ग्रामिण रंगमञ्चको यात्रा चुपचाप बिस्तारै हिँडिरहेको छु

0
316
       चेतन डर

मैले त्यो समयमा खटिया बोकेर वनाएको स्टेजमा मुख्य खलनायकको भूमिका गरेका थिए । जत्तिखेर म १७ बर्ष को थिएँ, गाउँबाट विद्यालय पुग्न १ घण्टा पैदल हिड्नु पथ्र्यो । हिड्दै जादा बीचमा रतुवा खोला तर्नुपर्छ, कक्षा नौ को बार्षिक परीक्षा लेखेर फर्किदै गर्दा एक दिन गाँउकै दाईसँग बगरमा भेट्नुभयो । नाटकमा अभिनय गर्न अवसर सुनाउनु भयो । त्यो दिन निकै खुसीले उफ्रिएको थिएँ, त्यहाँबाट लगातर मेरो रोम रोममा नाटक बस्न पुगेछ । अर्थात म नाटकको लति  भएँ । मेरो जीबनमा नाटक प्रबेश ग¥यो । नाटकको जीबनमा म कति प्रबेश गर्न सकें त्यो चाँई म भन्न सक्दिन ।
बि.सं.२०४२ देखि चुलाचुलीमा रंगमञ्च सुरूवात भएको तथ्यहरू भेटिए पनि नाटक गर्ने शैली पुरानै थियो । २०६५ देखि चुलाचुलीमा पहिलोपटक छोटो नाटक लेखन र सडक नाटकको नेतृत्व लिएर हिँड्न थालें (परिवर्तन) र (मान्छेका खोजि) यि नाटकले संविधानमा सिमान्तकृत, दलित र जनजातिका मौलिक हक, अधिकार सुनिश्चित हुनुपर्छ भन्ने पक्षमा थियो । नाटक त्यति मज्जाले बुझिनसकेकाले नाटक भन्दा बढी म साहित्य ररूचाउथे । साहित्य के हो भनेर बुझ्ने भइनसके पनि साहित्यकार बन्ने सपनाले लेख्दै गएँ । लेख्दै जाँदा २०६६ सालमा (नयन प्रिती) नामको उपन्यास प्रकाशित गरे । त्यो उमेर र समयमा मलाई कसैले उपन्यास भएन भनेनन् । एक खालका सामान्य पाठकहरूले उपन्यास रूचाएका प्रतिक्रिया पाएँ । पछि अलिक बुझ्दै गएँ, मैले लेखेका उपन्यास आख्यानका संरचनामा थिएनछ, त्यसपछि मैले लेख्ने आँट समेत गरिंन ।
चुलाचुलीमा साहित्य पठनका विकास थिएन । स्थानीयले साहित्य बुझ्ने स्थिति थिएन । मलाई डोर्याउने अग्रज सम्म कोहि थिएनन् । त्यो कुराले म मा एउटा सोच जन्मायो । आफ्नो बुद्धिले भयाए सम्म साहित्यिक पत्रिका प्रकाशन गरें । जनतालाई साहित्यिक पत्रिकाले प्रभाव नपरेको महसुस गरें । साहित्यलाई परिमार्जित गरि २०६७ देखि स्थानीय खवर प्रकाशन गर्न (नयाँ बाटो नयाँ पाइला) नामको मासिक समाचार पत्रिका प्रकाशन थालें ।
पत्रिकामा समाचार कस्तो हुनुपर्छ भन्ने ज्ञान थिएन । यति थाहा थियो, सत्य र निष्पक्ष लेखिनु समाचार हो भन्ने कुरा लेखहरूबाट बुझेको थिएँ । समाचार नबुझे पनि पत्रिका प्रकाशन गरेर गाउँमा वितरण गर्थें, पत्रिका चुलाचुली जनताका लागि आवश्यक थियो । किनकि यहाँका जनताहरू आफुले पाउने सरकारी सेवा सुविधाबाट बञ्चित थिए । शोषण, दमन र बर्गिय विभेदले थिचिएका थियो त्यस समयको चुलाचुली ।
