमालाई सहयोग गरिरहेका छन्, र शिक्षा तथा सीपमूलक कार्यक्रमहरूमार्फत उज्यालो भविष्य निर्माण गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ।”
त्यसैगरी, विभिन्न वक्ताहरूले जीबीओ नेपालले समाजमा पुर्याउने योगदानबारे चर्चा गर्दै, संस्थाको कार्यदिशाले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
समारोहलाई विशेष बनाउन सांस्कृतिक प्रस्तुति, व्यवसायिक अन्तरक्रिया, तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका थिए।





जीबीओ नेपालले व्यवसाय प्रवर्द्धनसँगै समाज सेवा, शिक्षा, स्वास्थ्य, र विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। ग्लोबल भूटानीज अर्गनाइजेशनका संस्थापक अध्यक्ष डी.बी. राई ले संस्थाले आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी गराए।