डेन्भरमा अनेसासको साहित्यिक उत्सव: गदालका कृतिको विमोचन र दिनेश अधिकारी सम्मानित

0
16

@ग्लोवलपोस्ट/अर्जुन प्रधान

डेन्भर, कोलोराडो | अप्रिल १२, २०२६

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा समर्पित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा डेन्भरमा एक गरिमामय साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ साहित्यकार डा. ज्ञानेन्द्र गदालद्वारा रचित दुई महत्वपूर्ण कृतिहरू—बालगीत संग्रह “भोलिको आश उज्यालो प्रकाश” र उपन्यास “कुमुदिनी”—को भव्य रूपमा विमोचन गरिएको छ।

कार्यक्रममा विशेष आकर्षणका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कवि तथा गीतकार दिनेश अधिकारीलाई सम्मान गरिएको थियो। उहाँ अन्तर्राष्ट्रिय गीतकार सङ्घको (INLA) द्वारा प्रदान गरिने “दोश्रो INLA – ज्ञानेन्द्र गदाल गीत सम्मान” ग्रहण गर्ने सिलसिलामा अमेरिका आउनुभएको अवसरमा अनेसास कोलोराडोले विशेष सम्मान अर्पण गरेको हो।

अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रम दुई चरणमा विभाजित थियो।

प्रथम चरण: कृति विमोचन
कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि दिनेश अधिकारी, सभापति किरण अधिकारी तथा लेखकका सुपुत्रहरू सरगम गदाल र सरल गदालको संयुक्त उपस्थितिमा कृतिहरूको औपचारिक लोकार्पण गरिएको थियो।
बालगीत संग्रह “भोलिको आश उज्यालो प्रकाश” माथि साहित्यकार प्रमिला शर्माले सूक्ष्म समीक्षा प्रस्तुत गर्नुभयो भने उपन्यास “कुमुदिनी” बारे साहित्यकार तथा कलाकार कृष्ण मुरारी ढुंगेलले गहन समालोचना गर्नुभयो। समीक्षकहरूले दुवै कृतिको साहित्यिक महत्व उजागर गर्दै सर्जकलाई बधाई ज्ञापन गरे। यसै क्रममा डा. गदालले मन्तव्य राख्दै समीक्षकहरू तथा आयोजक संस्थाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

दोस्रो चरण: सम्मान तथा काव्य वाचन प्रस्तुति
कार्यक्रमको दोस्रो चरणमा कवि तथा गीतकार दिनेश अधिकारीलाई औपचारिक सम्मान प्रदान गरिएको थियो। उहाँको संक्षिप्त परिचय गजलकार मिलन कोइरालाले प्रस्तुत गर्नुभएको थियो भने अनेसास कोलोराडोका अध्यक्ष किरण अधिकारी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) को न्यास परिषद् सभापति पदम विश्वकर्माले संयुक्त रूपमा सम्मान अर्पण गर्नुभयो।

सम्मान ग्रहणपछि कवि अधिकारीले आफ्ना आधा दर्जनभन्दा बढी सिर्जनाहरू सस्वर वाचन गर्दै उपस्थित दर्शक तथा स्रोताहरूलाई मन्त्रमुग्ध पार्नुभयो। त्यसपश्चात् आयोजित अन्तरक्रियात्मक सत्रमा उहाँले आफ्ना साहित्यिक अनुभव र सिर्जनात्मक यात्राका विविध आयामहरू साझा गर्नुभयो।

कार्यक्रम नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here