पत्रिकामा चुलाचुलीमा भष्ट्रचारी व्यक्तिहरूका कुरा ठाडै लेख्थें पछि बुझ्दै गएँ । साहित्य भन्दा ठाडै लेखिएको फोटो सहितका समाचारमा जनताको ध्यान परेका थियोे । तर पत्रिका जनतालाई दुहुना गाई बनाएका, कम्जोर र फोहरी मनस्थितिका मान्छेहरूलाई अपाच्य लाग्थ्यो । ६ बर्ष सम्म फाटफुट रूपमा प्रकाशित हुँदै आएको थियो पत्रिका ।
आर्थिक स्रोतकै लागि हटियाको दिन पारेर चोक, बाटोमा बटुवा कुरेर पत्रिका बेच्ने गथ्यौ । पाँच र दस रूपैयाँले चलिरहेका पत्रिका आर्थिक संकटले रोकियो ।
समाजलाई रूपान्तरण गर्न अर्को माध्यम नाटक रोजें । नाटकका दृश्यले जनतालाई निकै ठूलो प्रभाव पार्न सक्छ भनेर । समाजका बुद्धिजीवी र निकायहरुले कहिल्यै नबुझ्ने क्षेत्र साहित्यकै पाटो नाटक मेरो प्यासन बन्यो । बीचमा पुस्तक पढ्ने रूचिले तान्न थाल्यो । हरेक दिन हातमा एउटा कम्यूनिष्ट सिद्धान्तमा लेखिएको मार्कसबाद, कहिले गान्धी र विपिका पुस्तक हुन्थ्यो, म क्रान्तिकारी दर्शनले प्रभावित हुन थालें । समाजका खराब प्रर्बित्ती संग तार्किक संघर्षका निम्ती (डजन मर्डर ग्रुप) नामको सामूहिक संगठन बनाउन पुगें ।
५० जना बढी सदस्य रहेका समूहले सामाजिक मेलमिलाप र भष्टचारिका विरूदमा काम गरिन्थ्यो । त्योवेला चुलाचुलीको परिचय सधैं वरिपरिका क्षेत्रहरुमा नकारात्मक प्रंसगले जोडिन्थ्यो ।
चुलाचुलीलाई सकरात्मक तरिकाले चिनाउन विकल्प खोजें । अभियानमा बौद्दिक कम र अनबिज्ञ भएकाले दुई बर्ष भन्दा अघि बढ्न सकिएन । बीचमा स्थानीय पत्रिका प्रकाशन र डजन मर्डर ग्रुप पनि छाडेर म नाटक अंगालेर हिड्न थालें । यो क्षेत्र सामान्य लागे पनि बौद्दिक लाग्थ्यो, बौदिक लडाइँ लड्नु समाजलाई नेतृत्व गर्नेहरू पनि बैचारिक चेत हुनु पर्दो रहेछ, मैले त्यो वातावरणमा भेटिन ।
२०६७ देखि (आवरणको, युग बोल्छ) नाटक लिएर भुमाफियाहरूले निम्तयाएको मानविय असरको विरूद्धमा तीन जिल्ला पाँचथर, झापा र इलामका केही ठाउँहरूमा नाटक देखाउँदा प्रहरी हिरासत सम्म पुगियो । त्यो नाटकमा ९ जना कलाकार थिए, त्यस नाटकमा वेरोजगार युवाले आफ्नो शरिरमा आगो सल्काउनु पथ्र्यो, त्यस्तो दृश्य किन गराएछु ? आज प्रश्न आफैलाई गर्छु । नाटकबाटै समाजका खराब पक्षहरू सँग सिर्जनशिल लडाइँको उदेश्य राख्ने साथीहरूले पारिवारिक कारणले नाटक छोडे ।
हामी मानविय सोचको विकास गर्ने लगानीमा जुटेका थियौ, नितान्त एक्लो भए पनि भित्र त्यहि चिन्तन थियो । जब सम्म मानविय क्षेत्रमा लगानी हुन्न, तब सम्म हाम्रो समाजमा विभिन्न संस्कार, संस्कृति र सभ्यताहरूका भौतिक विकासका संरचनाहरू कसैले पनि हाम्रो सम्पत्ति भनेर व्यवस्थापन गर्ने छैन ।
