कविता र विचारको संगम : “मेरो कविता – द रिदम अफ पोएट्री” मा उत्कृष्ट पाँचको टुंगो

0
22

अनिश राई र अभिलाल राई प्रतियोगिताबाट बाहिरिए

@अर्जुन प्रधान

कविता केवल भावनाको अभिव्यक्ति मात्र होइन, समाजका प्रश्नहरू उठाउने शक्तिशाली माध्यम पनि हो। यही भावलाई मञ्चमा उतार्ने लोकप्रिय काव्य प्रतियोगिता “मेरो कविता : द रिदम अफ पोएट्री” सिजन–१ अहिले निर्णायक मोडमा पुगेको छ। १५औँ शृङ्खलासँगै प्रतियोगिताको उत्कृष्ट पाँच प्रतिस्पर्धीको टुंगो लागेको छ। सात जना कविबीच भएको प्रतिस्पर्धापछि अनिश राई र अभिलाल राई प्रतियोगिताबाट बाहिरिएका छन्।

कार्यक्रममा अतिथिका रूपमा सर्जक सीमा आभास र वरिष्ठ पत्रकार राजु अधिकारी सहभागी भएका थिए। उनीहरूको उपस्थिति र विचारले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको विशेष आकर्षण अतिथि सर्जक सीमा आभासको कविता बन्यो। उनले महिलाको पहिचान, अस्तित्व र नागरिकतामा आमाको अधिकारको विषय उठाउँदै गम्भीर र शक्तिशाली कविता प्रस्तुत गरिन्।

कवितामा एउटा आमाको पीडा चित्रित गरिएको थियो । जो आफ्नो सन्तानको नागरिकता बनाउन राज्यको ढोकामा उभिएकी छ, तर राज्यले बेपत्ता भएको बुबाको नाम खोज्दै प्रक्रियामा अवरोध गरिरहेको छ। यही प्रसङ्गबाट उनले एउटा गम्भीर प्रश्न उठाइन्। राज्य आमाको नामबाट नागरिकता दिन किन हिच्किचाउँछ?

आभासले हिन्दू धर्मग्रन्थका पात्रहरू पार्वती, कुन्ती, गंगा र सीताको उदाहरण दिँदै नारी शक्तिको चर्चा गरिन्। यी पात्रहरूको प्रसङ्ग जोड्दै उनले आमाहरू सन्तान जन्माउन र हुर्काउन सक्षम रहेको सन्देश दिइन्।

उनले सामाजिक र राजनीतिक आन्दोलनमा महिलाको भूमिकालाई पनि स्मरण गरिन्। लोकतन्त्र र न्यायका लागि भएका संघर्षहरूमा महिलाहरू अग्रपंक्तिमा रहेको भन्दै उनले पितृसत्तात्मक सोचमाथि प्रश्न उठाइन्।

कविताको अन्त्यमा उनले सशक्त शब्दमा भनिन्—

“आमा स्वयं पूर्ण व्यवस्था हो।”

कार्यक्रममा बोल्दै अतिथि पत्रकार राजु अधिकारीले पत्रकारिता र कविताबीचको सम्बन्धबारे आफ्ना अनुभव साझा गरे।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय अधिकारीले आफूलाई “समाचार लेखेरै रमाइलो गर्ने पत्रकार” भन्दै परिचय दिए। उनले सीमावर्ती क्षेत्रका समस्या, भुइँ मान्छेको आवाज र समसामयिक राजनीतिका विषयमा लेख्न आफूलाई विशेष रुचि रहेको बताए।

उनले आफूलाई “भूतपूर्व कवि” भन्दै कविताको वास्तविक शक्ति शब्दमा भन्दा भावमा हुने बताए।

उनका अनुसार कविता त्यतिबेला मात्र सशक्त बन्छ जब त्यसले कसैको मन छोन्छ। “साधारण कुरा पनि यदि संवेदनशील तरिकाले भनियो भने त्यसले मानिसको मनमा गहिरो प्रभाव पार्छ,” उनले भने।

