अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका — नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था “साहित्य कला संगम” ल्यानकास्टरले आगामी जुलाई २५, २०२६ मा आफ्नो लोकप्रिय काव्य शृङ्खला “मनदेखि मनसम्म” (Spoken Word Poetry Night) को आठौं संस्करण आयोजना गर्ने भएको छ। स्थानीय समयअनुसार साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम यसपटक “पहिलो प्रेम” विषयमा केन्द्रित रहनेछ। प्रवासमा आयोजना हुने परम्परागत कविता वाचन कार्यक्रमहरूभन्दा फरक पहिचान बनाउँदै आएको “मनदेखि मनसम्म” ले कवि र श्रोताबीचको दूरी घटाउँदै शब्दमार्फत भावनात्मक संवाद सिर्जना गर्ने प्रयास गर्दै आएको छ। यस मञ्चमा कविता केवल वाचनमा सीमित हुँदैन, बरु जीवनका अनुभूति, स्मृति र सम्बन्धहरूलाई साझा गर्ने माध्यम बन्छ।
यस शृङ्खलाको विशेषता भनेको प्रत्येक संस्करणमा साझा विषयमार्फत सबै प्रस्तोताहरूलाई जोड्नु हो। छोटो समयभित्र प्रभावशाली अभिव्यक्ति दिने अभ्यास, विविध शैलीका प्रस्तुति र गहिरो भावनात्मक सम्प्रेषणले कार्यक्रमलाई श्रोतामैत्री बनाउँदै आएको छ। साहित्य कला संगमका अध्यक्ष दिपेश चापागाईंका अनुसार, यसपटकको कार्यक्रममा करिब २५ जना नवोदित तथा स्थापित नेपाली कविहरूले “पहिलो प्रेम” का विविध आयाम प्रस्तुत गर्नेछन्। बाल्यकालका निर्दोष अनुभूति, किशोरावस्थाका स्मृति, सम्बन्धका मिठास र जीवनका अविस्मरणीय क्षणहरू कवितामार्फत उजागर हुनेछन्। मुख्य कार्यसमिति सदस्य तथा साहित्यकार शेखर कोइराला “काकू” भन्छन्, “हामीले ‘मनदेखि मनसम्म’ लाई केवल कविता सुनाउने कार्यक्रमका रूपमा होइन, मनहरू जोड्ने यात्राका रूपमा विकास गरेका छौं। ‘पहिलो प्रेम’ जस्तो विषयले सबैको जीवन छुन्छ, त्यसैले यो संस्करण अझ आत्मीय हुने विश्वास छ।”
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष नयाँ पुस्ताको सहभागिता हो। साहित्य कला संगमले पुस्तान्तरणलाई प्राथमिकता दिँदै आएको छ र यसपटक बालबालिकाहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको छ। यसले प्रवासमा हुर्किरहेको नयाँ पुस्ताको नेपाली भाषा र संस्कृतिप्रतिको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ । विगतमा अमेरिकाका विभिन्न शहरहरूमा सात संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यस शृङ्खलाले साहित्यप्रेमीहरूबीच विशेष स्थान बनाइसकेको छ। आयोजकले ल्यानकास्टर तथा आसपासका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई स्रष्टाहरूलाई उत्साह प्रदान गर्न आग्रह गरेका छन्। प्रवासमा भाषा र संस्कृति केवल स्मृतिमा सीमित नरही पहिचानको आधार बन्ने सन्दर्भमा, “मनदेखि मनसम्म” जस्ता कार्यक्रमहरूले समुदायलाई भावनात्मक रूपमा जोड्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन्।