चुलाचुलीका हितमा रंगमञ्चमा चौथो पुस्ता जन्माउन निकै धैर्य गर्नु पर्यो । समय सापेक्ष नाटकको ज्ञान लिने माध्यम थिएन, न त सुझाव र सल्लाह दिने अग्रज नै हुनुहुन्थ्यो । नाटक गर्छु भन्दा पनि नाटकलाई नयाँ रूप दिन्छु भन्ने दृढता लिएर म एक्लै भौतारिएँ ।
नाटककै नशा लिएर गाउँमा भौतारिन्थे । यहि नशाले मलाई पैसामुखी हुनबाट रोक्यो । चिउरा, पिसेका खोर्सानी खाएर नाटक गर्न उत्तर, भित्री पहाडका गाउँमा ५ देखि ११ घण्टा पैदल हिडेका २५ जना नाटककाटोली सम्झनु बाहेक विकल्प थिएन । नाटकले मनोरञ्जन मात्र दिन्छ, पैसा दिदैन दर्शकले यहि बुझ्थे । उनीहरूलाई आफ्नो सोचका लागि उर्जा प्रदान हुन्छ भनेर बुझाउन गाह्रो थियो ।
गाउँमा तीन दर्जन बढि नाटक गरेपछिको परिणाम नाटक गर्ने मान्छेहरू भनेर औल्याउँथे । विशेष विद्यालयमा विद्यार्र्थीले नाटको अपेक्षा राख्थे । तर कहिल्यै गाउँको उच्च तप्काको हुँ भन्नेहरूबाट सहयोग मिलेन । नाटकले जनता सचेत हुन्छन भन्ने बुझेका गाउँका नेताहरू नौटङ्किले समाजलाई विगार्छन भनि प्रचार गर्थे । कलाकारका अभिभाबकलाई, यो मान्छे विगार्ने लम्फूहरूले गर्ने कार्य भनेर भाँड्न सक्रिय हुन्थे ।
नाटकका नयाँ आयमबारे फाटफुट पढेका भरमा म ग्रामीण क्षेत्रमा उत्कृष्ट नाटक बनाउने सपना देख्थे । आफ्नै नाटक घर भएको सपना देख्ने हाम्रो टिम यहाँ बाँच्न सक्ने उपाय नदेखिएपछि भविष्य खोज्न पलायन हुँदै गयो । भविष्य कस्तो हुन्छ ? म आफैलाई प्रश्न गर्थें, नाटक भनेर एकहोरो पागल झंै म हिडिरहं,े न म संग जागिर न राम्रो उच्च शिक्षा न त नाटक क्षेत्रमा गहन अध्ययन । हिडिरहे मनमा यति सत्य थियो । हिडेर मात्र गन्तव्यमा पुगिन्छ भन्ने मेरो पागलपन । हाल काठमाडौं खाल्डोमा नाटक गरिरहेका युवा रंगकर्मी अनिल सुबा, गाउँमै रंगकर्म गरिरहेका केशर भूजेल यी दुई भाईहरूले मलाई हिड्न साथ नदिएको भए आज चुलाचुलीमा नाटकको गति यहाँ सम्म आउँन सक्थेन होला ।
हाम्रो सक्रियताले पहिलो समूह भन्दा पढेलेखेका र जोसिला युवाहरूको साथ मिल्यो । उनीहरू नाटक रिहलसल गर्न ३० मिनेट देखि डेड घण्टा पैदल हिडेर नाटकमा अभिनय गर्न उर्जाशिल युवाहरूको डेड दर्जन समूह बनाउन सफल भइयो । खेतका कान्ला, खोलाको बगर, जिर्ण सरकारी भवनमा आश्रय लिदै काम गरेका, नाटक क्षेत्रमा अनपढ, गरिब, अल्छे, बुद्धि नभएकाहरूले जिन्दगी बर्बाद गर्न गरेका नौटंकी नै नाटक बुझ्नेहरूका लागि हाम्रो उर्जाशसिल टिम ठूलो झापड थियो ।