अहिलेको ‘जेन–जी’ पुस्ताले आफ्ना अनुभव र पहिचानलाई कवितामार्फत अभिव्यक्त गरेको देख्दा आफू खुसी भएको उनले बताए। उनले यस कार्यक्रमलाई कवितालाई समाजसम्म पुर्‍याउने “पवित्र यज्ञ” जस्तै प्रयासको संज्ञा दिए।

कार्यक्रममा सातै जना प्रतिस्पर्धीले फरक–फरक विषयमा मौलिक कविता प्रस्तुत गरे।

सिक्किमका सोनम पाल्जोर तामाङले प्रार्थना र आस्थाको भाव बोकेको कविता सुनाए। झापाको बेलडाँगीका अभिलाल राईले ‘पुरानो जङ्गल’ शीर्षकमा प्रकृति संरक्षण र वातावरणीय चेतनाको विषय उठाए।

सेसे थामसुहाङले चिया बगानकी ‘माइली’ पात्रको संघर्ष र समाजमा फैलिने अफवाहलाई समेटिएको कविता सुनाए। अनिश राईले ‘प्रेमको बगपत्र’ शीर्षकमा प्रेमको भावनात्मक संसार प्रस्तुत गरे।

प्रवेक हाङसरङले ‘सम्झनामा खामला’ शीर्षकको कवितामार्फत पहाडी जीवनशैली र पुर्खाको स्मृतिलाई पालामको भाकामा उतारे। बिनेश राई ‘मिन्जाई’ले दक्षिण कोरियामा काम गर्ने नेपाली श्रमिकहरूको यथार्थ र विश्वव्यापीकरणको प्रभावलाई कविता मार्फत व्यक्त गरे।

टोली प्रसाद राजवंशीले भने राजवंशी समुदायको ‘सिरुवा’ पर्व, ‘गाजीमरी’ परिकार र माटोसँगको सांस्कृतिक सम्बन्धलाई जीवन्त रूपमा आफ्नो कवितामा प्रस्तुत गरे।

कार्यक्रमको अन्त्यमा अङ्क र दर्शक भोटका आधारमा प्रवेक हाङसरङ, सेसे थामसुहाङ, अनिश राई, टोली प्रसाद राजवंशी र अभिलाल राई ‘डेन्जर जोन’मा परेका थिए।

त्यसमध्ये प्रवेक हाङसरङ, टोली प्रसाद राजवंशी र सेस थामसुहाङ सुरक्षित हुँदै उत्कृष्ट पाँचमा प्रवेश गरे। बिनेश राई ‘मिन्जाई’ र सोनम पाल्जोर तामाङ यसअघि नै सुरक्षित भइसकेका थिए।

कम अङ्क प्राप्त भएपछि अनिश राई र अभिलाल राईले प्रतियोगिताबाट विदा लिनुपर्‍यो। विदा हुने क्रममा अनिशले यस मञ्चलाई आफ्नो जीवनको महत्वपूर्ण सिकाइको अवसर भएको बताए भने अभिलालले आफ्नो साहित्यिक यात्रा अझै सुरुको चरणमै रहेको प्रतिक्रिया दिए।

अब प्रतियोगितामा बाँकी रहेका उत्कृष्ट पाँच कवि यसप्रकार छन्

१. सोनम पाल्जोर तामाङ

२. बिनेश राई ‘मिन्जाई’

३. प्रवेक हाङसरङ

४. टोली प्रसाद राजवंशी

५. सेसे थामसुहाङ

अब प्रतियोगिता थप रोमाञ्चक चरणमा प्रवेश गरेको छ। आगामी शृङ्खलाहरूमा यी पाँच कविहरूबीच हुने प्रतिस्पर्धाले सिजन–१ को विजेता तय गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here