बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न

0
34


दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव

अर्जुन प्रधान

भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका लागि समर्पित ‘द लिटेरारी सोसाइटी अफ भुटान’को पाँचौँ वार्षिक साहित्यिक उत्सव शनिबार बेलडाँगीस्थित LSB पुस्तकालयमा भव्य रूपमा सम्पन्न भएको छ। देशप्रेमी, कला–प्रेमी र साहित्य अनुरागीहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न भएको हो। यस उत्सवमा संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समेटिएका थिए।

कार्यक्रमको विधिवत् उद्घाटन प्रमुख अतिथि भुटानी नेता तथा लेखक बालाराम पौडेल, विशेष अतिथि साहित्यकार सुवित्रा वाङ्देल चेली र सभाध्यक्ष तिलक राईले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन सत्रको सुरुवातमा संस्थाका सचिव बीरेन्द्र मगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक स्वागत गर्नुभयो।

उत्सवमा साहित्य, कला, मानव अधिकार र समाजसेवाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविर सचिव सञ्चहाङ सुब्बा, हिमाली रोधी सांस्कृतिक परिवारका अध्यक्ष कुमार गुरुङ, SCAP का अध्यक्ष नरबहादुर गुरुङ र सचिव नरेश राई विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

यसैगरी मानव अधिकार अभियन्ता डमला प्रसाद अधिकारी, गायकहरू बलराम मगर र जंगबहादुर दर्जी, समाजसेवी तथा शिक्षक जेबी भट्टराई, रोहित महत र कविराज मगरले पनि अतिथिका रूपमा कार्यक्रमको शोभा बढाउनुभएको थियो।

यस उत्सवमा दमक, धरमपुर र कमल गाउँपालिका लगायतका क्षेत्रबाट साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दमकबाट साहित्यकार जीवन वेगा, रंगकर्मी तथा साहित्यकार चोमु शेर्पा, डोल्मा शेर्पा, करण कुमार र देबु चापागाई सहभागी हुनुहुन्थ्यो। धरमपुरबाट मुकुन्द लामिछाने र अनिता लामिछाने, तथा कमल गाउँपालिकाबाट राजन चापागाई लगायत अनेक स्रष्टाहरूको उपस्थिति रहेको थियो।

यसका अतिरिक्त याम थुलुङ, शरण कुमार र सर्मिला गुरुङ जस्ता साहित्यकारहरूले पनि अतिथिका रूपमा आसन ग्रहण गर्नुभयो। शिविरभित्र र बाहिरका यति ठूलो संख्यामा स्रष्टाहरूको एकत्रित उपस्थितिले यस उत्सवलाई झापा जिल्लाकै एक महत्त्वपूर्ण साहित्यिक आयोजनाको रूपमा स्थापित गरेको छ।

“यो उत्सव केवल साहित्यिक जमघट मात्र नभई भुटानी समुदायभित्र रहेका प्रतिभाहरूलाई उजागर गर्ने र कला अनुरागीहरूबीच आपसी समन्वय कायम गर्ने एउटा महत्त्वपूर्ण मञ्च बनेको छ,” साहित्यकार दिल भूटानीले बताउनुभयो।

कार्यक्रममा सार्वजनिक गरिएको ‘दियालो’को पाँचौँ अङ्कमा कथा, कविता, गजल र संस्मरण गरी विविध विधाका रचनाहरू समावेश छन्। तिलक राई प्रधान सम्पादक रहेको यस पत्रिकामा दिल भूटानी, अविलाल राई, थिरु घिमिरे ‘विकल्प’, पवित्र सुब्बा, सर्मिला गुरुङ, पुलमाया गुरुङ, वैदिक अत्री, अशोक शर्मा, तिला लेकाली लगायत अनेक रचनाकारका कृतिहरू संकलित छन्।

यस पत्रिकाले भुटानी नेपालीभाषी समुदायको विस्थापन, पहिचान, मातृभूमिको तड्पन र प्रवासी जीवनका विविध आयामहरूलाई साहित्यको भाषामा जीवन्त रूपमा प्रस्तुत गरेको छ। सन् २०२१ मा स्थापना भएको ‘द लिटेरारी सोसाइटी अफ भुटान’ले हरेक वर्ष यस पत्रिकाको नयाँ अङ्क प्रकाशन गर्दै आएको छ।

कार्यक्रममा विशेष अतिथि सुवित्रा वाङ्देल चेलीले शिविरकालीन साहित्यिक अभियानले देश र माटोको आवाज जोगाएको उल्लेख गर्दै सरकारको नीतिगत प्रयासप्रति समाधानको आशा व्यक्त गर्नुभयो।

