“मनदेखि मनसम्म” को सातौं (७) श्रृंखला कोलम्बसमा हुँदै

0
6

शेखर काकु, पेन्सिलभेनिया


कविता मनको भावना पोख्ने सबैभन्दा सशक्त माध्यम हो। मानिसले आफ्ना गहिरा अनुभूति, पीडा, खुशी, प्रेम, वियोग वा आशालाई सिधै शब्दमा व्यक्त गर्न नसक्दा कविता त्यसको सहज बाटो बन्छ। मनभित्र लुकेका भावनाहरू जब शब्दको आकार लिन्छन्, तब ती कविता भएर बाहिर आउँछन् र पाठक वा श्रोताको हृदयमा प्रत्यक्ष असर पार्छन्।


यसै संदर्भमा नेपाली भाषा, साहित् संस्कार र भावना जोड्ने उद्देश्यले आयोजना हुँदै आएको लोकप्रिय कार्यक्रम “मनदेखि मनसम्म”(A spoken word poetry Night) आफ्नो सातौं संस्करणका साथ कोलम्बस ओहायोमा यहि मिती मई २,२०२६ का दिन आयोजना हुन लागेको छ।


प्रवासमा रहेका नेपाली समुदायबीच भाषा, कला, साहित्य , संस्कार, अनुभूति र अभिव्यक्तिलाई साझा गर्ने महत्वपूर्ण थलोका रूपमा स्थापित यस कार्यक्रमले विगतका वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ।
यसअघि “मनदेखि मनसम्म” कार्यक्रमका छैटौं श्रृङखला सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

प्रत्येक संस्करणमा विभिन्न राज्य र शहरका प्रतिभाशाली कवि, साहित्यप्रेमी र कलाकारहरूले आफ्नो सिर्जना प्रस्तुत गर्दै दर्शकहरूको मन जित्दै आएका छन्। प्रेम, पीडा, समाज, पहिचान र प्रवासी जीवनका अनुभवहरूलाई समेट्ने यस कार्यक्रमले सहभागीहरूलाई भावनात्मक रूपमा जोड्ने काम गरेको छ।


आयोजकका अनुसार सातौं संस्करण अझै विशेष र प्रभावशाली हुने अपेक्षा गरिएको छ। नयाँ तथा पुराना सर्जकहरूको सहभागिताले कार्यक्रमलाई अझ विविध र समृद्ध बनाउने विश्वास गरिएको छ। साथै, यो कार्यक्रमले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको छ।


ओहायो कोलम्बस र आसपासमा बसोबास गर्ने नेपाली समुदायका लागि “मनदेखि मनसम्म” केवल एउटा कार्यक्रम मात्र नभई आपसी सम्बन्ध सुदृढ बनाउने, अनुभव साटासाट गर्ने र आफ्नो संस्कृतिसँग नजिक रहने अवसरको रूपमा हेरिएको छ।


अन्ततः, कविता मन र समाजबीचको पुल हो। यसले व्यक्तिको भित्री संसारलाई बाहिरी दुनियाँसँग जोड्छ र भावना साटासाट गर्ने अवसर प्रदान गर्छ। त्यसैले कविता केवल शब्दहरूको संयोजन होइन, यो मनको साँचो आवाज हो भन्ने यस “मनदेखि मनसम्म” (A spoken word Poetry) कार्यक्रमले लगातार रूपमा प्रस्ट्याउँदै आएको छ।


सम्पूर्ण भाषा,साहित्य,कला र संस्कृतीलाई माया गर्नुहुने संघ संस्था, व्यक्ति व्यक्तित्व, स्रष्ठा र सर्वसाधारणलाई,उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनु हुन आयोजक विनम्र अनुरोध गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here