साहित्य परिषद् भूटानको ३४औँ स्थापना दिवस

0
79

@अर्जुन प्रधान

आज साहित्य परिषद् भूटानले आफ्नो ३४औँ स्थापना दिवस मनाइरहेको छ। तीन दशकभन्दा लामो यो यात्रा केवल एउटा साहित्यिक संस्थाको वार्षिकोत्सव मात्र नभई भुटानी नेपाली भाषा, संस्कृति र सामूहिक पहिचानको संरक्षणको जीवन्त इतिहास हो।


३३ वर्षअघि पूर्वी नेपालको बेलडाँगी शरणार्थी शिविरमा स्थापित यो संस्था त्यस बेला विस्थापन, अभाव र अनिश्चितताको कठोर परिस्थितिमा जन्मिएको थियो। घरबार, भूमि र नागरिकता गुमाएका भुटानी नेपालीहरूले शब्दलाई नै आफ्नो घर र साहित्यलाई आफ्नो पहिचान बनाए। त्यही भावनाको जगमा उभिएर स्थापित यो परिषद् आज विश्वका विभिन्न कुनाकाप्चामा फैलिएका भुटानी नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने संस्थाका रूपमा स्थापित भएको छ।


परिषद्को स्थापना दिवसको अवसरमा शुभकामना सन्देश प्रेषण गर्दै भुटानी साहित्यकार गंगा लामिटारेले भनेका छन् कि यो यात्रा विस्थापनको पीडाभित्रबाट फुलेको पहिचानको खोज थियो। उनले भने, “शब्दहरूले हाम्रो इतिहासलाई सुरक्षित राखेका छन्, कविताले हाम्रो वेदनालाई स्वर दिएका छन्, कथाहरूले हाम्रो अस्तित्वलाई जोगाइरहेका छन्।”
लामिटारेले परिषद्लाई “पहिचानको छारी” को संज्ञा दिँदै यसको योगदानलाई भाषा र संस्कृतिको संरक्षणभन्दा पनि माथि — भुटानी नेपाली समुदायको सामूहिक स्मृति, संघर्ष र अस्तित्वलाई जीवित राख्ने जीवन्त दस्तावेजका रूपमा व्याख्या गरेका छन्।


शरणार्थी शिविरको अभाव र असुरक्षाका बीच पनि साहित्यको ज्योति निभ्न नदिने यस संस्थाको यात्रामा कार्यकर्ता, शिक्षक, विद्यार्थी, साहित्यकार र शुभचिन्तकहरूको संयुक्त समर्पण रहेको छ। २००७ पछि अधिकांश भुटानी शरणार्थीहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा पुनर्वास हुँदासमेत परिषद्ले आफ्नो सांस्कृतिक र साहित्यिक मिशन जारी राखेको छ।


स्थापना दिवसको यस अवसरमा परिषद्सँग आबद्ध सम्पूर्ण साहित्यकार, स्रष्टा र शुभचिन्तकहरूले नयाँ पुस्तालाई यस साहित्यिक परम्परासँग जोड्ने संकल्प दोहोर्याएका छन्। विश्वभर छरिएका भुटानी नेपाली समुदायलाई भाषा, साहित्य र संस्कृतिको सूत्रमा एकताबद्ध राख्ने यो अभियान आगामी दिनहरूमा झनै सशक्त रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।

साहित्य परिषद् भूटान विश्वभर फैलिएका भुटानी नेपाली समुदायको भाषिक तथा सांस्कृतिक संरक्षणका लागि समर्पित संस्था हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here