भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

0
3
अर्जुन प्रधान
रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।

भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले साहित्य परिषद् भूटान (LCOB) ले आयोजना गरेको ‘भाषा विरासत सभा–२०२६’ शनिबार ओहायोको रेनोल्ड्सबर्गमा सम्पन्न भएको छ। सभामा भाषा पुस्तान्तरणका चुनौतीबारे छलफल हुनुका साथै कविता सङ्ग्रह विमोचन, रचना वाचन र बालबालिकाका प्रस्तुति भएका थिए। सभामा परिषद्का प्रमुख सम्पादक तथा साहित्यकार शिव लाल दाहालले “भाषा विरासतका विषयमा विशेष सम्बोधन गरे। उनले नेपाली भाषाको ऐतिहासिक विकास, भुटानमा त्यसको सामाजिक अवस्था, पूर्वी नेपालका शरणार्थी शिविरमा भाषा तथा साहित्यको विकास र पुनर्वासपछि नयाँ पुस्तामा भाषा हस्तान्तरणका चुनौतीबारे चर्चा गरे।

‘विरासतको प्रश्न : सम्झने कि हस्तान्तरण गर्ने?’ विषयमा बोल्दै दाहालले भाषा विरासतलाई विगत सम्झने विषयमा मात्र सीमित गर्न नहुने बताए। पुर्खाबाट प्राप्त भाषा, संस्कृति, इतिहास, ज्ञान र सामाजिक मूल्य नयाँ पुस्तासम्म पुर्‍याए मात्र विरासतको निरन्तरता कायम रहने उनको भनाइ थियो। विगतमा औपचारिक विद्यालय र भाषिक संस्थाको पहुँच सीमित हुँदासमेत परिवार, छिमेक, मेलापात, चाडपर्व र दैनिक सामाजिक अन्तरक्रियाबाट नेपाली भाषा सिकिने गरेको उनले स्मरण गरे। पुनर्वासपछि समुदाय विभिन्न देशमा छरिनु, सामाजिक अन्तरक्रिया घट्नु र नयाँ पुस्ताको शिक्षा तथा दैनिक जीवनमा अंग्रेजीको प्रयोग बढ्नुले भाषा पुस्तान्तरण चुनौतीपूर्ण बनेको उनले बताए। यसको जिम्मेवारी नयाँ पुस्तालाई मात्र नदिई अभिभावक र समुदायले घरबाटै भाषा सिक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

“विरासत केवल सम्झनाका लागि मात्र होइन, हस्तान्तरणका लागि पनि हो,” दाहालले भने, “पुस्तान्तरणले मात्र हाम्रो समाजको पहिचान, इतिहास, भाषा, संस्कृति र सभ्यताको निरन्तरता सुनिश्चित गर्न सक्छ।” रेनोल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष भुवन प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रममा परिषद्का अध्यक्ष खेम रिजालले अतिथिहरूलाई स्वागत गर्दै प्रारम्भिक सत्र सञ्चालन गरेका थिए। रिजालले आफ्नो मन्तव्यमा “भुटानको इतिहास, भाषा, कला र साहित्यको संरक्षणबारे शिवलाल दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई समर्थन गर्दै त्यसमा उठाइएका विषयलाई अघि बढाउने घोषणा गरे। समुदायसँग अहिलेसम्म भाषा र साहित्यलाई समर्पित विशेष दिवस वा महिना नभएको उल्लेख गर्दै उनले यस्तो दिवस वा महिना स्थापना गरी नियमित रूपमा मनाउनुपर्ने बताए। “यसले समुदायलाई झकझक्याउनुका साथै भाषा–साहित्यप्रतिको सक्रियतालाई निरन्तरता दिनेछ,” रिजालले भने।

