स्वीकारोक्ति सिद्धि पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई

0
6

अर्जुन प्रधान
काठमाडौं, साउन ९ — वरिष्ठ साहित्यकार, कवि, मुन्धुम संस्कृतिविद् तथा नेपाली साहित्यका विशिष्ट साधक वैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई रु ६ लाख राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिएको छ। विश्व भुटानी साहित्य सङ्गठन (वि.भू.सा.सं.) र स्वीकारोक्ति फाउन्डेसनको छैटौँ वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानले नेदरल्याण्ड्सको द हेगमा गरेको घोषणाअनुसार शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीको सिद्धिचरण सभाहलमा आयोजित विशेष समारोहमा पुरस्कार तथा सम्मान समर्पण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले पुरस्कार वितरणपछि सम्मानित साहित्यकार, आयोजक तथा सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

समारोहको सभापतित्व स्वीकारोक्ति फाउन्डेसनका केन्द्रीय अध्यक्ष तथा स्वीकारोक्ति दर्शनका प्रतिपादक डेन्जोम साम्पाङ राईले गर्नुभएको थियो। समारोहलाई साहित्यिक सम्मानको औपचारिक कार्यक्रमभन्दा पर लैजाँदै साहित्य, दर्शन, संस्कृति, अनुसन्धान र सामाजिक रूपान्तरणमाथिको विमर्शका रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा वैरागी काइँलाको नेपाली कविता, भाषा, संस्कृति, मुन्धुम अध्ययन तथा आदिवासी ज्ञान–परम्पराको संरक्षणमा पुर्‍याएको योगदानलाई समकालीन नेपाली साहित्यको दुर्लभ उपलब्धिका रूपमा व्याख्या गरे। स्वीकारोक्ति फाउन्डेसनले वैरागी काइँलालाई प्रदान गरिएको सम्मान उहाँको दीर्घ साहित्यिक साधना, सांस्कृतिक योगदान तथा भाषिक–सांस्कृतिक पहिचानको संरक्षणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप प्रदान गरिएको जनाएको छ।

फाउन्डेसनका साहित्य तथा प्रकाशन विभाग प्रमुख कवि दिपा राई पुनका अनुसार वैरागी काइँलाले नेपाली साहित्य, अनुसन्धान, मुन्धुम दर्शन तथा भाषिक सम्पदाको अभिलेखीकरण र प्रवर्द्धनमा पुर्‍याएको योगदानले नेपाली साहित्यको दायरा मात्र फराकिलो बनाएको छैन, भावी पुस्ताका लागि मौलिक बौद्धिक आधारसमेत निर्माण गरेको छ। समारोहका कवि, गीतकार, उपन्यासकार तथा अनुवादक विप्लव प्रतीकले स्वीकारोक्ति दर्शनलाई व्यक्ति र समाजको रूपान्तरणको आधारभूत दर्शनका रूपमा व्याख्या गर्नुभयो। उहाँले जीवनमा आउने सुख, दुःख, असफलता, चुनौती र विविधतालाई स्वीकार गर्न सके मात्र नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो। आत्मस्वीकारले मानसिक तनाव कम गर्ने, क्रोध र निराशालाई नियन्त्रण गर्न सहयोग पुर्‍याउने तथा व्यक्तिलाई शान्त, जिम्मेवार र सन्तुलित बनाउने उहाँको भनाइ थियो। उहाँले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गर्नु नेपाली साहित्य र समाजप्रतिको समर्पणको सम्मान भएको उल्लेख गर्नुभयो। आधुनिक नेपाली कवितालाई नयाँ बौद्धिक उचाइमा पुर्‍याउने, तेस्रो आयाम आन्दोलनलाई समृद्ध बनाउने तथा मुन्धुम, लिम्बू संस्कार र आदिवासी ज्ञान–परम्पराको अध्ययन, संरक्षण र अभिलेखीकरणमा उहाँले पुर्‍याएको योगदान ऐतिहासिक रहेको उहाँको भनाइ थियो। वैरागी काइँलालाई नेपाली साहित्यको अग्रणी र विशिष्ट स्रष्टाका रूपमा स्मरण गर्दै उहाँका कविताले दर्शन, अस्तित्व, इतिहास, सभ्यता र सामाजिक यथार्थबीच गहिरो संवाद स्थापित गरेको उल्लेख गरे। समकालीन नेपाली कवितामा नयाँ संरचना, दृष्टि र विमर्श स्थापित गर्न उहाँको भूमिका महत्वपूर्ण रहेको उनीहरूको धारणा थियो। लिम्बू मुन्धुम तथा आदिवासी सांस्कृतिक स्रोतलाई अनुसन्धान र साहित्यिक दृष्टिबाट प्रस्तुत गर्ने उहाँको कार्यले नेपाली साहित्यलाई बहुसांस्कृतिक तथा बहुभाषिक धरातलमा उभ्याउन मद्दत गरेको पनि उनीहरूले बताए।

कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष डेन्जोम साम्पाङ राईले ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ साहित्य, अनुसन्धान, संस्कृति तथा सामाजिक चिन्तनका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिने जानकारी दिनुभयो। वैरागी काइँलाको चयन उहाँको जीवनभरको साधना र योगदानको मूल्याङ्कनका आधारमा गरिएको उहाँले स्पष्ट पार्नुभयो। रु ६ लाख राशिको यो पुरस्कार आर्थिक सम्मान मात्र नभई विचार, साधना र सांस्कृतिक उत्तरदायित्वको प्रतीक भएको उहाँले बताउनुभयो। नेपाली साहित्य, संस्कृति र मौलिक ज्ञान–परम्पराको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नु फाउन्डेसनको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ थियो। समारोहमा सहभागी साहित्यकार, अनुसन्धानकर्ता, समाजसेवी तथा संस्थाका पदाधिकारीहरूले वैरागी काइँलाको योगदानलाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय साहित्यिक परम्परासँग जोडेर मूल्याङ्कन गर्नुपर्ने धारणा राखे। उहाँको कार्यबाट नयाँ पुस्ताका लेखक, शोधकर्ता र सर्जकहरूले प्रेरणा र मार्गदर्शन पाउने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रममा स्वीकारोक्ति फाउन्डेसनले अघि सारेको ‘स्वीकारोक्ति दर्शन’ बारे पनि विस्तृत चर्चा गरिएको थियो। फाउन्डेसनले सार्वजनिक गरेको अवधारणाअनुसार यो दर्शनले अतीत, वर्तमान र भविष्यलाई समग्र रूपमा हेर्दै जीवन र जगतलाई बुझ्ने नयाँ दृष्टिकोण प्रस्तुत गर्दछ। संस्थाका अनुसार यसले जीवन र समाजलाई हेर्ने मात्र होइन, परिवर्तन गर्ने नयाँ चेतना र मूल्य प्रणाली निर्माण गर्ने उद्देश्य बोकेको छ।

नेपाल शाखाका अध्यक्ष डा. भक्त राईले स्वीकारोक्ति दर्शनलाई विश्वव्यापी अभियानका रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो। फाउन्डेसनले बालबालिका, युवा तथा समुदायस्तरमा नेतृत्व विकास, व्यक्तित्व निर्माण, मानसिक स्वास्थ्य, अनुशासन तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी उहाँले दिनुभयो। स्वीकारोक्ति दर्शन वर्तमान समाजमा देखिएका नैतिक संकट, सांस्कृतिक विचलन तथा आत्मपहिचानका चुनौतीहरूको समाधान खोज्न वैरागी काइँलाको साहित्यले महत्वपूर्ण बौद्धिक आधार प्रदान गरेको धारणा राखे। मुन्धुम परम्पराको दार्शनिक व्याख्या, आदिवासी चेतनाको अभिलेखीकरण तथा भाषिक सम्पदाको संरक्षणका कारण उहाँ केवल कवि मात्र नभई चिन्तक, शोधकर्ता र सांस्कृतिक संरक्षकका रूपमा स्थापित भएको उनीहरूको भनाइ थियो। कार्यक्रममा स्वीकारोक्ति अभियन्तहरूले वैरागी काइँलालाई प्रदान गरिएको सम्मानलाई उहाँको व्यक्तिगत उपलब्धिमात्र नभई समग्र नेपाली साहित्य, मुन्धुम अध्ययन तथा भाषा–संस्कृति संरक्षणको सम्मानका रूपमा व्याख्या गरे। आधुनिक नेपाली कवितालाई बौद्धिक विमर्शको केन्द्रमा स्थापित गर्न र आदिवासी ज्ञान–परम्परालाई साहित्यिक बहससँग जोड्न उहाँले खेलेको भूमिकाको उनीहरूले उच्च प्रशंसा गरे। समारोहमा स्वीकारोक्ति साहितिक पत्रिका, पुरस्कार वितरणको औपचारिक प्रक्रिया, Glimpses of Nepali Literature and Culture पुस्तक विवोचन , सम्मानपत्र तथा कार्यक्रमका विभिन्न पक्षबारे जानकारी पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा भारतको असम, तेजपुरबाट वरिष्ठ लेखक तथा समाजसेवी एवं स्वीकारोक्ति फाउन्डेसन अमेरिकाका महासचिव ज्ञानबहादुर क्षेत्री, साहित्यकार डा. खगेन्द्र शर्मा, नेपाल अध्यक्ष डा. भक्त राई, साहित्य तथा प्रकाशन विभाग प्रमुख दिपा राई पुन, साहित्यकार विप्लव प्रतीक, झापा प्रतिनिधि साहित्यकार खग्रेन्द खुसीलगायत विभिन्न देशका साहित्यकार तथा फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

फाउन्डेसनले यसअघि पनि साहित्य, अनुसन्धान तथा सृजनात्मक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको जनाएको छ। नेपाली साहित्यको विश्वव्यापी पहिचान, भाषिक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको संस्थाको भनाइ छ। समारोहका अन्त्यमा सहभागीहरूले वैरागी काइँलाजस्तो स्रष्टालाई गरिएको सम्मान नेपाली साहित्यिक इतिहासको महत्वपूर्ण क्षण भएको टिप्पणी गरे। उहाँको सिर्जनाले कविता, अनुसन्धान र सांस्कृतिक उत्तराधिकारलाई एउटै सूत्रमा बाँधेको उल्लेख गर्दै यस्तो सम्मानले नेपाली साहित्यमा विचार, मूल्य र रूपान्तरणको नयाँ बहसलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here