कबिता

0
1040
         प्रकाश गुरागाँई

(१)
लासमाथि झन्डा

जब लासले ओढ्यो झन्डा
झन्डा पनि लास भयो
लाससँगै पछारियो एउटा देश ।

जब म¥यो इतिहासको एउटा नाम
त्यो थियो क्रान्तिकारी योद्धा या ठग व्यापारी !
थियो समाजसेवी, वकिल, पत्रकार, डाक्टर !
या कवि, लेखक, कलाकार र संगीतकार !
अथवा कुनै भ्रष्टाचारी, बलत्कारी वा धार्मिक गुरु !
झन्डाले चिनेन
आखिर को थियो त्यो ?
जसका लागि सति जाँदैछ
विचारको आँधीले फरफराउँदो आवाज ।

झन्डा
मात्र झन्डा होइन
जस्तो हरेक कपडाका टुक्रा
लठ्ठीमा उनेर ठड्याउनेवित्तिकै
झन्डा बन्दैन ।

जब मष्तिस्कमा आउँछ झन्डाको आकृति
देखापर्छ दर्शनको सिंगो चित्र ।

जब युद्ध जित्छ कसैले
ठडाउँछ झन्डा देशको नाममा ।

जब चुनाव जित्छ कसैले
अघि लाग्छ झन्डा र गर्छ अविरजात्रा ।

जब विजेता बन्छ कोही खेलाडी
झन्डाले झुन्ड्याउँछ घाँटीमा पदक ।

मेरी छोरी बनाउँछे झन्डाको चित्र
र जुरुक्क उठेर गाउँछे राष्ट्रिय गान
समुन्द्रका छालजस्ता ओठहरुबाट
आँधी उठेको महसुस गर्छु म ।

तर, ठीक यतिबेला
झन्डाको सहारामा लासले छोपिरहेछ लाज
र झुकेको छ देश लासमाथि ।

लासको छेउमा उभिएर
कसैले लामो भाषण ग¥यो
धमाधम पड्किए
लहरै ठडिएका बन्दुकहरु
समर्थनमा घन्किए केही थान नारा
तर, लासमाथि पछारिएको झन्डाले
चिनेन लासको अनुहार ।

(२)
वालेट

मैलो जिन्स पाइन्टको खल्तीमा
भुक्क मोटाएको पुरानो वालेट छ
र वालेटमा उल्लेखनीय केही छैन ।

वालेटभित्र दुई पत्र लामा पकेट छन् –

पहिलो पत्रमा छन्
पाँच सयको एउटा र विस रुपैयाँका दुई वटा नोट
दोस्रो पत्रमा
कागज सिवाय अरु केही छैन
कागज
अर्थात
बेस्सरी खाँदिएको छ प्रेमिकाले पठाएका
केही धम्कीपूर्ण लभलेटर ।

दोस्रो लामो पकेटबाहिर
केही साना–साना पकेट छन्
ती रित्ता छन्
जस्तो उसको डेरा पनि रित्तो छ ।

अझ बाहिर
प्लाष्टिकको पारदर्शी पकेट छ
त्यहाँ कोचिएको छ
गलफ्रेन्डको एक थान फोटो ।

उसको कुनै परिचयपत्र राखिएको छैन
खासमा उसको परिचय नै छैन
यो देशसँग ।

एकदिन अचानक हरायो वालेट
तर, हराएन ऊ
जस्तो वालेटसँगै हराउँछ
एक थान लाइसेन्स
एक थान नागरिकता
एक थान मतदाता परिचयपत्र
एक थान कार्यालयको परिचयपत्र
दुई थान सिनेमा हलको टिकट
केही थान भिजिटिङ कार्ड
केही थान एटिएम कार्ड र डेभिड कार्ड
केही थान हजारका नोट
केही केही हराएन ।

केही महिनापछि
मैलो जिन्स पाइन्टको खल्तीमा आइपुग्यो
नयाँ वालेट ।

वालेटभित्र प्रेमिकाको फोटो राखेको ठाउँमा
कम्पनीले नै राखिदिएछ चे ग्वेभाराको फोटो ।

आज उसलाई कताकता
प्रमिकाभन्दा प्रिय लाग्यो चे ग्वेभारा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here