जुन २८, २०२६ | अर्जुन प्रधान, अमेरिका ।
भुटानी शरणार्थी, मानव अधिकार तथा राजनीतिक बन्दीहरूको विषयमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका पत्रकार देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित भएका छन्। अमेरिका भ्रमणमा रहेका पत्रकार भट्टराईलाई भूटनीज कम्युनिटी अफ सिनसिनाटी र लिटरेचर काउन्सिल अफ भूटानको संयुक्त आयोजनामा शनिबार आयोजित विशेष कार्यक्रममा प्रशंसापत्रसहित सम्मान गरिएको हो।
लामो समयदेखि भुटानी शरणार्थीहरूको संघर्ष, समस्या, पीडा र भोगाइलाई सञ्चारमाध्यममार्फत विश्व समुदायसमक्ष उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएवापत उनलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले भट्टराईलाई केवल समाचार लेख्ने पत्रकार नभई भूटानी समुदायको इतिहास, विस्थापन र मानव अधिकारको संघर्षलाई दस्तावेजीकरण गर्ने समर्पित अन्वेषकका रूपमा चित्रण गरेका थिए।
कार्यक्रमको प्रारम्भमा गायक किशोर शिवाकोटीले गीत प्रस्तुत गरी सांगीतिक वातावरण सिर्जना गरेका थिए। त्यसपछि आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका सभापति काषि घिमिरे (अध्यक्ष, हिन्दु रिसोर्स सेन्टर, सिन्सिनाटी), टंक तिम्सिना (सचिव- हिन्दु रिसोर्स सेन्टर, सिन्सिनाटी), विष्णु खरेल (कोषाध्यक्ष -भूटनीज कम्युनिटी अफ सिनसिनाटी), राम गुरुङ (उपाध्यक्ष – भूटनीज कम्युनिटी अफ सिनसिनाटी), तारा दाहाल, खेम रिजाल, भानु खनाल तथा सिर्जना तिम्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले भट्टराईले वर्षौंदेखि भुटानी राजनीतिक बन्दीहरूको अवस्था, शरणार्थीहरूले भोग्नुपरेका कठिनाइ तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित हुनुपर्ने मानव अधिकारका गम्भीर मुद्दाहरूलाई निरन्तर रूपमा उठाउँदै आएको उल्लेख गरे। आवाजविहीनहरूको आवाजलाई मूलधारमा ल्याउन र उपेक्षित समुदायका पीडाहरूलाई विश्वसामु पुर्याउन उनको पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ थियो। दार्जिलिङ, सिक्किम तथा विभिन्न क्षेत्रमा पुगेर स्थलगत अध्ययन, अनुसन्धान र अन्तर्वार्तामार्फत भुटानी समुदायको संघर्ष र इतिहासलाई लिपिबद्ध गर्न भट्टराईले खेलेको भूमिका बिर्सन नसकिने वक्ताहरूले बताए। उनीहरूले भट्टराईलाई समुदायको इतिहास संरक्षण गर्ने, न्यायका पक्षमा उभिने र मानव अधिकारका सवाललाई निरन्तर उठाउने पत्रकारका रूपमा सम्मान व्यक्त गरेका थिए।
सो अवसरमा लिटरेचर काउन्सिल अफ भुटान र भूटनीज कम्युनिटी अफ सिनसिनाटीका तर्फबाट भट्टराईलाई संयुक्त रूपमा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यसैगरी, भूटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (GCRPPB) का तर्फबाट पनि भूटानी शरणार्थी तथा राजनीतिक बन्दीहरूको मानव अधिकारका लागि पुर्याएको योगदानको कदर गर्दै छुट्टै सम्मानपत्र हस्तान्तरण गरिएको थियो।
सम्मान ग्रहणपछि भट्टराईले पत्रकारितालाई केवल पेशा नभई मानवता, न्याय र सत्यको पक्षमा उभिने माध्यमका रूपमा लिएको बताउँदै आगामी दिनमा पनि पीडित, उपेक्षित र आवाजविहीन समुदायको पक्षमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन लिटरेचर काउन्सिल अफ भूटानका अध्यक्षले गरेका थिए भने अन्त्यमा भूटनीज कम्युनिटी अफ सिनसिनाटीका अध्यक्ष पुष्पा लुइँटेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रममा सहभागीहरूले भट्टराईसँगको अन्तरक्रियालाई विशेषगरी डायस्पोरामा रहेका भूटानी युवा पुस्ताका लागि आफ्नो इतिहास बुझ्न, न्याय र मानव मर्यादाप्रति प्रतिबद्ध हुन तथा समुदायका संघर्षका अध्यायहरूलाई नजिकबाट जान्न महत्वपूर्ण शैक्षिक अवसरका रूपमा लिएका थिए।










