@अर्जुन प्रधान ग्लोबलपोस्ट,
पेन्सिल्भेनियाको पाल्माइरामा शनिबार नेपाली भाषी भूटानी समुदायका चर्चित गीतकार गोविन्द हुमागाईँको सम्मानमा एक भव्य सांगीतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। विश्व भूटानी साहित्यिक संगठन (GBLO) र साहित्य कला संगम ल्यानकास्टरको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोहमा हुमागाईँको सांगीतिक उचाइको कदर गर्दै नयाँ कृतिहरूको विमोचन समेत गरिएको थियो। कार्यक्रममा गोविन्द हुमागाईँद्वारा लिखित कविता हिमान्शी र हिमाक्षी धितालले वाचन गरेका थिए।
साहित्य कला संगम ल्यानकास्टरका संरक्षक पण्डित हेम धितालको सभापतित्व तथा चर्चित गायक महेश थुलुङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सुरुवात जीवन गुरुङ र स्याम पराशरले भजनबाट गरेका थिए। भूटानको पंखेमा जन्मिएका ४४ वर्षीय स्रष्टा हुमागाईँले हालसम्म ७० भन्दा बढी गीत तथा भजन रेकर्ड गराई नेपाली संगीत र साहित्यमा गहिरो छाप छोड्नुभएको छ। विशेषगरी उहाँको रचना ‘बाबाको टोपी’ बोलको गीतले अत्यधिक चर्चा पाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा हुमागाईँद्वारा रचना गरिएका १० वटा गीतहरूलाई विभिन्न गायकहरू—जीवन गुरुङ, जितेन्द्र गिरी, बिरेन रसायली, भक्त घले, छवि न्यौपाने, रोनन सुब्बा र नारायण खरेलले प्रत्यक्ष वाद्यवादनका साथ प्रस्तुत गरेका थिए। सो अवसरमा स्रष्टा हुमागाईँको सांगीतिक यात्रा र योगदान समेटिएको एक वृत्तचित्र (डकुमेन्ट्री) समेत प्रदर्शन गरिएको थियो।
समारोहका बीच हुमागाईँका दुई नयाँ कृतिहरू सार्वजनिक गरिए। प्रमुख अतिथि गायक महेश थुलुङले उहाँको ‘बुलाकी–२’ गीति एल्बम विमोचन गर्नुभयो भने ‘फूलको आँसु’ गीत संग्रहको विमोचन पण्डित हेम धिताल, अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (इन्लाका) का अध्यक्ष डा. हरि उप्रेती र डिबी सारुले संयुक्त रूपमा गर्नुभएको थियो। कृतिको समीक्षा गर्दै डा. उप्रेतीले यसको साहित्यिक महत्त्व र भावनात्मक गहिराइबारे प्रकाश पार्नुभएको थियो। संगीतकार तथा गायक छवि न्यौपानेले एल्बमबारे आफ्नो मन्तव्य राख्दै यसको विशेषता र स्रष्टा हुमागाईँको सांगीतिक पक्षमाथि चर्चा गर्नुभएको थियो।
‘जिउँदो स्रष्टाको सम्मान’ का रूपमा लिइएको यस कार्यक्रममा केशव वैरागी माइलो र भरत तिमिल्सिनाले कविता तथा दिपेश चापागाईँ र कुमार सिवाकोटीले गजल वाचन गरेका थिए। कार्यक्रमको समापनमा आयोजक संस्थाहरूका तर्फबाट हुमागाईँलाई कदरपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो।
यो कार्यक्रमले प्रवासमा नेपाली भाषा र पहिचानलाई जोगाउँदै स्रष्टाको योगदानलाई उच्च मूल्यांकन गर्ने सन्देश प्रवाह गरेको छ। कार्यक्रमको सञ्चालन देविका बराल र पातलो अन्तरेले गरेका थिए।
(समचारमा प्रयोग भएको तस्विर समाज टाइम्सबाट साभार गरिएको हो ।) अरू तस्विर हेर्नका लागि यहां थिच्नुहोस्












