नेपाली सांस्कृतिक उत्सव ‘DT FEST 2026’ को घोषणा

0
12

अर्जुन प्रधान

एशबर्न, भर्जिनिया 

डिसी, म्यारिल्याण्ड र भर्जिनिया (DMV) क्षेत्रकै सबैभन्दा ठूलो नेपाली सांस्कृतिक उत्सवका रूपमा परिचित दशैँ–तिहार महोत्सव ‘DT FEST 2026’ को आधिकारिक घोषणा गरिएको छ।

नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने महोत्सव आगामी अक्टोबर ११, २०२६ (आइतबार) मा भर्जिनियाको एशबर्नस्थित वन लाउडनको खुला मैदानमा आयोजना हुने मिडिया संयोजक प्रविन भट्टराईले जानकारी दिएका छन्। आयोजक समितिका अनुसार महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। यसैसँगै आजदेखि ‘अर्ली बर्ड’ टिकट बिक्री खुला गरिएको छ। सीमित अवधिका लागि उपलब्ध टिकटको मूल्य १० अमेरिकी डलर निर्धारण गरिएको छ, जसले समुदायका सबै वर्गलाई सहज पहुँच दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यस वर्षको ‘DT FEST’ लाई पारिवारिक तथा बहुपुस्ता केन्द्रित कार्यक्रमका रूपमा विकास गरिएको जनाइएको छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहलाई समेट्ने गरी विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिनेछन्। महोत्सवका प्रमुख आकर्षणहरूमा स्थानीय व्यवसायीद्वारा तयार पारिने नेपाली परिकारका फूड स्टल, हस्तकला तथा परम्परागत सामग्रीहरूको बजार, साथै नेपालको मौलिक संस्कृति झल्काउने नृत्य तथा सांगीतिक प्रस्तुति रहनेछन्।

साथै, स्थानीय तथा आमन्त्रित कलाकारहरूको लाइभ प्रस्तुति पनि विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। शरद ऋतुको अवसर पारेर आयोजना हुन लागेको यस महोत्सवले DMV क्षेत्रका नेपाली समुदायबीच एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। अर्ली बर्ड टिकट आधिकारिक अनलाइन पोर्टलमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

https://dtfest.com/?fbclid=IwY2xjawR_JG1leHRuA2FlbQIxMABicmlkETFKTEJvRWtLWGJ5ZVY4MFkyc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHtV4MKn4aibbGfK6fcAVELvsbbgP3NuA0S2IIwaZjy-j5pGVRtCITWaJEhRc_aem_QmWe71R0m_r5CyliRgARGw

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here