यहि समूहको सक्रियतामा २०६९ मा (चुलाचुली रंगमञ्च) नाट्य संस्था वैधानिक रूपमा अगाडि बढ्यो । २०७० मा चुलाचुलीमै पिहलो पटक दुई दिवसिय नाट्य उत्सव मा (किपोट) नाटक मञ्चन गरियो । जुन नाटक चुलाचुली भूमि र बसोवासका ऐतिहासिक संघर्षका कथा थियो । व्यवस्थित नाटक गर्ने सजिलो कुरा थिएन । थुप्रै दुःख हुन्छन तर समाज रूपान्तरण गर्छौं, जनचेतनाका लागि नाटक गर्छौं भनेर काम गरिरहँदा हियाउने हरुका लागि, गाउँमा लम्फू भएर हिडेको देख्नेहरूका लागि यो हिँडाई चार बर्ष चलिरहयो ।
२०७२ देखि चुलाचुली रंगमञ्चको उचाइ थपियो । बैशाख १२ गतेका भूकम्प, शिजर्नशिल अभियानमा नेपाल संगित तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा हाम्रो पाँचौं पुस्ताले नाटकमा प्रवेश गर्यो । झापा, इलाम, पाँचथर, मोरङका मुख्य शहरका चौकहरूमा चुलाचुली र चुलाचुली रंगमञ्चको पहिचानको सकरात्मक उचाइ थप्यो ।
दोलखा चरिकोटमा भएको राष्ट्रिय नाटक महोत्सव, २०७३ मा नाटक(देवाङ्सी राजा) मञ्चन गरिएको थियो । अनिल सुब्बाले निर्देशन गरेको यश नाटक लेख्न मैले निकै आँट लिनु परेका थियो । यश नाटकको कथामा मैले आफ्नो बाबुको जीवन भोगाइ लेखेको छु । जुन नाटकमा मेरो परिवार संगै मैले बाँचेका समाजलाई चित्रण गरेको छु ।
२०७४ मा इलाममा भएको राष्ट्रिय नाटक महोत्सवमा नाटक (खाल्डो) मञ्चन गरियो । केशर भूजेलको निर्देशन रहेको यो नाटकमा चुलाचुलीकै परिवेशका कथा भनिएको छ ।
गाउँमा नाटक अर्थात रंगकर्मका एक दशक सम्मको अनुभवले भन्छु । रंगमञ्च सामूहिक काम भएकोले यश क्षेत्रमा छिटै सफलता प्राप्त गर्ने महत्वकांक्षा लिएर आउने जो कोहि टिक्न सजिलो छैन । यहाँ जब सम्म हामी र हाम्रो भन्ने सोचका समुदाय हुन्न तब सम्म रंगकर्ममा बाँचिरहन सजिलो छैन । मेरा लागि त रंगमञ्च लत हो, जीबनका फरक ध्यान गराउने शून्य मन्दिर हो ।
गाउँमा नाटकलाई बुझाउन थिएटर हलको आवश्यक छ । हल मात्रै भए नाटकले व्यवसायिकता लिन सजिलो उपाय पनि छन । तर चुलाचुली रंगमञ्च यतिवेला नाट्य शीप, क्षमता भन्दा पनि प्रविधि र प्राविधिक स्रोत, साधनको अभावमा छन ।
गाउँमा नाटक गर्न व्यवस्थित हल नहुदाँ आफु संग भएको क्षमता, उर्जा, शीप र टिमलाई समयमै सदुपयोग गर्न नसक्नु हाम्रो दुखको निरन्तरता हो ।
नाटक क्षेत्रमा आउने नयाँ पुस्ताको लर्को छ । आउ वा नआउ के भन्ने आफै अन्योल भईन्छ । आर्थिक क्षेत्रमा मजबुत हुनलाई चुलाचुली रंगमञ्च टिमले धेरैलाई अनुरोध गरे पनि कसैले पत्याइदिदैन । अब नाट्य कर्ममा आउनेहरूले बाँच्ने स्रोतका आधार हुन जरूरी छ । एउटा तन बाँच्न सकिएला तर सयौ नाटकको मोह लिनेहरूका मनलाई बचाउन सकिने स्थिती भने अहिले छैन । लाचुलीमा पाँच बर्ष सम्ममा नाटक गर्ने घरमा पनि लगानी गर्ने हो भने यो गाउँ प्रदेश नम्बर १ को फरक रंगक्षेत्र हुने छ । हामीलाई पत्याउने कोहि छैन, अझै हाम्रो सोच केन्द्रिकृत छ, रातदिन मिडियामा छाउनेहरु मात्रै सबैको विश्वासमा छन् । गाउँको आर्गानिक हिरा चिन्न सक्नुपर्छ भन्छु ।

