अमेरिका | ३० एप्रिल २०२६ — ग्लोबल भुटानी हिन्दू संगठनका अध्यक्ष श्री कमल धिमाललाई मातृशोक परेको समाचारले सम्पूर्ण भुटानी समुदायलाई स्तब्ध बनाएको छ। उहाँकी प्रिय माता गोमा देवी धिमालको आज बिहान पिट्सवर्ग स्थित जेफर्सन हस्पिटलमा उपचारको क्रममा स्वर्गारोहण भएको परिवार स्रोतले जनाएको छ ।
स्वर्गीय गोमा देवीको निधनले परिवारमा अपूरणीय क्षति पुगेको छ। उहाँका पति टीकाराम धिमाल भूटान सरकारले सन् १९९१ मा गरेको अन्यायपूर्ण हत्याका शिकार बनेका थिए। त्यसपछि गोमा देवीले एकल रूपमा परिवारको जिम्मेवारी वहन गर्दै साहस, धैर्य र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको थियो। यस कारण धिमाल परिवार भुटानी समाजमा शहीद परिवारका रूपमा सम्मानित रहँदै आएको छ।
ग्लोबल भुटानी हिन्दू संगठनका सदस्यहरू तथा वैदिक सनातन समुदायले यस दुःखद घडीमा गहिरो समवेदना व्यक्त गर्दै स्वर्गीय गोमा देवीको आत्माको चिरशान्तिको कामना गरेका छन्। उहाँको जीवनसंघर्ष, सहनशीलता र समर्पण सधैं स्मरणीय रहने विश्वास गरिएको छ।
यस कठिन समयमा अध्यक्ष कमल धिमाल तथा उहाँको शोकाकुल परिवारप्रति सम्पूर्ण भुटानी समुदायले ऐक्यबद्धता, सहानुभूति र समर्थन प्रकट गरेको छ। स्वर्गीय गोमा देवीप्रति ग्लोवलपोस्ट परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्मा सदैव शान्तिमा रहोस् भन्ने कामना गरिएको छ।












