@newsdeskusa
ग्लोवलपोस्ट हङकङ
हङकङस्थित गैर आवासीय नेपाली संघ हङकङ लिमिटेड (राष्ट्रिय समन्वय परिषद्) ले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी “इको कविता” (पर्यावरण कविता) प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगितामा विश्वभर रहेका नेपाली भाषी साहित्यप्रेमीहरू सहभागी हुन सक्ने जनाइएको छ।
प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको जिम्मेवारी दिइएको छ। महासचिव भविन लिम्बुका अनुसार हितानकै सल्लाहअनुसार रचना पठाउने मिति तथा उत्कृष्ट कविताको घोषणा मिति संशोधन गरी पुनः सूचना प्रकाशित गरिएको हो। प्रतियोगितामा सहभागी हुनका लागि कविता मौलिक हुनुपर्ने र अनिवार्य रूपमा नेपाली भाषामा लेखिएको वातावरण केन्द्रित कविता हुनुपर्नेछ। कविताको अधिकतम शब्द सीमा ३५० शब्दसम्म तोकिएको छ।
आयोजकका अनुसार कविता स्पष्ट रूपमा नेपाली युनिकोड वा प्रिती फन्टमा टाइप गरिएको हुनुपर्नेछ। रचना MS Word वा PDF फाइलमा पठाउन सकिने भए पनि फोटो खिचेर पठाइएका वा अन्य फन्ट प्रयोग गरिएका रचनालाई प्रतियोगितामा स्वीकार गरिने छैन।
रचनासँग रचनाकारको पूरा नाम, ह्वाट्सएप भएको सम्पर्क नम्बर, इमेल ठेगाना, स्थायी ठेगाना र हालसालै खिचिएको स्पष्ट फोटो अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। साथै पठाइने रचना संस्थाले आफ्नो संस्थागत प्रयोजनका लागि प्रयोग गर्न सक्ने सहमति पनि दिनुपर्ने आयोजकले जनाएको छ।
कविता पठाउनका लागि प्रतियोगिताको आधिकारिक इमेल ecopoemhk@gmail.com वा ह्वाट्सएप नम्बर +852 97981272 र +852 61122105 प्रयोग गर्न सकिनेछ। अन्य माध्यमबाट पठाइएका रचनाहरू अमान्य ठहरिने आयोजकले स्पष्ट पारेको छ।
विषयवस्तुको सन्दर्भमा भने कविता पूर्ण रूपमा वातावरण र प्रकृतिसँग सम्बन्धित हुनुपर्नेछ। कुनै पनि व्यक्ति, संस्था वा समूहको मानहानी गर्ने, अपमानजनक वा नोक्सान पुर्याउने सामग्री भएका रचनाहरू प्रतियोगिताका लागि अयोग्य ठहरिनेछन्।
रचना पठाउने अन्तिम म्याद २८ मार्च २०२६ सम्म तोकिएको छ। उक्त मितिपछि प्राप्त हुने रचनाहरू प्रतियोगितामा समावेश गरिने छैनन्।
आयोजकका अनुसार प्राप्त रचनामध्ये उत्कृष्ट २३ वटा कविताहरूको ई–पुस्तिका प्रकाशित गरिनेछ। प्रतियोगितामा प्रथम हुने एक जनालाई ३० हजार नेपाली रुपैयाँ, द्वितीय हुनेलाई २० हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै १० जनालाई सान्त्वना पुरस्कारस्वरूप २ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।
प्रतियोगितासम्बन्धी सम्पूर्ण निर्णयहरू गैर आवासीय नेपाली संघ हङकङ लिमिटेड (राष्ट्रिय समन्वय परिषद्) राष्ट्रिय समन्वय परिषद्को निर्णय अनुसार अन्तिम र बाध्यकारी हुने जनाइएको छ।
प्रतियोगिताको नतिजा पृथ्वी दिवस अर्थात् २२ अप्रिल २०२६ को साँझ ६ बजे संस्थाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेर घोषणा गरिनेछ। साथै परिणाम संस्थाको आधिकारिक वेबसाइट www.nrnahk.org लगायत विभिन्न समाचार माध्यममार्फत सार्वजनिक गरिने बताइएको छ।
संस्थाले प्रतियोगिताका लागि रचनाहरू संकलन सुरु भइसकेको जानकारी दिँदै विश्वभर रहेका साहित्यप्रेमीहरूलाई समयमै आफ्नो सिर्जना पठाउन आह्वान गरेको छ।