उपस्थित वक्ताहरूले यस प्रकारका साहित्यिक गतिविधिले भाषा र संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए। बेलडाँगी शिविरजस्तो परिवेशमा साहित्यिक चेतना जागरुक राख्ने प्रयासलाई अतिथिहरूले सराहना गर्दै भविष्यमा थप सक्रियताको अपेक्षा व्यक्त गरे।

साहित्यिक रचना वाचनमा सर्मिला गुरुङ, देबु चापागाई, वैदिक अत्री, मुकुन्द लामिछाने र हर्कराज राईले कविता, कथा र गजल प्रस्तुत गर्नुभयो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति अन्तर्गत विभिन्न गायक तथा कलाकारहरूले गीत प्रस्तुत गरेका थिए। साहित्यकार तथा गायिका चोमु शेर्पा, गायक जंगबहादुर दर्जी, गायक दिवास गुरुङ र उहाँका साथीहरू दिपशिखा र बुद्धीमाया राई, गायक बलराम मगर तथा गायक विरेन विश्वाले प्रस्तुति दिनुभएको थियो।

रचना वाचनमा सहभागी स्रष्टाहरूले आ–आफ्ना कविता, कथा र गजल प्रस्तुत गरे, जसले उपस्थित श्रोताहरूलाई भावविभोर बनायो। कार्यक्रम सञ्चालन साहित्यकार अविलाल राईले गर्नुभएको थियो।

प्रमुख अतिथि भुटानी नेता तथा लेखक बालाराम पौडेलले शिविरभित्रको उपस्थिति देशको अनुभूति जस्तै भएको भन्दै भुटान सरकारले गरेको जातीय दमनका कारण शरणार्थी अवस्था सिर्जना भएको बताउनुभयो। उहाँले ऐतिहासिक दमनदेखि आन्दोलनको पृष्ठभूमि स्मरण गर्दै नेपाल सरकारप्रति आशा र विश्वास व्यक्त गर्नुभयो। साथै, दुई शिविर एकजुट भई साझा आवाज उठाउनुपर्ने र अस्तित्व संरक्षण नै जीवनको सार्थकता भएको उल्लेख गर्नुभयो।

बेलडाँगी शिविरमा सन् २०२३ देखि सञ्चालित LSB पुस्तकालय यस उत्सवको स्थायी केन्द्रभूमि बनेको छ। स्थानीय र बाहिरबाट प्राप्त पुस्तकहरूले सुसज्जित यो पुस्तकालयले शिविरका अध्ययनशील पाठकवर्गलाई साहित्यिक चिन्तनको अवसर प्रदान गर्दै आएको छ। संस्थाले यस पुस्तकालयलाई थप समृद्ध बनाउन पाठकवर्गसँग आफ्ना कृति र पुस्तकहरू प्रदान गर्न अपील गरेको संस्थाका उपाध्यक्ष दिल भूटानीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै शिविर सचिव सञ्चहाङ सुब्बाले राजनीतिक कारणले भुटानी शरणार्थीहरूलाई दोषारोपण गरिँदै आएको र नक्कली शरणार्थी प्रकरणले वास्तविक पीडितहरूको पहिचान ओझेलमा परेको भन्दै नेपाल सरकारप्रति प्रश्न उठाउनुभयो।

सभाध्यक्ष तिलक राईले छैटौँ यात्राको सुरुआतलाई उल्लेख गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्रज्ञा सुवित्रा वाङ्देल चेली तथा अन्य स्रष्टाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले द लिटरेरी सोसाइटीको उद्देश्य साहित्यमार्फत देशसँगको सम्बन्धलाई सुदृढ गर्नु र सिर्जनात्मक ज्ञानलाई पुस्तान्तरण गर्नु रहेको बताउनुभयो। साथै, कार्यक्रम समापनका क्रममा भुटानी नेता तथा लेखकका कृतिहरू र ‘दियालो’ पत्रिकाको चर्चा गर्दै साहित्यिक योगदानको महत्व उजागर गर्नुभयो।

त्यसैगरी आयोजकले ‘दियालो’ पत्रिका नेपाली भाषा, साहित्य र सिर्जनशीलताको प्रवर्द्धनका लागि महत्वपूर्ण पहल भएको उल्लेख गरेका छन्। उक्त पत्रिकाभित्र प्रा. डा. गोविन्दराज भट्टराई, असम चेजपुरका वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्रीको स्मरण उल्लेख गरिएको छ।

@अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here