जेष्ठ २०, २०८३ | अर्जुन प्रधान
भुटानको कठोर कारागारमा आफ्नो जीवनका बहुमूल्य १८ वर्षभन्दा बढी समय बिताएका दुई भुटानी यतिबेला नेपाल–भारत सीमामा अलपत्र परेका छन्। करिब दुई दशक लामो कैदपछि रिहा भए पनि उनीहरू अहिले ‘देशविहीन’ अवस्थाको चरम पीडामा छन्। ४२ वर्षीय चतुर्मान तामाङ र ४८ वर्षीय हस्तबहादुर राईले थिम्पुस्थित चेमगाङ सेन्ट्रल जेलमा १८ वर्ष ३ महिना ६ दिन ‘आजीवन कारावास’को सजाय भोगे। उनीहरू झापाको बेलडाँगी शरणार्थी शिविरका बासिन्दा थिए। युवावस्थामा राजनीतिक गतिविधिमा संलग्नता वा अवैध रूपमा भुटान प्रवेश गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई लामो समयसम्म जेल जीवन बिताउनुपरेको थियो।
भुटानी सरकारद्वारा ‘किदु’ (माफी) पाएपछि उनीहरूलाई हालै रिहा गरिएको हो। रिहाइपछि भुटानी प्रहरीले उनीहरूलाई गाडीमा राखेर फुन्चिलिङ–जयगाउँ सीमासम्म ल्याएर छाडिदिएको जानकारी छ । रिहाइपछि पुरानो बासस्थान सम्झँदै नेपाल प्रवेश गर्न खोजेका उनीहरूलाई भारतको पानीट्याङ्कीस्थित सीमा क्षेत्रमा रोकिएको छ। नेपाल प्रवेशका लागि आवश्यक आधिकारिक ‘रिलिज सर्टिफिकेट’ नहुँदा नेपाली अधिकारीहरूले उनीहरूलाई प्रवेश अनुमति दिएका छैनन्।
उनीहरूसँग हाल रहेको एकमात्र प्रमाण थिम्पुको अस्पतालबाट प्राप्त मेडिकल रिपोर्ट मात्र हो। भुटानले पुनः प्रवेश गर्न नदिने र फर्किए पक्राउ पर्ने चेतावनी दिएपछि उनीहरूको अवस्था झन् जटिल बनेको छ। यसरी उनीहरू अहिले न भुटान फर्कन सक्ने अवस्थामा छन्, न नेपाल प्रवेश गर्न। जेल जीवनको लामो अन्तरालमा उनीहरूको पारिवारिक जीवन पूर्ण रूपमा परिवर्तन भइसकेको छ। उनीहरूका आमाबाबु तथा अन्य परिवारजन तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रमअन्तर्गत अमेरिका, क्यानडा र अष्ट्रेलियामा बसोबास गरिरहेका छन्।
हस्तबहादुर राईकी श्रीमती क्यानडामा रहेको र छोराछोरी अन्य देशमा रहेको जानकारी उनले पाएका छन्। जेलमा रहँदा प्राप्त पुराना तस्बिरहरू हेर्दा आफ्नै सन्तानलाई चिन्न समेत कठिन भएको उनीहरू बताउँछन्। जेलबाट निस्कँदा उनीहरूले साथमा केही पुराना लुगा, एउटा सिलाइ मेसिन, सानो टेलिभिजन र थोरै नगद मात्र ल्याउन सके। चतुर्मान तामाङ मधुमेहबाट पीडित छन् र उनको स्वास्थ्य अवस्था कमजोर देखिएको थे हिमाल वर्ल्ड का प्रधान सम्पादक प्रमोद गिरी ले जानकारी दिनुभएको छ।
प्रमोद गिरीका अनुसार “सीमामा अलपत्र परेका उनीहरूलाई स्थानीय युवाहरूले मानवीय आधारमा सहयोग गरिरहेका छन्। तर दीर्घकालीन समाधानको अभावले उनीहरूको भविष्य अन्योलपूर्ण बनेको छ।” गिरी थप्दै भने “ आफुले चिनेका मानवअधिकारकर्मी र सरकारका शरेकारवालाहरुलाइ पनि जानकारी गराएको छु । साथै दुवैजनाको एउटै आग्रह छ—झापाको शरणार्थी शिविरसम्म पुग्ने व्यवस्था मिलाइदियोस्, जहाँबाट उनीहरूले आफ्नो परिवारसँग पुनः सम्पर्क स्थापित गर्न सकून्।” “हामीलाई रिफ्युजी क्याम्पसम्म पुर्याइदिए मात्रै पनि धेरै राहत मिल्ने थियो,” उनीहरूले भावुक हुँदै भने।
मानव अधिकारकर्मी राम कार्की, संस्थापक तथा ग्लोबल कोअर्डिनेटर, भुटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि ग्लोबल अभियान (GCRPPB) भन्नुहुन्छ “यो घटना केवल दुई व्यक्तिको व्यक्तिगत पीडा मात्र होइन, दशकौं पुरानो भुटानी शरणार्थी समस्याको अझै समाधान नभएको कटु यथार्थको प्रतिविम्ब पनि हो।अझै २८ जान भूटानको जेलमा कष्टपूर्ण जिबन बिताउरहेका छन् । यस कार्यमा नेपाल सरकार र भारत सरकारलाइ हार्दिक निवेदन गर्छु कि – मानव अधिकारको वाहली गर र उनिहरूको जिबन जिउने अधिकार सुनिचित गर ।” १८ वर्ष जेल बसेर निस्किएका व्यक्तिहरू आफ्नै परिवार र देशसँग सम्पर्क विच्छेद भएको अवस्थामा “देशविहीन” बन्न पुगेका दुइ भुटानीको मानव अधिकार र उनिहरुको स्वस्था आवस्थका लागि सबै शरोकारवालाहरूले नेपाल सरकार र भारत सरकारसग आवाज उठाइरहेका छन् । पिस इनिसियटिभ भुटान लगायतका संस्थाहरूले यसलाई मानवीय आधारमा हेर्न र बाँकी रहेका अन्य राजनीतिक बन्दीहरूको अवस्थालाई पनि समीक्षा गर्न आग्रह गरेका छन् । भने भुटान नेसनल डेमोक्रेटिक पार्टी BNDP ले पनि यसलाई एउटा गम्भीर मानवीय त्रासदी भन्दै कूटनीतिक तवरबाट समाधान खोज्न जोड दिएको छ ।












