@अर्जुन प्रधान
नेपाली फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङमा परेको छ। गत शुक्रबार (वैशाख ४ गते) सार्वजनिक ट्रेलरले हालसम्म साढे तीन लाखभन्दा बढी भ्युज बटुल्दै ट्रेलर मुभी चार्टतर्फ तेस्रो स्थानमा उक्लिएको छ।
ट्रेलरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ। विशेषगरी बादी समुदायकी महिलाको भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको प्रशंसा भइरहेको छ। यससँगै रवीन्द्रसिंह बानियाँ, बाल कलाकार समाइरा थापा तथा डेब्यु कलाकारद्वय विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनयलाई पनि दर्शकले मन पराएका छन्।
आमाछोरीको कथावस्तुमा आधारित फिल्मले बादी समुदायमा प्रचलित ‘नाथिया’ जस्तो कुप्रथालाई उठाएको छ। ट्रेलरमा छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्। यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको समूहले यसपटक निर्देशनको जिम्मेवारी यम थापालाई दिएको हो।
निर्देशक थापाले फिल्म आमाछोरीको सम्बन्ध र सामाजिक यथार्थमा आधारित रहेको बताएका छन्। फिल्मको पटकथा तथा संवाद थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्मका ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ शीर्षकका गीतहरू सार्वजनिक भइसकेका छन्। ती गीतहरू युट्युबसँगै टिकटक, रील्स र सर्ट भिडियो प्लेटफर्ममा लोकप्रिय भइरहेका छन्।
बर्दियाको राजापुरमा छायांकन गरिएको ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।
https://youtu.be/Kaxlqub20yY?si=jKf77pRa7un_YYbe












