@अर्जुन प्रधान
पाटन उच्च अदालतले वादी समुदायसम्बन्धी विषयवस्तुमा आधारित फिल्म ‘लालीबजार’को प्रदर्शनमा २२ वैशाखसम्म रोक लगाएपछि चलचित्रकर्मीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे।
अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरे। कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, फिल्मकर्मी खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा र गणेशदेव पाण्डेलगायत सहभागी उक्त प्रदर्शनमा कलाको स्वतन्त्रताको माग उठाइयो।

‘सिनेमा बोलेस, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्’ — माइतीघर मण्डला, काठमाडौं
प्रदर्शनकारीहरूले ‘सिनेमा–साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’ र ‘संविधानले दिएको सम्मान–हाम्रो अडान, सबै जात, धर्म, समुदाय–हामी सचेत सधैं जान’जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे।
अदालती आदेशको पृष्ठभूमिपाटन उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले मंगलबार ‘लालीबजार’ फिल्मको सार्वजनिक प्रदर्शनमा मिति २०८३ साल वैशाख २२ गतेसम्मका लागि अन्तरिम रोक लगाउने आदेश जारी गर्यो। उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१)(क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।


वादी समुदायका तर्फबाट रोशनी नेपालीले दायर गरेको मुद्दामा फिल्मका केही शब्दहरूले उक्त समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्ने आरोप लगाइएको छ। चलचित्र लाई विपक्षी बनाउँदै दायर भएको यस रिट निवेदनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि विपक्षी बनाइएको छ।

षट्कोण आर्टसले निर्माण गरेको र यम थापाद्वारा निर्देशित ‘लालीबजार’ वादी समुदायका महिलाले भोग्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो। उल्लेखनीय छ कि सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र प्रदान गरिसकेको थियो।
अदालतले अर्को सुनुवाइका लागि वैशाख २२ गतेको मिति तोकेको छ र विपक्षीहरूलाई लिखित जवाफ पेस गर्न १५ दिनको म्याद दिएको छ।












