@अर्जुन प्रधान
लोकप्रिय काव्य प्रतिस्पर्धा “मेरो कविता : द रिदम अफ पोएट्री” को १६औँ शृङ्खलाले नेपाली साहित्यको नयाँ पुस्तालाई उजागर गर्ने अर्को सशक्त अध्याय प्रस्तुत गरेको छ। यसपटक पाँच उत्कृष्ट प्रतियोगी कविहरूले आफ्ना सिर्जनात्मक प्रस्तुति मार्फत राष्ट्रवाद, पहिचानको संघर्ष, पारिवारिक प्रेम र मानवीय संवेदनाका विविध आयामलाई मञ्चमा उतारेका छन्।
कार्यक्रममा वरिष्ठ कवि प्रकाश बुढाथोकी र प्रभावशाली सर्जक याम थुलुङ अतिथि निर्णायकका रूपमा सहभागी हुँदै कविताको महत्व र मानवीय अनुभूतिसँग यसको सम्बन्धबारे आफ्ना विचार राखेका थिए।
आयोजकका अनुसार यस शृङ्खलापछि दर्शकहरूलाई आफ्ना मनपर्ने कविलाई समर्थन गर्ने अवसर दिइएको छ। दर्शकहरूले Khalti एपमार्फत भोट गरेर प्रतियोगीलाई फाइनलतर्फ अघि बढाउन सक्ने व्यवस्था गरिएको छ।





यस शृङ्खलामा प्रस्तुत भएका पाँचै कविले फरक विषय र शैलीमार्फत आफ्नो सशक्त साहित्यिक पहिचान प्रस्तुत गरे।
टोली प्रसाद राजवंशीको कवितामा सिमान्तकृत मानिसहरूको पीडा र राष्ट्रप्रतिको चिन्ता प्रस्ट देखिन्थ्यो। उनले सपनाको चिहान बोकेर हिँडिरहेको एउटा देशको चित्र कोर्दै सिमानामा बस्ने मानिसहरूको संघर्ष र भोको पेटले देश धान्न नसक्ने यथार्थलाई उजागर गरेका थिए।
बिनेश राई ‘मिन्जाई’ले ‘एक्लोपन’ शीर्षकको कविता प्रस्तुत गर्दै मानव मनको अस्तित्वबोध र एकान्त अनुभूतिलाई नवीन शैलीमा व्यक्त गरे। परम्परागत सीमाभन्दा बाहिर निस्केर विश्व ब्रह्माण्ड र मानव चेतनाको गहिराइलाई कवितामा उतार्ने उनको प्रयासलाई निर्णायकहरूले विशेष रूपमा प्रशंसा गरेका थिए।
प्रवेक आङसरङ मुकुमलुङको कविता सांस्कृतिक पहिचान र धार्मिक आस्थाको विषयमा केन्द्रित थियो। उनले ‘मुकुमलुङ’ (पाथीभरा) लाई केवल एउटा डाँडा नभई पुर्खाको आशीर्वाद र अस्तित्वको प्रतीकका रूपमा चित्रण गरेका थिए।
सोनाम पाल्जोर तामाङले ‘कालोको चप्पल’ शीर्षकको अत्यन्तै मार्मिक कविता प्रस्तुत गरे। उनले आफ्नी सानी बहिनीको च्यातिएको हवाई चप्पललाई बिम्ब बनाएर गरिबी, संघर्ष र इमानदार जीवनको कथा सुनाएका थिए। ब्रान्डेड वस्तुको होडमा मानिसको मूल्य नाप्ने समाजप्रति उनले कवितामार्फत प्रश्न उठाएका थिए।
सेसे थामसुहाङको कविता भने प्रेम, विछोड र विगतका सम्झनामा केन्द्रित थियो। उनले मनको पीडा र पश्चात्तापलाई बिम्बात्मक शैलीमा प्रस्तुत गर्दै ‘आँसुको न्यानोपन’ र ‘मनको आगो’ जस्ता सशक्त भावनात्मक प्रतीकहरू प्रयोग गरेका थिए।
वरिष्ठ कवि प्रकाश बुढाथोकीले प्रतियोगीहरूलाई कवितामा शब्द संयोजन र बिम्ब प्रयोगमा अझ ध्यान दिन सुझाव दिए। उनका अनुसार उत्कृष्ट कविता त्यतिबेला बन्छ जब श्रोताको आँखाअघि एउटा जीवन्त दृश्य देखा पर्छ।
