“बरु ज्यान फाल्नु  तर देशबिनाको मान्छे नहुनू”

0
16

AMCC शान्ति पदयात्राका प्रत्यक्षदर्शी र सहभागीसँगको अन्तरवार्ता 

सन् १९९५ को सेप्टेम्बरमा काठमाडौंमा घोषणा भएको अपील मुभमेण्ट कोअर्डिनेटिङ काउन्सिल(AMCC)-ले भुटानी शरणार्थी आन्दोलनको इतिहासमा एउटा अनौठो अध्याय थप्यो।

यो न कुनै राजनीतिक दल थियो, न कुनै सशस्त्र गुट । यो थियो, नेपालका सात शरणार्थी शिविरका आमजनताको साझा आवाज, जसले हतियार होइन पाइला रोजे, बन्दुक होइन निवेदन बोके र भुटानका राजासमक्ष आफ्नो मुद्दा राख्न शान्ति पैदलयात्राको बाटो रोजे । सन् १९९६ मा जनवरीदेखि त्यो वर्षभरि नै श्रृंखलाबद्ध शान्तियात्राहरू भए । भारतीय प्रहरीले रोक्यो, जेल हाल्यो। करीब सत्र सय पैदलयात्रीहरू महिनौं भारतीय जेलमा बसे । बाबुराम स्याङ्देन नामका एकजना त्यही जेलमा मरे। तर शान्तियात्राका सहभागीहरू हारेनन् ।

त्यो अभियानमा भक्त घिमिरे पनि पैदलयात्रीकै रूपमा जोडिएका थिए। उनी भूटानी शरणार्थी आन्दोलन, पत्रकारिता र साहित्यसँग जोडिएको एक परिचित पात्र हुन् । उनी शरणार्थी शिविरको विद्यालयमा अध्यापन गर्दागर्दै स्वदेश फिर्तीसम्बन्धी अभियानमा सक्रिय भए र सन् १९९५ मा काठमाडौंमा घोषणा गरिएको अपील मुभमेण्ट कोअर्डिनेटिङ काउन्सिल (AMCC) मा बेल्डाँगी १ शिविरका प्रतिनिधिका रूपमा सहभागी भए। त्यसबेला उनी २६ वर्षका थिए र शिविरमै बसोबास गर्दै आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका थिए।

शिविरकालीन कठिन जीवन, स्वदेश फर्कने आकांक्षा र भूटानी नागरिक अधिकारका पक्षमा घिमिरेको अनुभव गहिरो छ। उनले AMCC को गठन, शिविरभित्रको आशा-निराशा, भारत-भूटान सीमामा भएको अवरोध, गिरफ्तारी, र जेलजीवनसम्मका घटनाहरू प्रत्यक्ष भोगे । उनका अनुसार AMCC केवल एउटा समूह वा दलगत अभियान होइन, आम शरणार्थीहरूले गरेको स्वदेशफिर्तीको साझा प्रयासस्वरूप शान्तिपूर्ण यात्रा थियो ।

फुटकर कविता र फाट्फुट कथा लेख्ने बानी परेका घिमिरे शान्ति पदयात्रा अभियानकै क्रममा पत्रकारितातर्फ लागे । उनी सन् १९९७ पछि पत्रकारितामा सक्रिय भएको देखिन्छ। पत्रकारितामा पनि उनले शरणार्थी समस्या, भूटानी राजनीति दाउपेच, समग्रमा निर्वासनको पीडाबारे लेखन र सार्वजनिक अभिव्यक्तिमार्फत निरन्तर भूमिका खेले। भूटानीहरुको साझा सञ्जाल www.bhutaneseliterature.com मा उनका लेख र अन्तरवार्ताहरूले भूटानी शरणार्थी इतिहासका धेरै अकथित पक्षलाई उजागर गरेका छन् ।

साहित्यिक दृष्टिले पनि भक्त घिमिरे संवेदनशील र विचारशील लेखकका रूपमा चिनिन्छन् । उनको लेखनमा निर्वासन, पहिचान, देशप्रेम र न्यायको प्रश्न बलियो रूपमा उपस्थित हुन्छ । उनी भन्छन्, “देशबिनाको नागरिक भएर नरहनु” नै आगामी पुस्ताका लागि मुख्य सन्देश हो । यही दृष्टिकोणले उनलाई केवल पत्रकार वा लेखकमात्र होइन, स्मृतिलाई जोगाउने साहित्यिक साक्षी पनि बनाएको छ ।

यस अन्तर्वार्तामा AMCC को बेल्डाँगी १ शिविरका तत्कालीन प्रतिनिधि  जो स्वयं तेस्रो समूहको पैदलयात्राको अगुवाइ गरी कलकत्ताको बह्रमपुर जेलमा महिनौं बसे र, बाबुराम स्याङ्देनको मृत्यु आफ्नै आँखाले देखे । उनले त्यस आन्दोलनको भित्री कथा हामीलाई  सुनाएका छन् । यो एउटा ऐतिहासिक दस्तावेज हो – प्रत्यक्षदर्शीको मुखबाट ग्लोवलपोस्टका सम्पादक अर्जुन प्रधानसँग गरिएको अन्तर्वाता यस्तो छ । 

प्र.१-अहिले के गर्दै हुनुहुन्छ ? स्वास्थ्य कस्तो छ?

