@ अर्जुन प्रधान
उत्कृष्ट पाँच कविबीच सुरु हुँदै निर्णायक प्रतिस्पर्धा
लोकप्रिय काव्य प्रतियोगिता “मेरो कविता : द रिदम अफ पोएट्री” सिजन–१ अब सबैभन्दा रोचक चरणमा प्रवेश गरेको छ। १५औँ शृङ्खलासँगै उत्कृष्ट पाँच प्रतिस्पर्धीको टुंगो लागेपछि अब सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित भएको छ | अब को बन्ला टप–४ फाइनलिस्ट ?
प्रतियोगिताको पछिल्लो शृङ्खलामा सात जना कविबीच भएको कडा प्रतिस्पर्धापछि अनिश राई र अभिलाल राई बाहिरिएका थिए। त्यसपछि अब पाँच कवि मात्र प्रतिस्पर्धामा बाँकी छन्। यही पाँचमध्येबाट अर्को शृङ्खलामा एक जना बाहिरिनेछन् र चार जना कवि फाइनल चरणमा पुग्नेछन्।
अहिले प्रतिस्पर्धामा रहेका पाँच कवि हुन्:-
सोनम पाल्जोर तामाङ, बिनेश राई ‘मिन्जाई’,प्रवेक हाङसरङ,टोली प्रसाद राजवंशी, र सेसे थामसुहाङ।
यी पाँचै कविले अहिलेसम्मका शृङ्खलाहरूमा फरक–फरक विषय र शैलीमा कविता प्रस्तुत गर्दै दर्शकको ध्यान तानेका छन्। कसैले संस्कृति र पहिचानका विषय उठाएका छन् भने कसैले श्रमिक जीवन, प्रकृति संरक्षण र सामाजिक यथार्थलाई कवितामा उतारेका छन्।
सिक्किमका सोनम पाल्जोर तामाङले आध्यात्मिक भाव र प्रार्थनाको विषयलाई कवितामा प्रस्तुत गर्दै छुट्टै पहिचान बनाएका छन्। बिनेश राई ‘मिन्जाई’ले वैदेशिक रोजगारी र नेपाली श्रमिकको जीवनलाई कविताको विषय बनाएका छन्।
प्रवेक हाङसरङले पहाडी संस्कार र स्मृतिलाई पालाम शैलीमा प्रस्तुत गर्दै दर्शकलाई प्रभावित गरेका छन्। टोली प्रसाद राजवंशीले राजवंशी समुदायको संस्कृति र माटोसँगको सम्बन्धलाई आफ्नो कविताको केन्द्र बनाएका छन् भने सेसे थामसुहाङले चिया बगानका श्रमिक जीवन र सामाजिक कथाहरूलाई कवितामा उतार्दै आएका छन्।
अब आगामी शृङ्खलामा यी पाँच कविबीच हुने प्रतिस्पर्धाले टप–४ फाइनलिस्ट तय गर्नेछ। दर्शकको मत, निर्णायकको मूल्यांकन र प्रस्तुतीको प्रभावका आधारमा एक जना प्रतिस्पर्धी बाहिरिनेछन्।
कार्यक्रम नजिकिँदै जाँदा दर्शकहरूबीच पनि उत्सुकता बढेको छ। धेरैले सामाजिक सञ्जालमा आफ्ना मनपर्ने कविहरूको समर्थन गर्न थालेका छन्।
यसरी अब प्रतियोगिताको अर्को चरणले तय गर्नेछ।
यी पाँचमध्ये को बन्ला टप–४ फाइनलिस्ट, र को रोकिनेछ फाइनलको ढोकामै। तपाइको एक भोटले कबिलाइ ठुलो सहयोग मिल्छ ।

















