
श्रावण ४, २०८३ | अर्जुन प्रधान
पिट्सबर्ग, पेन्सिलभेनिया — युवा नेतृत्व विकास, व्यक्तित्व निर्माण, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व र सामूहिक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले स्वीकारोक्ति फाउन्डेसनले अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित पिट्सबर्गमा “स्वीकारोक्ति फ्युचर लिडर्स क्याम्प २०२६” आयोजना गरेको छ। यस्ता सामुदायिक कार्यक्रमहरूले आप्रवासी तथा शरणार्थी समुदायका बालबालिका र युवाहरूको सामाजिक–भावनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ। जुलाई १५ देखि १९, २०२६ सम्म सञ्चालन भएको पाँचदिने क्याम्पको मूल नारा “Play (खेलकुद), Lead (नेतृत्व), and Grow (विकास)” रहेको थियो। विभिन्न उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरूको सक्रिय सहभागिता रहेको यस क्याम्पमा नेतृत्व विकास, आत्मअनुशासन, सञ्चार सीप, सहकार्य, समस्या समाधान र सकारात्मक सोच विकासमा केन्द्रित विभिन्न प्रशिक्षण तथा अभ्यासहरू सञ्चालन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रूप नारायण पोखरेल तथा विशेष अतिथिहरू सञ्चमान खालिङ, विकास राई र जीवन सुब्बा लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले सहभागी युवाहरूलाई नेतृत्व, अनुशासन, शिक्षा र समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि रूप नारायण पोखरेल ले यस्ता नेतृत्वमूलक अभियानहरूले भविष्यका पुस्तालाई सही दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्दै भने, “यस अभियानले भविष्यका पुस्तालाई विनाश होइन, बरु प्रगति, सद्भाव, शिष्टाचार र अनुशासन जस्ता महत्वपूर्ण औजारहरू प्रदान गर्छ। यसले गर्दा उनीहरूले समाजमा कुनै क्षति नगरी सकारात्मक परिवर्तनको छाल ल्याउन सक्छन्।”
कार्यक्रममा प्रमुख अतिथि रूप नारायण पोखरेल तथा विशेष अतिथिहरू सञ्चमान खालिङ, विकास राई र जीवन सुब्बा लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले सहभागी युवाहरूलाई नेतृत्व, अनुशासन, शिक्षा र समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि रूप नारायण पोखरेल ले यस्ता नेतृत्वमूलक अभियानहरूले भविष्यका पुस्तालाई सही दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्दै भने, “यस अभियानले भविष्यका पुस्तालाई विनाश होइन, बरु प्रगति, सद्भाव, शिष्टाचार र अनुशासन जस्ता महत्वपूर्ण औजारहरू प्रदान गर्छ। यसले गर्दा उनीहरूले समाजमा कुनै क्षति नगरी सकारात्मक परिवर्तनको छाल ल्याउन सक्छन्।”
त्यसैगरी थोमस खतिवडा र सालिना खतिवडा लगायत सुर्य तामाङ र एडिन राइले शितो–रियो करातेको काता प्रदर्शन, कविता वाचनमा सिजल राइ, नृत्यमा जोस्ना प्रधान,समान्था राइ , अन्य बालबालिकाहरूले गीत तथा विभिन्न वाद्यवादन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। उनीहरूको आकर्षक प्रस्तुतिले समापन समारोहलाई थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रमको स्थानीय आयोजना साझेदारका रूपमा किरात राई यायोख्या, पिट्सबर्ग (USA) र ट्रान्सअमेरिकन एसोसिएसन अफ शितो–र्यु कराटे यूएसए रहेका थिए। त्यसैगरी ग्लोबलपोस्टइन्फो र कम्युनिटी कनेक्ट सर्कल, पिट्सबर्ग ले कार्यक्रमलाई सहकार्य तथा सहयोग प्रदान गरेका थिए।
स्वीकारोक्ति फाउन्डेसनका अध्यक्ष डेन्जोम साम्पाङ (राई) का अनुसार आजको पुस्तालाई केवल शैक्षिक ज्ञानले मात्र सक्षम नेतृत्वकर्ता बनाउन नसकिने भएकाले व्यवहारिक सिकाइ, अनुशासन, आत्मविश्वास, सहकार्य, समस्या समाधान र सकारात्मक सोच विकासलाई केन्द्रमा राखेर क्याम्प सञ्चालन गरिएको हो। ट्रान्सअमेरिकन एसोसिएसन अफ शितो–र्यु कराटे यूएसएका अध्यक्ष टी.आर. याम्फे राई का अनुसार पाँच दिनसम्म सहभागीहरूले नेतृत्व क्षमता अभिवृद्धि, टोलीगत कार्य (Team Building), प्रभावकारी सञ्चार कला, निर्णय क्षमता, व्यक्तिगत विकास, समय व्यवस्थापन, खेलकुद, सामाजिक उत्तरदायित्व, रचनात्मक सोच तथा आत्मअनुशासनसँग सम्बन्धित विविध प्रशिक्षण र अभ्यासमा सहभागिता जनाएका थिए।