वृद्ध-वृद्धाहरुको ठूलो संख्या भएको समाजमा बसेर ‘बुढो भएँ’ भन्न सजिलो छैन । तर, उर्जावान तन्दुरुस्तीमा काम गर्नसक्ने उमेर गएछ अब । यद्यपि, स्वास्थ्य ठिकै छ । फुर्सदमा पढ्ने, लेख्नेभन्दा धेरै उल्लेख्य केही काम छैन । स्थानीय चलन-चल्ती अनुसार घर चलाउने पूँजीको जोहो त गर्नैपऱ्यो, जागिरे दैनिकी छँदैछ  ‘रोजमर्रा’ जिन्दगी ! 

प्र.२-  तपाईं AMCC आन्दोलनसँग कसरी जोडिनुभयो — पहिलो पटक त्यस आन्दोलनको बारेमा कहिले र कहाँ थाहा पाउनुभयो?

म शरणार्थी शिविरको विद्यालयमा पढाउँने काम गर्दै थिएँ । शिविरस्तरमा स्वदेशफिर्तीको सम्बन्धमा अभियान चाल्ने विभिन्न छलफल र परामर्शहरु पनि जारी थिए । यस्तैमा आहुरा भूटान भन्ने संस्थाका साथीहरु प्रस्ताव लिएर आए । त्यसपछि भूटानी शरणार्थी शिविर बेल्डाँगी १ को प्रतिनिधिका रूपमा म त्यस अभियानमा सामेल भएँ ।  यसरी सबै शिविर र केही संस्थाहरुको संलग्नतामा सन् १९९५ को सेप्टेम्बर महिनामा अपील आन्दोलन समन्वय परिषद् (अपील मुभमेण्ट कोअर्डिनेटिङ काउन्सिल-एएमसीसी) काठमाडौंमा घोषणा भयो । अभियानको थालनीमा मलगायत नैनाकुमारी गुरुङले बेल्डाँगी १ शिविरको प्रतिनिधित्व गरेका थियौं ।  

-त्यस बेला तपाईंको उमेर कति थियो? शिविरमा हुनुहुन्थ्यो कि बाहिर? परिवारको प्रतिक्रिया के थियो?

उमेर 26 वर्ष थियो । शिविरमा सबैजना स्वदेशफिर्तीको लागि प्रतीक्षारत रहेकाले सोही अभियानमा लागेर काम गर्ने कुरामा परिवारको प्रतिक्रिया उत्साहजनक नै थियो भन्नुपर्छ । 

प्र.३-  सन् १९९५ मा AMCC गठन हुँदा शरणार्थी शिविरको वातावरण कस्तो थियो — मानिसहरूको मनोदशा, आशा र निराशाको अनुपात के थियो?

शरणार्थीहरुलाई सहुलियत खाद्य तथा अन्य आवश्यक सामग्री प्रदान गर्ने संस्थाहरुले राहत कटौती गर्दै लगेका, विभिन्न कूटनीतिक नियोगका अधिकारीहरु शिविरमा आएर सधैं सहयोग गर्न नसकिने बताइरहेका र निर्वासित भूटानीका राजनीतिक दल तथा नेतृत्व प्रभावकारी नदेखिएका आदि कारणले मानिसहरुको मनोदशा कमजोर थियो — निराशाजनक थियो । स्वदेशमा फैलिएको राज्यातङ्कबाट जोगिन दशैंमा घर छोडेर तिहारमा फर्किने आशा बोकेका निर्वीसितहरु पाँचवर्ष, सातवर्ष हुँदै दशवर्षतिर पुग्दै गरेको आफ्नो र परिवारको दुर्दान्त शरणार्थी दैनिकी र अनिश्चित जीवनयात्रा सम्झिएर दिक्क हुन्थे । तर, सामान्य जनजीवनको यो मनोदशा बुझ्ने राजनीतिक नेतृत्वमा कोही थिएन । अधिकांश राजनीतिक नेतृत्वको भनाइ के थियो भने संकटकाल भोगेर एकपटक देशबाट बाहिरिएपछि त्यहाँ परिवर्तन वा सुधार भएमात्र फिर्ता जान सकिन्छ । तर, आमशरणार्थीको हुटहुटीचाहिं जे जसरी भए पनि प्रयास गरेर हेरौं, भूटानको राजाले साँच्चै समस्या समाधान गर्न चाहेको हो कि होइन भन्ने संसारले पनि देखोस् भन्नेतिर एकोहोरिएको थियो ।     

यस्तो दोसाँधको परिस्थितिमा जुटेको समूह र अभियान भएकाले एएमसीसीप्रति अधिकांश शरणार्थी सर्वसाधारणमा आशाजनक दृष्टिकोण थियो । यद्यपि, राजनीतिक दल तथा नेतृत्वले चाहिं यस अभियानलाई ‘सरकारसामु आत्मसमर्पण’, ‘प्रजातन्त्र र न्यायको आन्दोलनबाट पलायन’ को संज्ञा दिइरहेका थिए।

बेल्डाँगी १ मा विरोधी समूहहरुले भेला डाके। मलाई पनि भेलामा उपस्थित गराइयो र अभियानबाट नाम फिर्ता लिन दबाब बढाइयो। तर मैले मानिनँ। भौतिक आक्रमणका प्रयासहरु भए। खुशीको कुरा, केही हप्तापछि ती विरोध गर्नेहरु नै एएमसीसीको अभियानमा अग्रपंक्तिमा सामेल भए। किनकि शरणार्थी शिविरहरुमा लगभग ९५ प्रतिशत जनसाधारणले यस अभियानलाई आशाको किरण मानेका थिए।

↳ थप प्रश्न: के शिविरमा कुनै उत्साहको लहर आयो? वा मानिसहरू थाकिसकेका थिए? कुनै विशेष घटना याद छ?

