हामी आफ्नो जरा आफैं काट्दैछौँ कि?
नेपालको भूटानी शरणार्थी शिविरभित्र एउटा मन्दिर छ।
कुनै समय आरतीले गुन्जिने, शंखध्वनीले बिहान जगाउने, टीकाको रातोपनले संस्कृति बचाइराख्ने त्यो मन्दिर आज भग्नावशेष बनेर उभिएको छ। भत्किएको भित्ताभित्र केवल इँटा र ढुंगा मात्र छैनन्, त्यहाँ त हाम्रो उदासीनता गाडिएको छ। आफ्नै अनुहार र पसीना गाडीएको छ।
शिविर वरिपरि हेर्नुस्। अन्य धर्मावलम्बीहरूका भवनहरू रंगिएका छन्, व्यवस्थित छन्, विस्तार भइरहेका छन्।
तर
हिन्दुहरूको ठूलो संख्या भएको ठाउँकै मन्दिर किन टुक्रिँदैछ?
किन त्यहाँ धूलो छ, मौनता छ, उपेक्षा छ?
हिन्दु धर्मको प्रचार गर्छौँ भन्नेहरू कहाँ छन्?
संस्कृति जोगाउने जिम्मा लिएका संस्था कहाँ छन्?
“हामी धर्म र परम्पराका रक्षक हौँ” भन्नेहरू कुन दुलामा लुकेका छन्?
हामी सामाजिक सञ्जालमा धर्मको बहस गर्छौँ।
राजनीतिमा धर्मको नारा लगाउँछौँ। अरूले हाम्रो धर्ममाथि टिप्पणी गर्दा आक्रोश पोख्छौँ। तर आफ्नै मन्दिरको छानो चुहिँदा हामी मौन बस्छौँ।
यो कस्तो हिन्दुत्व हो?
हामीमध्ये धेरैजना नेपाल पुग्छौँ। त्यो भूमि जसलाई हामी “देवभूमि”, “पुण्यभूमि” भन्छौँ।
तर कति जनाले त्यहाँका धार्मिक स्थल घुम्छौँ?
कति जनाले आफ्ना पुर्खाले टेकेको माटोमा टाउको झुकाउँछौँ?
सायद ५% ले पनि गर्दैनौँ। हाम्रो भावी पुस्ताले हामीबाट के सिक्दैछन्?
हामी रेष्टुरेन्ट खोज्छौँ, बजार खोज्छौँ, सेल्फी खिच्छौँ, भिडियो बनाउँछौँ। तर आफ्नै धर्मको इतिहास खोज्दैनौँ। आफ्नै संस्कृतिको धरोहर हेर्न समय निकाल्दैनौँ।
हामीले पैसा कहाँ कहाँ पठाएनौँ?
अरूको अभियानमा चन्दा दियौँ।
अरूका भवन उठाउन सहयोग गर्यौँ।
तर आफ्नै मन्दिरको एउटा इँटा जोड्न सकिएन।
अनि प्रश्न उठ्छ
हामीलाई कमी केको हो?
………….?????
धर्मको?
एकताको?
चेतनाको?
कि आत्मसम्मानकै?
आज हामीले मन्दिर बिर्सियौँ। भोलि सन्तानले संस्कृति बिर्सिनेछन्। पर्सि हाम्रो इतिहास नै हराउनेछ।
मन्दिर केवल पूजा गर्ने ठाउँ होइन।
त्यो हाम्रो भाषा, संस्कार, चाडपर्व, गीत, कथा, स्मृति र अस्तित्वको केन्द्र हो।
जब मन्दिर भत्किन्छ, केवल भवन भत्किँदैन, समुदायको आत्मा कमजोर हुन्छ।
सबैभन्दा दुखद कुरा के छ भने,
हामी आफैं आफ्नो धरातल मेटाउँदैछौँ।
आफ्नो ज़रा आफैं काट्दैछौँ।
अनि एकदिन जब हाम्रो पुस्ताले सोध्नेछ
“हामी को हौँ?” सायद हामीसँग उत्तर हुनेछैन त्यसबेला।
यो लेख कसैको धर्मविरुद्ध होइन।
यो आफ्नै आत्मालाई सोधिएको प्रश्न हो।
यदि हामी साँच्चै हिन्दु हौँ भने, हाम्रो धर्म केवल निधारको टीका र फेसबुकको स्टाटसमै सीमित हुनु हुँदैन।
हामीले मन्दिर बचाउनुपर्छ।
संस्कृति जोगाउनुपर्छ।
नत्र
इतिहासले एकदिन पक्का लेख्नेछ,
“हिन्दुहरूले आफ्नो अस्तित्व आफैं बिर्सिए।”
पातलो अन्तरे