क्याम्पमा समाजसेवी तथा कम्युनिटी कनेक्ट सर्कल, पिट्सबर्ग का कोषाध्यक्ष जीवन प्रधान ले सहभागीहरूको समग्र मनोविज्ञान र व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। उनले नेतृत्व भनेको पद नभई जिम्मेवारी, सेवा र सकारात्मक प्रभाव सिर्जना गर्ने प्रक्रिया भएको सन्देश दिएका थिए। क्याम्पमा प्रकाश राई र अर्जुन प्रधान ले मेन्टरका रूपमा सहभागीहरूलाई व्यक्तिगत मार्गदर्शन, समूह समन्वय तथा सहकार्यका अभ्यासमा सहजीकरण गरेका थिए। पाँचदिने योग प्रशिक्षण कुञ्जाङ भण्डारी द्वारा सञ्चालन गरिएको थियो। योगमार्फत शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलन, एकाग्रता, अनुशासन र आत्मनियन्त्रणको महत्वबारे सहभागीहरूलाई अभ्यास गराइएको थियो।
यसैगरी डा. अशोक गुरुङ ले मानसिक स्वास्थ्यसम्बन्धी विशेष कार्यशाला सञ्चालन गर्दै तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, आत्मसम्मान, सकारात्मक सोच तथा मानसिक स्वास्थ्यप्रति खुला संवादको आवश्यकताबारे प्रशिक्षण दिएका थिए। हरेक दिन सञ्चालन हुने मार्गदर्शन, प्रतिपुष्टि (Feedback), आत्मचिन्तन (Reflection) तथा सामाजिक सचेतनाका सत्रहरू सेन्साइ टी.आर. याम्फे राई र जीवन प्रधान ले सहजीकरण गरेका थिए। यी सत्रहरूमा सहभागीहरूले दिनभरको सिकाइको समीक्षा, व्यक्तिगत अनुभव आदानप्रदान, सुधारका क्षेत्र पहिचान तथा सामाजिक जिम्मेवारीबारे छलफल गर्ने अवसर पाएका थिए। क्याम्पमा विभिन्न क्षेत्रका विज्ञ, पेशागत रूपमा सफल व्यक्तित्व तथा अतिथि वक्ताहरू सहभागी भई आफ्ना जीवन अनुभव, संघर्ष, सफलता र नेतृत्वसम्बन्धी दृष्टिकोण साझा गरेका थिए। यसले सहभागीहरूलाई विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
क्याम्पका गतिविधिहरू प्रशिक्षण कक्षामा मात्र सीमित थिएनन्। खेलकुद, समूहगत चुनौतीपूर्ण अभ्यास, नेतृत्व खेल, सांस्कृतिक गतिविधि, खुला छलफल, प्रकृतिसँगको अन्तरक्रिया तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले पनि क्याम्पप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले बालबालिका तथा किशोरकिशोरीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्यको भावना र सामाजिक जिम्मेवारी विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। अभिभावकका तर्फबाट टिका निरौला, टंक सुबेदी, डीबी राई, वच्छली साम्पाङ राई तथा प्रकाश राई ले आफ्ना बालबालिकाले आफ्ना कमजोरीलाई स्वीकार गर्दै त्यसलाई नेतृत्व विकासको अवसरका रूपमा प्रयोग गर्ने, साथै आफूभन्दा ठूला तथा वरपरका व्यक्तिहरूसँग सम्मानपूर्वक र प्रभावकारी रूपमा विचार तथा भावना व्यक्त गर्ने ज्ञान र सीप हासिल गरेकोमा खुसी व्यक्त गरेका छन्।
त्यसैगरी क्याम्पमा भुटानी शरणार्थी शिविरको इतिहास, पुनर्वासपछिको जीवनयात्रा, सुखद भविष्यको परिकल्पना तथा मानव सभ्यतासँग सम्बन्धित जीवनकलालाई चित्रमार्फत प्रस्तुत गर्ने अभ्यास गराइएको थियो। चित्रकला प्रशिक्षक अम्बी राई र राम राई ले बालबालिकालाई चित्रकला केवल कला अभिव्यक्तिको माध्यम मात्र नभई आफूलाई चिन्ने, भावना व्यक्त गर्ने र संसारलाई फराकिलो दृष्टिकोणबाट बुझ्ने प्रभावकारी माध्यम भएको बताएका थिए। स्वीकारोक्ति फाउन्डेसनले आगामी वर्षहरूमा पनि यस्ता नेतृत्व विकास कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ। संस्थाका प्रमुख प्रशिक्षक तथा अध्यक्ष डेन्जोम साम्पाङ (राई) का अनुसार समुदायका युवाहरूलाई सक्षम, जिम्मेवार, नैतिक र समाजप्रति उत्तरदायी नेतृत्वकर्ताका रूपमा तयार पार्नु नै यस्ता कार्यक्रमको दीर्घकालीन उद्देश्य हो। फाउन्डेसनले समुदाय, अभिभावक, स्वयंसेवक, साझेदार संस्था तथा प्रशिक्षकहरूको सक्रिय सहयोगले क्याम्प सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै भविष्यमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।