घटनाहरु कति छन् कति-कुन भनौं ? धेरै त अब विस्मृतिमा गइसकेका छन् । तर, एउटा भनिहालौं ! जब थिम्पूमा पुगेर राजासमक्ष शरणार्थी समस्या र समग्रमा दक्षिण भूटानमा विद्यमान नागरिक उन्मूलनको प्रश्नलाई समाधानको लागि अनुरोध गर्ने  अभियान लिएर एएमसीसी अघि बढ्यो, दलसम्बन्धित केही समूह र व्यक्तिहरु कडा विरोधमा उत्रिए । ठूलै रागारागी भयो । सबै शिविरमा धेरथोर विरोध भइरहेकै थियो । बेल्डाँगी १ मा पनि विरोधी समूहहरुले भेला डाके । मलाई पनि भेलामा उपस्थित गराइयो । अभियानबाट आफ्नो नाम फिर्ता लिन दवाब पनि बढाइयो । तर, मैले मानिनँ । हामीले भूटानमा प्रजातान्त्रिक हक अधिकारको माग गर्दा देशबाट लखेटिएका हौं भने त्यसैको अभ्यास गर्न जोसुकैले आफ्नो चेतना र दृष्टिकोणले न्यायोचित ठानेको काम गर्न पाउने र सोही अनुसार मैले स्वविवेकमा चालेको कदमबाट फिर्ता हुनु नपर्ने कुरा राखें । भौतिक आक्रमणका प्रयासहरु भए । तर, खुशीको कुरा, केही हप्तापछि ती विरोध गर्नेहरु नै एएमसीसीको अभियानमा अग्रपंक्तिमा सामेल भए । यो के कारण भयो भने शरणार्थी शिविरहरुमा लगभग ९५ प्रतिशत जनसाधारणमा यस अभियानले आशाको सञ्चार गराएको थियो । निर्वासित भूटानी नागरिकका रूपमा आमशरणार्थीहरुको उत्साहजनक सहभागिताले गर्दा समूहगत, व्यक्तिगत विरोधीहरुको दाल गलेन । बरू, उनीहरु पनि घुमाइफिराइ यसैमा समावेश भए ।    

प्र.४-  AMCC भित्र विभिन्न दल र संस्थाहरू थिए — के तिनीहरूबीच एजेन्डाको भिन्नता थियो? निर्णय कसरी हुन्थ्यो?

एएमसीसीमा धेरै दल र संस्थाहरु थिएनन् । आहुरा भूटान, टिचर्स एसोशिएसन अफ् भूटान (TAB), ब्रिटेक हो कि यस्तै केही नाम गरेको संस्था थियो जसलाई डी.एन. ढकालले प्रतिनिधित्व गरेका थिए । शारदा शर्माले अर्को एउटा संस्थाको प्रतिनिधित्व गरेकी थिइन् जुन संस्थाको नाम अहिले मैले भुलें ।  त्यसबाहेक सातवटा शरणार्थी शिविरका दुइ-दुइजना प्रतिनिधिहरु थिए । राजासमक्ष पत्र लिएर थिम्पू जान तत्पर पैदलयात्री समूहका प्रतिनिधिहरुको छुट्टै कार्यदल थियो । तिनैमध्येबाट विभिन्न विभागमा सदस्यहरु मनोनित थिए । केही विभागहरुमा शिविरका जोसुकैले स्वयंसेवकका रूपमा सहभागी हुने चलन थियो । यहाँ एजेण्डा र सिद्धान्तका कुरा भन्दा पनि कसरी पैदल हिँडेर सुरक्षित तरिकाले थिम्पू पुग्ने भन्ने मूल लक्ष्य थियो । एकनिष्ठ रूपमा सबैबाट समान योगदान भएकाले करीब करीब एकवर्षभित्र अभियानले भूटानभित्र टेक्न सफल पनि भएको थियो ।

शुरुमा कुनै पनि मतान्तर वा एडेण्डामा मतभेद भएन । तर, भूटान प्रवेश गरेर पुनः भारततिरै फ्याँकिएपछि सामान्य मतान्तर शुरु भएको थियो । हुँदा-हुँदै पछि गएर अब शान्ति पैदलयात्रा गरेर केही नहुने, बरु वृहत राजनीतिक योजना बुनेर त्यसलाई भूटानभित्र फैलाउनुपर्ने कुरामा कोही लागे भने कोहीचाहिं निर्वासितहरुबीच जातीय समीकरण नभएको भन्दै निर्वासित भोटिया नेतृत्वमा गोलबद्ध हुनुपर्ने कुरा उठाउन थाले । कसैले भूमिगत रणनीतिमा भूटान पसेर विद्रोह गर्ने कुरा पनि उठाए । यति भइरहँदा पनि केही अभियानकर्ताहरु एएमसीसीकै तहमा अडिएर शान्तिपूर्ण प्रयासहरु जारी राख्नुपर्ने अडानमा थिए । यसरी एएमसीसी धेरैवटा टुक्रामा भग्न बनेको थियो यद्यपि, बाहिर देखिने गरीचाहिं दुइवटा मूल खेमा बनेका थिए । भनौं समग्रमा एएमसीसी दुइवटा समूहमा विभिक्त थियो, एउटा एएमसीसी एकलै आफ्ना योजनाहरु दोहोऱ्याइ, तेहऱ्याइ जारी राख्ने र अर्को रोङोथोङ् क्युनले नेतृत्वको वृहत समीकरणमा सामेल भएर राजनीतिक अभियानमा जुट्ने ! र, अन्त्यमा भयोचाहिं के भने ड्रूक नेशनल कंग्रेसका नेता रोङथोङ क्युनलेको अगुवाइमा साझा समिति बनाएर भारत सरकारलाई समर्थनका लागि याचना गर्ने योजनामा न्यूनतम सहमति बन्यो र सोही योजना अनुसार एउटा उच्चस्तरीय कार्यदल दिल्लीतर्फ लाग्यो । क्युनले दिल्लीमा पक्राउ परे । त्यसपछि सुस्त बन्दै गएका सबै अभियानहरु पुरानै अभ्यास दोहोऱ्याउँदै थच्मरिँदै गर्ने ठाउँमा पुगेर टुङ्गिए ।  

प्र.५-  आर.के. बुधाथोकी, वा अन्य नेतृत्वकर्ताहरूलाई तपाईंले व्यक्तिगत रूपमा भेट्नुभएको थियो? उनीहरूको व्यक्तित्व कस्तो थियो — भाषण र व्यवहारमा?