“कविता पढ्दा वा सुन्दा मनमा चित्र बनेन भने त्यो कविता अझै जीवित भएको मानिँदैन,” उनले भने।
यसैगरी सर्जक याम थुलुङले कवितालाई “मन्त्र, लय र जिन्दगी” को रूपमा परिभाषित गर्दै कविता लेख्न ठूला शब्दहरूको खोजी गर्नुभन्दा मनका भावनालाई सरल र मिठो ढङ्गले व्यक्त गर्नुपर्ने बताए।
कार्यक्रमका मुख्य निर्णायकहरूमा हेमन्त यात्री, उत्तम तुमसा र सुमन इस्मारिका लगायत अज्ञात दधी हुन्छ ।
निर्णायकहरूले पाँचै कविको मौलिकता, पहिचानको खोजी र नवीन प्रयोगलाई नेपाली साहित्यको भविष्यका लागि सकारात्मक संकेतको रूपमा मूल्याङ्कन गरेका छन्।
यसै सन्दर्भमा विश्व भूटानी साहित्यिक संगठनका अध्यक्ष पातलो आन्तरे ले दर्शकहरूलाई सक्रिय रूपमा सहभागी हुन अपिल गरेका छन्।
“कविता केवल प्रतियोगिता होइन, यो हाम्रो भाषा, संस्कृति र पहिचानको आवाज हो। त्यसैले दर्शकहरूले आफ्ना मनपर्ने कविलाई भोट गरेर यो साहित्यिक यात्रामा साथ दिनु आवश्यक छ,” उनले भने।
उनका अनुसार दर्शकको भोटले मात्र उत्कृष्ट प्रतिभालाई फाइनलसम्म पुर्याउने भएकाले सबै साहित्यप्रेमीलाई आफ्नो मनपर्ने कविको पक्षमा भोट गर्न आग्रह गरिएको छ।
अब प्रतियोगिताको अर्को चरणमा यी पाँचमध्येबाट चार जना कवि फाइनलमा प्रवेश गर्नेछन्। त्यसका लागि दर्शकको भोट निर्णायक बन्नेछ। निर्देशक केवल छेत्रीको अपिल छ “कवि र कवितालाई जिताउनको लागि तपाईँको भोटले निर्णायक भूमिका खेल्छ। के तपाईँले एउटा राम्रो कविको लागि भोट दिनु हुन्न र?”
यसरी “मेरो कविता : द रिदम अफ पोएट्री” ले विशेषगरी पूर्वी नेपाल र सिक्किम क्षेत्रका मौलिक साहित्यिक आवाजहरूलाई एउटै मञ्चमा ल्याउँदै नयाँ पुस्ताका कविहरूलाई राष्ट्रिय स्तरमा चिनाउने प्रयास जारी राखेको छ।
कार्यक्रमको प्रस्तुति My Platform ले गरेको हो भने Rhythm and Reality Event Private Limited र बेल्डाँगी नाट्य परिवार सह–आयोजकका रूपमा रहेका छन्। प्रतियोगितालाई संस्थागत रूपमा NRA Express LLC ले सहयोग गरेको छ भने कुल भुजेल, गोपाल विष्ट र परिवार, पेमा नर्भु लामा, भक्ति राई, विष्णु राई र सुकेन गुरुङले व्यक्तिगत रूपमा सहयोग पुर्याएका छन्।
कार्यक्रमको मुख्य आयोजक विश्व भूटानी साहित्यिक संगठन(GBLO) रहेको छ भने Former Beldangi 1 Youth Time Friends Forever डाइमण्ड प्रयोजकका रूपमा जोडिएको छ। साथै यो कार्यक्रमलाइ निर्देशन गरेका छन् केवल छेत्री र सह-निर्देशन पवित्र राईको टिमले यो सृजनात्मक यात्रालाई अगाडि बढाइरहनुभएको छ। । कार्यक्रमको सृर्जनात्मक सञ्चालन पत्रकार सुमन कुरुम्बाङले गरेका छन् ।
यो पनि पढ्नुहोला