दश बर्ष देखि जिर्ण भएको वन कार्यालयको सरकारी भवनमा थन्किएको थियो चुलाचुलीमा । हामिले यसैमा रंगमञ्चको कार्य ५ बर्ष देखि अस्थायी रूपमा गरिरहेकाछौ । यस भवनको ३ कोठामा नाटक अभ्यास कक्ष, नाटक सामान र पुस्तकालय संचालनमा छ । कुन वेला स्थानीय सरकारले हटाउँछ थाहा छैन । यहाँ एनजीओ र आईएनजिओले आफ्नो स्वर्थका लागि भवन निर्माण गर्नु परे यहाँका निकाय र गाउँले जग्गा खोज्न जुट्छन । तर दशक देखि साहित्य, कला र संस्कृति संरक्षण तथा व्यवस्थापन गर्न हलको प्रस्ताव लग्यो भने काम छैन भन्छन् ।
गाउँमा रहेर नाटक गर्ने धेरै अभाव देखिए पनि देशभर नाटक गर्ने शैली उही हुन्छ, यति हो अझै पनि समाज पुरानो सोचमा अल्झिएको छ । राजधानी र मोफसलको विभेद अझै छ । म आफै पनि भन्छु, सिर्जनाको शक्ति गाउँमा छ, यति हो त्यसलाई व्यवस्थित गर्ने घर छैन, सकरात्मक कामको प्रचार गर्ने मिडिया छैनन् । चुलाचुली रंगमञ्च नाटक गर्नु भन्दा बढी नाटक क्षेत्रलाई टिकाउन लागि परेको भन्ने लाग्छ ।
चुलाचुली रंगमञ्चले नेपालमै स्थापित थिएटर र कलाकारहरू सँगको समन्वयमा काम गरिरहेको छ । गाउँमा नाटक रंगमञ्चमा भविष्य संभाव रहेकाले चुलाचुली रंगमञ्च आउने आर्थिक बर्षबाट गाउँमै नाटकघर बनाउने योजनामा छ ।
हाल मानहाङ लावतीको अध्यक्षतामा संचालित चुलाचुली रंगमञ्चको म संस्थापक संयोजक भएकाले आफ्नो जिम्मेवारी बढिनै महसुस गर्छु । चुलाचुली गाउँपालिका र अन्य निकाय सँग पछिलो समय नाट्य क्षेत्रका क्रियाकलाप गर्ने रंगमञ्चको पहिचान छुट्टै रूपमा स्थापित हुनुपर्छ भन्ने माग गरिरहेका छु ।
रूपान्तरण देखिने वस्तु हैन, त्यसैले मैले गर्दै आएको पछिलो नाट्य क्षेत्रमा म नै प्रष्ट नदेखिन सक्छु । यति हो चुलाचुलीमा रंगमञ्चको भविष्य बनाउन मैले यहि क्षेत्रमा आधा उमेर जिरोमा बाँचेका छु । गाउँ भन्दा पर मैले सोच्न नचाहे पनि रंगमञ्च र रंगकर्म गर्नेहरूको फराकिलो यात्रामा संगै हिड्ने छु । आज आएर म साहित्यको पाटो हिडेर सवै भन्दा भाग्यमानी र खुसी छु । आज पनि मेरो आफ्नो जिन्दगी शुन्य पथमा छ । मलाई यसरीनै हिँड्ने मन छ । किनकि शुन्य पथ मैले सिक्नु पर्ने खाली बाटो हुन । रंगमञ्चका विषयमा म अझै खाली छु । अप्ठ्यारो भौगोलिक क्षेत्रमा चुलाचुली रंगमञ्च छ भन्नेहरुको आशामा रहनु भन्दा चुपचाप बिस्तारै हिडिरहको छु ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here