आर.के. बुढाथोकी र निर्वासित भूटानीका अधिकांश (प्राय सबैजसो) नेतृत्वलाई मैले भेटेको छैन, चिनेको छैन भन्न मिल्दैन । नेपालका झापादेखि काठमाडौं, कार्यालयदेखि गल्ली-चोक जतासुकै रहेका हुन्, सबैजसोलाई मैले भेटेको छु, छलफल र विमर्शहरु गरेको छु । कतिसँग सँगै काम पनि गरेको छु । सबैको छुट्टा-छुट्टै व्यक्तित्व हुने हुनाले सबैको व्याख्यान गरेर सम्भव नहोला । भाषणा जसले जसरी गरे पनि सबैको एकमुष्ट लक्ष्य भूटानका नागरिकहरुलाई न्यायपूर्ण गरिमा र नागरिक हुनुको हक-अधिकार दिलाउने भन्नेमै लक्षित थियो । तर, कसरी भन्ने प्रश्नमा सबैको उत्तर एकखालको थिएन । विभिन्न सिद्धान्त, तर्क र अडान लिएर आफू-आफैं असल नेतृत्व भएको दाबी गर्थे । अहिले पनि लगभग त्यही अभ्यास धेरथोर जारी छ । 

↳ थप -कुनै एउटा प्रसंग याद छ — उनले भनेको कुनै कुरा, वा गरेको कुनै काम जुन तपाईंलाई अझै याद छ?

किन नहुनु, बुढाथोकीले गरगण्डाबाट थिम्पूतिर फर्किएर गरेको गर्जनमा ‘अब जिग्मेसिंङ्गे राजा जनतासामु घुँडा टेक्न धेरै दिन लाग्दैन’ भन्ने सजिलो भनाइ थियो । यद्यपि, यसको तात्पर्य विम्बात्मक मात्र थियो । उसै गरी टेकनाथ रिजालले ‘राजा जिग्मेसिंङ्गेका टाउकामा सुपारी राखेर फोर्छु’ भनेकाजस्ता अन्य नेताहरुका पनि अनेकौं भनाइहरु छन् । तर, तिनले भनेका शब्द र वाक्यमा ठ्याक्क अक्षरी अर्थ लाग्दैनन् । भाषामा रुपकीय अर्थलाग्ने विम्बहरु अनेक हुन्छन् । पढ्ने र लेख्नेहरुले भाषिक गूढपदका त्यस्ता पक्षहरुलाई राम्ररी बुझेरमात्र प्रयोग गर्नुपर्छ ।

प्र.६-  UNHCR ले शिविर भित्र राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो — नेतृत्वले यो बाधालाई कसरी व्यवस्थापन गर्थ्यो?

UNHCR ले शिविरभित्र राजनीतिक गतिविधि पूर्णप्रतिवन्ध लगाएको होइन । विश्वका अधिकांश (लगभग सबैजसो) शरणार्थी समस्याहरु मुख्यतः राजनीतिक विवादकै कारण उत्पन्न हुने कुरामा यो राष्ट्रसंघीय संस्था जानकार तथा सचेत छ । स्वयं राष्ट्रसंघ पनि विश्वराजनीतिक घटनाक्रमबाटै पैदा भएको हो । त्यसो हुनाले शिविरभित्र दलगत लफडा, समूहगत विवादहरु नहुन् भनेर दलका नेता र दलगत कार्यक्रमहरुमाथि मात्र रोक लगाएको हो । तर, एएमसीसी कुनै राजनीतिक दल थिएन । यो गैर-राजनीतिक समूह र शिविरभित्रै रहेका शरणार्थीहरुको प्रत्यक्ष सहभागितामा गठित अपील यात्राको व्यवस्थापनका लागि बनेको समन्वय परिषद थियो ।

अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका जटिल नभएर सहयोगी र सदाशयतपूर्ण थियो । उनीहरुको चाहना थियो, जसरी भए पनि भूटानी नागरिकहरु शिविरबाट फिर्ता भई भूटान जान सफल बनून् । त्यस्ता संस्थामा रहेका केही व्यक्तिविशेषमा कुनै कुटिलता थियो भने पनि संस्थागत रूपमा शरणार्थीहरूको चाहना र मागविरुद्ध कुनै लालच थियो भन्ने लाग्दैन ।

↳ थप -के कुनै गोप्य बैठक वा गतिविधिहरू हुन्थे? कसरी सन्देश पठाइन्थ्यो?