कार्यक्रमका प्रमुख अतिथि क्रियमान फाउन्डेसनका अध्यक्ष भरत तिम्सिनाले “अतिथिहरूलाई निमन्त्रणा गरेर कार्यक्रममा उपस्थित गराउनु आफूले सोचेभन्दा कठिन हुने अनुभव सुनाए। उनले भाषा र साहित्य नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासप्रति खुसी व्यक्त गर्दै गजल प्रस्तुत गरे।” प्रारम्भिक सत्रमा कोलम्बसका बालबालिकाले योग, नृत्य र नेपाली भाषा कक्षासँग सम्बन्धित प्रस्तुति दिएका थिए। भूटान गजल मञ्चका अध्यक्ष नेत्र आचार्यले गजल वाचन गरे। स्रष्टा कुबेर शर्माको कविता सङ्ग्रह ‘परिधि’ विमोचन गरियो। उक्त कृतिमाथि उपन्यासकार जे.एन. दाहालले संक्षिप्त समीक्षा प्रस्तुत गरे कवितामा हुनु पर्ने गुणहरूका बारेमा प्रकाश पारेका थिए । त्यसपछि उमा अधिकारी, नारद तिम्सिना, भरत तिम्सिना, काँशी अधिकारी र मदन दुलालले कविता वाचन गरे। कार्यक्रमा कवि शिवलाल दाहाले कवि टिकाराम राईको कविता पढेर सुनाकएका थिए ।भीम अधिकारीले आफ्नो कविता सङ्ग्रह ‘डियर जिन्दगी’बाट रचना वाचन गरे भने रणबहादुर अधिकारीले कथा प्रस्तुत गरे। खुला रचना वाचन सत्रमा अन्य सहभागी स्रष्टाहरूले पनि आफ्ना सिर्जना सुनाए।

कार्यक्रममा साहित्यकार गंगा लामिटारे, डम्बर खरेल, काशी अधिकारी, भुवन प्याकुरेल र धनञ्जय भट्टराईले मन्तव्य राखे। उनीहरूले नेपाली भाषा र साहित्यको अवस्था, समुदायका साहित्यिक गतिविधि तथा सांस्कृतिक विरासत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने विषयमा धारणा राखेका थिए । साहित्य परिषद्का पूर्वअध्यक्ष गङ्गा लामिटारेले भूटान बिर्सिँदै गएकोमा चिन्ता व्यक्त गर्दै सेप्टेम्बर महिनालाई सन् १८८७ को बसोबाससँग सम्बन्धित अधिकारपत्रसँग मात्र नजोडी सन् १९९० को प्रजातान्त्रिक जनप्रदर्शनसँग पनि जोडिएकाले विरातका रूपमा स्मरण गर्न उपयुक्त र सार्थक रहेको बताए। परिषद्की उपाध्यक्ष तिला अधिकारी आचार्यले पनि स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको अन्त्यतिर परिषद्ले हरेक महिनाको अन्तिम शनिबार लक्ष्मी नारायण मन्दिरको सभाहलमा नियमित साहित्यिक कार्यक्रम आयोजना गर्ने घोषणा गरियो ।परिषद्का सदस्य भीम अधिकारीका अनुसार त्यहाँ साहित्यिक गोष्ठी, कविता तथा गजल वाचन, साहित्यिक अन्तरक्रिया र भाषा विकाससम्बन्धी गतिविधि सञ्चालन गरिनेछ। कार्यक्रममा बोल्दै सभापति भुवन प्याकुरेलले भूटानी समाजमा देखिएका सामाजिक समस्याहरूको चर्चा गर्दै तिनको निराकरणका लागि बौद्धिक वर्गले सोच्नुपर्ने र अमेरिकी चुनाव तथा मूलधारको राजनीतिमा समेत चासो राख्नुपर्ने कुरामा जोड दिनुभयो।

परिषद्ले भाषा विकास र पुस्तान्तरणका लागि विस्तृत कार्ययोजना बनाउने पनि जनाएको छ।हालसम्म अभियानअन्तर्गत Bhutaneseliterature.com मा नेपाली भाषा, पहिचान, इतिहास, साहित्य र पुस्तान्तरणसम्बन्धी लेखमाला प्रकाशन सुरु गरिएको छ । हालसम्म प्रशान्त स्वर, खेम गौतम, गंगा लामिटारे, जोगेन गजमेर र शिवलाल दाहालका लेख प्रकाशित भइसकेका छन् भने अन्य स्रष्टाका लेख प्रकाशनको क्रममा रहेको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here