असार २६, २०८३ | अर्जुन प्रधान
अमेरिकाको ओहायो राज्यमा बस्दै आएका भूटानी मूलका सञ्चारकर्मी तथा उद्यमी हरि सुवेदी मृत अवस्थामा फेला परेका छन्। जुलाई ६, २०२६ देखि सम्पर्कविहीन रहेका सुवेदीको शव फेला परेको र परिवारले उनको पहिचान पुष्टि गरेको छ। उनका दाजु कृष्ण सुवेदीका अनुसार फेला परेको शव हरि सुवेदीकै भएको पुष्टि भएको हो। “यो शव मेरो भाइ हरिकै हो। अब हामी हिन्दु परम्पराअनुसार अन्त्येष्टि गर्ने तयारीमा छौं,” उनले भने।
सुवेदी ओहायोमा आफूले सञ्चालन गर्दै आएको अन्नपूर्णा ग्रोसरीज LLC मध्ये एक रहेको भवनमा आगलागी भएपछि मृत अवस्थामा फेला परेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार ह्यामिल्टनस्थित डिक्सी हाईवेमा रहेको पूर्व टाउन एन्ड कन्ट्री फर्निचर भवनमा सोमबार साँझ करिब ८:४५ बजे आगलागी भएको थियो। आगो नियन्त्रणमा लिएपछि अग्निनियन्त्रकहरूले भवनभित्र एक व्यक्तिको शव फेला पारेका थिए। घटनाको कारण र मृत्युको प्रकृतिबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको कृष्ण सुवेदीले जानकारी दिए।
सन् १९७८ मा भूटानको गेयलेफुगस्थित दानाबारीमा जन्मिएका हरि सुवेदी कमलापति सुवेदी र बसुन्धरा सुवेदीका छ छोरा र दुई छोरीमध्ये तेस्रो सन्तान थिए। उनले त्रिभुवन विश्वविद्यालयमा विज्ञान विषय अध्ययन गर्दै गर्दा अमेरिका पुनर्वास कार्यक्रमअन्तर्गत सन् २००८ मा न्यू मेक्सिको पुगेका थिए। त्यसपछि सन् २०१६ मा ओहायो सरेका थिए। ओहायोमा बसोबासपछि उनले मास कम्युनिकेशन अध्ययन गरे। साथै Columbus Underground Radio मार्फत नेपाली भाषाको लोकप्रिय रेडियो कार्यक्रम “हाम्रो आवाज” सञ्चालन गर्दै आएका थिए। श्रीमतीको क्यान्सर उपचारका कारण केही समय कार्यक्रम रोक्नुपरे पनि पुनः प्रसारण गर्ने सम्पूर्ण तयारीमा रहेका थिए। सञ्चारकर्मीसँगै उनी सफल उद्यमीका रूपमा पनि परिचित थिए।
हरि सुवेदी समाजका विभिन्न व्यक्तित्वहरूसँग अन्तर्वार्ता लिएर उनीहरूको अनुभव र विचार समुदायसम्म पुर्याउने, नेपाली भाषा, कला र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने, र समाजलाई आवश्यक सूचना तथा जनचेतनामूलक सन्देश प्रवाह गर्ने कार्यमा निरन्तर सक्रिय थिए। उनको सञ्चार यात्राले विशेषगरी अमेरिकामा रहेका भूटानी नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको थियो। श्रीमती र दुई छोरासहित बस्दै आएका सुवेदी अचानक सम्पर्कविहीन भएपछि परिवार, साथीभाइ तथा भूटानीनेपाली समुदायले उनको व्यापक खोजी गरेका थिए। अन्ततः उनको शव फेला परेको खबरले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ।
दाजु कृष्ण सुवेदीले भावुक हुँदै भने, “हरि अध्ययनशील, समाजप्रति अत्यन्तै सचेत र जिम्मेवार व्यक्ति थिए। उहाँ सबैका सहयोगी भाइ हुनुहुन्थ्यो। आज उहाँ हामी र समाजबीच हुनुहुन्न भन्ने यथार्थले हामी सबैलाई अत्यन्त दुःखी बनाएको छ। उहाँको अभाव लामो समयसम्म महसुस हुनेछ।”