लामो समयसम्म पदयात्रालाई भारतले बाधा गरेपछि त्यहाँबाट भूटान प्रवेश गर्ने उद्देश्यमा मात्र केही गोप्य बैठकहरु भए । नत्र, कहीँ कतै गोप्य वैठकहरुको आवश्यकता नै थिएन । सन् १९९६ को अगष्ट 15 र दिसम्बर 21 मा भारत-भूटान सीमाबाट  स्वदेश प्रवेश गर्ने दुइ समूहको सुरक्षा र प्रभावकारी कार्ययोजना अनुरुप गोप्य वैठक, छद्मभेष, नाटकीय हरकतहरु प्रयोगमा ल्याइएको थियो । अगष्ट 15 फुञ्चोलिङबाट भित्र जान कुनबाटो सहज होला भनेर निर्क्यौल गर्न पदयात्रीहरुलाई सहजीकरण गर्ने दायित्व मैले नै लिएको थिएँ । त्यो दिन बिहान 6 बजेदेखि 9 बजेसम्म म 13 पटक भित्र-बाहिर गरें । अन्त्यमा 50 जना पदयात्रीहरु मूल प्रवेशद्वारबाटै सजिलै भित्र जान सफल भएका थिए । 

प्र.७-   शान्ति पदयात्रा शुरु हुनभन्दा पहिलेको रात — पदयात्रीहरूको मनोदशा कस्तो थियो? डर थियो कि उत्साह — वा दुवै?

दमन र असुरक्षाको कारण देश छोडेका सबैलाई ‘देशद्रोही’, ‘आतङ्ककारी’ अभियोग लगाइएको परिप्रेक्ष र सन् 1994 सम्म ‘राजद्रोह गर्नेलाई मृत्युदण्डको सजाय’ कायम रहेको निरंकुश राजतन्त्रात्मक भूटानमा शान्तिको सन्देश लिएर आफू खाली हात प्रवेश गर्दैगर्दा कसैलाई डर लागेन होला भन्न सकिएन । तर, उत्साह र सुकोमल मनोबलले त्यो डरलाई सहजै ओझल पारिदिएको थियो । भूटान प्रवेश गरिसकेपछि पदयात्रीहरुको चैतन्य र तार्किकताको उर्जा देखेर मैले गम खाएको थिएँ । पदयात्रीहरु फुन्छोलिङको प्रवेशद्वारभिन्दा निकै माथि बीजीटीएस (Bhutan Government Transportation Services) को प्रेक्षालयमा पुगेर थिम्पू जाने गाडीको खोजी गर्दै थिए । त्यही स्थानमा भूटान सरकारका उच्च अधिकारीहरु, प्रशासनिक कर्मचारी, पुलिस र सेनाका अफिसरहरु आए र तिमीहरु को हौ, कहाँबाट आयौ, किन आयौ, भूटान प्रवेश गर्ने अधिकार कसले दियो-जस्ता प्रश्नहरु सोध्न थाले । त्योबेला तर्कमा ती सबै अधिकारीहरुलाई हाम्रा 20 वर्षे भाइ-बहिनीहरुले नजवाफ बनाइदिएका थिए । त्यसपछि ती अधिरकारीहरुले राजालाई भेट्न आफैंले पुऱ्याइदिने भन्दै पदयात्रीहरुलाई अधीनमा लिएर थुनेका थिए ।  

↳ थप: कोही पदयात्रामा नजान पनि अड्किए? किन? के कसैले विदाइ दिँदा रोए?

मैले देखेको कुरा विदा माग्नेहरु रोएनन्, विदा दिनेहरुचाहिं खूब रोए । पदयात्रामा जान तयारहरुको मस्तिष्कमा उत्साहवर्द्धक एउटा सपना थियो जसलाई विपना बनाउन उनीहरु आतुर थिए । तर, विदा दिनेहरुका हृदयमा के थियो, मैले अनुमान मात्र लाउन सक्छु, किटेर भन्न सक्तिनँ । त्यसबाहेक अरु कोही पारिवारिक दवाब, अन्य व्यक्तिगत कारणले कोही पदयात्रामा जानबाटो रोकिए होलान् । मलाई व्यक्तिगत तहमा त्यस्तो कुनै पनि जानकारी छैन । रुनु मानिसको भावनात्मक उद्वेगको चरमोत्कर्ष हो । नेपालबाट त्यति लामो बाटो पैदल हिँडेर भूटान जाँदा बाटोमा हुने सुरक्षा चुनौती, खानाको अभाव, स्वास्थ्य, भूटान प्रवेश गर्ने बखतको सम्भावित खतरा आदि कुरालाई लिएर अब फेरि परिवारसित भेट होला कि नहोला भन्ने आशंकाले कोही चिन्तित भएर रोए होलान्, कोही स्वदेश प्रवेशको रोमाञ्चकताको खुशीमा पनि रोए होलान्…!

प्र.८-  भारतीय सीमामा — प्रहरीले रोक्दाको त्यो क्षण कस्तो थियो? के देख्नुभयो, के सुन्नुभयो?

तनावग्रस्त थियो । कुनै भीषण युद्धमा तैनाथ सेनाजस्ता भारतीय प्रहरीहरु भोक-निद्रा बिग्रेका रोगीजस्ता भई भारत-नेपाल अन्तरराष्ट्रिय सीमाको मेची पुलमा बाटो छेकेर बसेका थिए । पैदलयात्रीहरु पनि दमकबाट हिँडेको तीन दिनमा काँचो निद्रा र अल्पखाद्यमा चाउरिएका अनुहार लिएर मेची पुलमा पुगेका थिए । युद्ध गर्न तत्पर भएझैं विचरा सिपाहीहरु के गरुन्, उनीहरुलाई आफ्ना सरकारको निर्णय लागू गराउनु थियो, पैदलयात्रीहरुलाई जसरी पनि बाधा पन्साएर बाटो लिनु थियो । एएमसीसीका पदयात्रीमात्र थिएनन्, भारतीय नागरिक समाजका अगुवा र राजनीतिकर्मीहरु पनि एएमसीसीको समर्थनमा नेपालतर्फको सिमानामा लामबद्ध थिए । भारतीय सीमासुरक्षा बलका सिपाहीहरु कुनै बालीमा वन्यजन्तु तर्काउन राखिएको पुतलाझैं देखिन्थे । सिपाही दलका नेताको भनाइमा उनीहरुलाई सरकारले जसरी पनि भूटान जान हिँडेका पदयात्री र तिनका समर्थकहरुलाई सीमा पार गर्नबाट रोक्नुपर्ने आदेश दिएको थियो । पुलको बीचमा बाँसको छेकाबार हालिएको छ । बारभन्दा भारतपट्टि सिपाहीहरु विष्फोटक हतियारले सुसज्जित छन्, मानौं उनीहरु कुनै आतङ्कवादी समूहसित भिड्न तयार रहेका हुन् ! नेपालपट्टि 150 पैदलयात्री, उनीहरुका भारतीय समर्थक, नेपालका समर्थक, सयौं राष्ट्रिय-अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरु, हजारौं रमितेहरु; त्यो दृश्यले साँच्चै भारतीय सिपाहीहरुलाई त्रस्त बनाएको थियो ।     

↳ थप: कति जना थिए? कसले नेतृत्व गरिरहेको थियो अगाडि? पहिलो गिरफ्तार को भयो?

नेतृत्व गर्ने अगाडि बढ्ने लगभग सबैको तत्परता थियो । कसैले कसैको बाटो हेरेको थिएन । तर, औपचारिकतामा मैले अहिले सम्झिने नाम भनेको जोगेन गजमेर, हरि बंगाले, इन्द्रावती राई, कमला क्षेत्री र केही नवयुवा बालाहरु अगाडि थिए । पहिलो गिरफ्तारी उनीहरुले नै दिए ।

प्र.९-  बाबुराम स्याङदेनको जेलमा मृत्युको खबर कसरी आयो? शिविरमा त्यो खबरको प्रतिक्रिया कस्तो थियो?

बाबुराम स्याङ्देनको मृत्युको खबर मसम्म आएको होइन । मेरै सामु उनको मृत्यु भएको हो । भन्नाले म बसेकै जेलभित्र ! उनको मृत्युको खबरले शिविरमा कस्तो प्रतिक्रिया आयो भन्ने ज्ञान मलाई भएन । त्यो कुरा बाहिर रहेका साथीहरुलाई जानकारी होला ।

↳ थप: उनलाई व्यक्तिगत रूपमा चिन्नुहुन्थ्यो? उनको परिवार थियो? के भयो उनीहरूलाई?

मैले बाबुराम स्याङ्देनलाई पदयात्रामा सामेल भएर भारतको जेल नपरुञ्जेल चिनेको वा भेटेको थिइनँ । तर, सँगै बस्ता उनका बारेमा कुराहरु बुझेको थिएँ । उनको परिवार थियो, श्रीमती र छोराहरु थिए । उनी पथरीको शनिश्चरे शिविरमा दर्ता भएका भूटानी शरणार्थी थिए । उनीहरुलाई के भयो, कसो भयो भन्ने कुराको मलाई कुनै जानकारी रहेन । त्यो सब बाहिर रहेका साथीहरुले बुझ्ने कुरा भयो । 

प्र.१०-  केहीले भुटान प्रवेश गर्न सफल भए — र त्यहाँ पनि गिरफ्तार भए । त्यो दृश्य देख्नुभएको थियो? वा पछि सुन्नुभयो?

यो प्रश्नको जवाफ माथि नै कतिपय प्रसंगहरुमा समेटिएको जस्तो लाग्यो ।

प्र.११-  त्यस समयमा तपाईंले यो आन्दोलनबारे रिपोर्ट गर्नुभयो? कुन माध्यममा? के कुराहरू लेख्न सकिएन — र किन?

केही फुट्कर कविता र फाटफुट कथाहरु त पहिलेदेखि नै लेख्थें । तर, त्यो समयमा मैले रिपोर्टिङ गरिनँ । म स्वयं तेस्रो समूहका पदयात्रीहरुको अगुवाइ गरेर कलकत्ताको बह्रमपुर जेलमा पुगेको थिएँ । मैले पूर्णकालीन रूपमा पढ्न र सञ्चारमाध्यमको काम गर्न थालेको चाहिं सन् पदयात्राबाट नेपाल फर्किएपछिको कुरा हो । अर्थात्, सन् १९९७ भन्दा पछि ।

प्र.१२-  AMCC आन्दोलन किन सफल भएन — भुटानको अडान, भारतको भूमिका, वा आन्दोलनकै सीमाहरू?

यो अभियान सतहमा असफल देखियो । यी तपाइँले माथि राख्नुभएका सबै कारणहरुलाई समावेश गर्न सकिन्छ । तर, म व्यक्तिगत हिसाबले त्यो अभियान सफल भएको मान्दछु । किनकि अभियानको मूल लक्ष्य कुनै सुरतले भूटान प्रवेश गरेर ‘शरणार्थी समस्या समाधान गरिनेछ’ भनेर राजाले भन्दै गरेको कुरालाई विश्वसामु उजागर गर्नु’थ्यो ! त्यो काम एएमसीसीले गरेकै हो । भूटानको मात्र नभई त्यो अभियानले भारत सरकारको अडानलाई पनि विश्वसामु खुलासा गरिदिएको थियो । यद्यपि, त्यो नतिजा आएपछि अझ बलियो गरी एकताबद्ध रूपमा भूटानभित्र न्यायपूर्ण लोकतन्त्रस्थापनाका लागि निष्ठापूर्वक जनचेतना र आन्दोलन परिचालन गरिनु जरुरी थियो । तर, त्यो काम निर्वासितहरुकै बेमेल र अनेकताले सम्भव हुन दिएन । 

↳ थप: के त्यसबेला कुनै अवसर गुम्यो? कुन निर्णय फरक भएको भए परिणाम फरक हुन्थ्यो?

अवसर गुमेकै हो । अझ बल दिएर धेरै शरणार्थीहरु निरन्तर रूपमा भूटान प्रवेश गरिरहने र यसबारेमा भारतमा पनि न्यायिक तथा कानुनी लडाइँ जारी राख्नु हो भने ठूलै सफलता मिल्ने थियो । म यो कुरा किन भनिरहेको छु भने धेरै दिनको थुनापछि दार्जीलिङ जिल्ला न्यायालयले भूटानीहरुलाई बिना रोकटोक हिँड्डुल गर्न पाउने आदेश सुनाएको थियो । यही आदेश अनुसार पछिल्ला पदयात्री समूहहरु कुनै बाधाबिना जल्पाइगढीसम्म पुग्न सकेका थिए । पञ्चनदीमा शिविर स्थापना गर्न पाइएको थियो । तर, दार्जीलिङ जिल्लामा लागू भएको कानून भारतभरि किन लागू हुँदैन भनेर सर्वोच्च न्यायालयमा किन सोधिएन ? किनभने निर्वासनमा रहेका अधिकांश नेता र दलहरु, कानूनसम्बन्धी अध्ययन गरिरहेका बुद्धिजीवी र दलपरस्त व्यक्तिविशेषहरु नै एएमसीसीको अभियानका विरुद्धमा थिए । एएमसीसीले सफलता प्राप्त गरेको उनीहरुलाई मन नपर्ने कुरा थियो । यतिसम्म कि, भूटानी शरणार्थी शिविरबाट पैदलयात्रामा सहभागीहरुलाई पक्राउ गरी शिविरतिरै फर्काइदिन अनुरोध गर्दै भारत सरकारसित निवेदन गर्नेहरुसमेत निस्केका थिए जो शरणार्थी समूहकै ‘नेता’ भनिने दलपरस्त व्यक्तिहरु थिए !  

प्र.१३-  आज डायस्पोरामा बस्दा — अमेरिका वा अन्य देशमा — तपाईं AMCC आन्दोलनलाई कसरी हेर्नुहुन्छ? विफलता कि नैतिक विजय? तपाईंका सन्तान वा अन्य भूटानीलाई यो कथा सुनाउनुहुन्छ? कसरी? उनीहरूको प्रतिक्रिया के हुन्छ?

यसबारेमा माथि प्रसंगहरु आएका छन् । एउटै वाक्य भन्छु; देशबिना नागरिक हक, कुनै राजनीति वा न्यायपूर्ण संघर्षको तुक रहँदैन । त्यसो हुनाले सकेसम्म देशबाट निर्वासित हुनै हुन्न, भईहालेमा सबै कुरा छोडेर देशमा पुनर्स्थापित हुनुपर्छ । त्यसपछिमात्र राजनीति र न्यायका अन्य अभियानहरु सञ्चालन गर्न सकिन्छ । त्यसअघि कहिल्यै बिसाउन हुँदैन । मैले सुनाउने कथा यति नै हो ।

प्र.१४-  यदि AMCC आन्दोलनको एउटा मात्र सन्देश आउने पुस्तालाई दिनु छ भने — त्यो के हो?

बरु ज्यान फाल्नु तर, देशबिनाको मान्छे नहुनू ! ज्यान फाल्नुको तात्पर्य मात्मदाह गर्नु भनेको होइन । विद्रोहको आयोजना गर्ने बलियो नेतृत्वमार्फत स्वदेशमा स्वदेशी नागरिकहरुको प्रतिष्ठारक्षा र अधिकारका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न अग्रसर रहनु भनेको । त्यस्तो परिस्थितिमा ज्यान जाने सम्भावना भए पनि पछि नहट्नू भनेको हो । हाम्रो पुस्ताले सजिलो खोज्दा खोज्दै पलायन हुनुपऱ्यो । न्याय र सुरक्षा खोज्दाखोज्दै सातसमुद्र पार, धरतीको पल्लो छेउ पुगेर बाँच्न पऱ्यो, त्यो पनि अशान्तिको घाउ हृदयमा बोकेर ! 

‘अन्तिम प्रश्नले एउटा अमर उद्धरण जन्माउँछ’ भनेझैं त्यस आन्दोलनमा कुनै एउटा साधारण मान्छेको अनुहार अझै तपाइँको आँखामा छ — जसको नाम इतिहासले लिएन, तर जसको बलिदान तपाईंले देख्नुभयो?

एकजना हैन, मलाई लगभग मसित जेलमा रहेका सबैजनाको याद आउँछ । तर, चारजना विशेष मानिसहरु म जीवनको अन्तिम घडीमा पनि बिर्सन्न शायद । एकजना गंगाराम तिम्सिना, अर्को एकजना खरेल, एकजना बुढाथोकी थरका (नाम भुलें) र जीवन दर्जी । खरेल र बुढाथोकीको कथा बाबुराम स्याङ्देनको मृत्यु (हत्या) सित जोडिएको छ ।

स्वाधिन भारतका राष्ट्रपिता महात्मा गान्धीसमेतलाई बन्दी बनाइएको बह्रमपुर जेलमा सदियौंदेखि फाँसीको सजाय पाएका मानिसहरुलाई झुण्डाउने स्थान थियो । त्यस वरिपरि ठूलो चौर थियो । तर, फाँसीको सजाय दिन छोडिएको पनि धेरै दशक बितिसकेकाले त्यो स्थान र चौर जर्जर वन्जर-झोडीमा परिणत भइसकेका थिए । मैले जेलका सुपरीटेन्डेन्टलाई एउटा अनुरोध पत्र लेखेर सो स्थानलाई बन्दीहरुको लागि खेल मैदान बनाउन निवेदन गरें । केही साताभित्र फाँड्फुँड पारेर त्यहाँ फुटबल मैदान बनाइयो । केही भागमा हाम्रा पदयात्री साथीहरुले टमाटर, खुर्सानी, धनियाँ खेती गर्ने बारी पनि बनाए ।

फुटबल खेल मैदान बनेपछि खेल्न पाएर हाम्रा भाइहरु (बहिनीहरुलाई अनुमति थिएन) खुशी पनि भए । यस्तैमा एकदिन जेलप्रशासनकै अगुवाइमा भूटानी बन्दी र अन्य बन्दीका बीचमा पुरस्कारसहितको फुटबल प्रतियोगिता आयोजना गरियो । हाम्राहरुले उत्कृष्ट खेल प्रदर्शन गरे र प्रतियोगिता पनि जिते । तर, बंगलादेश र अन्य विदेशी तथा स्वदेशी डकैती काण्डका डनहरुसमेत रहेको त्यो जेलका खेलाडीहरुलाई भूटानी बन्दीहरुले खेलेको जितेको सहनै नसक्ने घटना भयो । खेल सकिएको केही घण्टामात्र बितेको थियो, केही बंगलादेशी बन्दी खेलाडीहरुले हाम्रा खेलाडीहरुलाई छुरी प्रहार गरेछन् । म त्यो घटना भएको कोठरीभन्दा केही दुरीमा रहन्थें । एउटा पुलिसको हल्दार दौडिँदै आएर बन्दीहरुमा झगडा र मारपिट मच्चिएको खबर सुनाए । म उनका पछि पछि दौडिएँ ।

हामी पुग्दा प्रशासनले स्थिति नियन्त्रणमा लिन भनेर भीषण लाठी चार्ज गर्नथाल्यो । कतिजनाले कति डण्ठा भेटे गन्ने र हिसाब गरेर साध्यन नै भएन । मलाई पनि केही बंगाली बन्दीहरुले लुकाएर बँचाए । घटना साम्य भएपछि आपसी कुराकानी र जाँचबुझ गर्दै जाँदा फुटबल खेलमा सहभागी नै नरहेका ती खरेल र बुढाथोकीलाई सिकिस्त हुने गरी पिटिएछ । खरेल बेहोश थिए भने बुढाथोकीको उटा खुट्टा पनि भाँचिएको थियो । अर्कातिर बाबुराम स्याङदेनको इन्तुचिन्तु थिएन । हतार हतार तिनजनालाई जेलभित्रैको अपस्ताल पुऱ्याउन भनेपछि प्रशासनले लग्यो । त्यसको लगभग पाँचदिनपछि स्याङदेनको चोला उठ्यो । खरेल र बुढाथोकी बाँचेर फर्किए ।

स्याङ्देनको हत्या भएको ठानेर हामीले जेलभित्र मौन विद्रोह शुरु गऱ्यौं । जून महिनाको १६ तारिखदेखि ३६ जनाले रिले अन्शन शुरु गरियो । क्रमशः जून २१ देखि ३९ जना सहभागी भएर अनिश्चितकालीन आमरण अनशन शुरु गरियो । यसरी १५ दिनको आमरण अनशनपछि ०५ जुलाई १९९६ को दिन भारतीय जेलमा रहेका सबै पदयात्रीहरु बिनाशर्त रिहा भए । 

अनशन चलिरहेको त्यो बेला उच्च मनोबलमा साथ दिने खुदुनाबारीका देउमान गुरुङ, बीबी गुरुङ (मामी), बलबहादुर क्षेत्री, निरबहादुर क्षेत्री, पथरी शनिश्चरेका खड्क गजमेर, गोल्धापका भक्त दास, ह्लाख्पा तामाङ र वृद्ध उमेरका होमनाथ कोइराला, चन्द्रबहादुर वाग्लेजस्ता आदर्श पुरुषहरु मेरा लागि कहिल्यै भुल्न नसक्ने नाम हुन् । तर, तीभन्दा पनि धेरै गंगाराम तिम्सिना र जीवन दर्जीको योगदान मेरा लागि स्मरणीय छन् ।

कलिलो उमेरका किशोरदेखि वृद्धहरुसमेत सामेल अन्शनका सहभागीहरुको रेखदेख, सरसफाइ र आपत्कालीन स्थितिका लागि २४ घण्टा नसुतेर, भोकभोकै रहेर, “हाम्रा यत्रा साथीहरु भोकै रहँदा हुन्छ भने हामी पनि भोकै बसे के होला र” भन्दै उनीहरुले अन्शनकारीलाई नुहाइ-धुवाइदेखि आवश्यक पर्दा उनीहरुका कपडा धुने, झाडा-वान्ता लागेमा सरसफाइसमेत गरिदिएर त्यस अभियानप्रति अमूल्य योगदान गरेका थिए । हुन त सबैको योगदान अमूल्य नै हो । तर, दिमागभित्र घुसेर रहेका मानिसहरु भएकाले मैले अहिलेसम्म सम्झिएको हुँ । गङ्गाराम केही वर्षअघि बिते । जीवन दर्जी अमेरिकाको मेरील्याण्ड राज्यतिर छन् रे सुनेको छु ।

सबै पैदलयात्रीहरुमा हाम्रो सम्मान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here