प्रधानमन्त्री कार्कीलाई ‘राष्ट्रमाता’ उपाधि दिनुपर्ने प्रस्ताव, साहित्य महासङ्घको नारी दिवस कार्यक्रममा माग

0
31

@अर्जुन प्रधान/ग्लोवलपोस्ट
विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले विशेष रचना वाचन कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाएको छ।


कार्यक्रममा नारी शक्ति र साहित्यको चर्चा हुने क्रममा संस्थाका उपाध्यक्ष विजय हितान मगरले नेपालका पूर्वप्रधानन्यायाधीश एवं वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘राष्ट्रमाता’को उपाधि प्रदान गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो। उपाध्यक्ष हितानले प्रधानमन्त्री कार्कीको राष्ट्रिय योगदानको कदर गर्दै उहाँलाई राष्ट्रमाताको गरिमामय उपाधि दिन सरकार र सम्बन्धित सरोकारवालासमक्ष अनुरोध गर्नुभयो।


केन्द्रीय अध्यक्ष डा. लोकनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शुभारम्भ उपाध्यक्ष सुनिता कन्दङ्वाको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालनको जिम्मेवारी महासचिव देविका मगरातीले सम्हाल्नुभएको थियो।

भर्चुअल माध्यमबाट आयोजित यस कार्यक्रममा नेपाल, भारत, बेलायत, रसिया, ताइवान, अमेरिका र सिक्किमसहित विभिन्न देशका साहित्यकारहरूको उत्साहजनक सहभागिता रहेको थियो।


साहित्यिक सिर्जना वाचन गर्ने क्रममा चिम्खोले काइला, नितिनुर, मनिराज सिंह, होमा, रीता देवी प्रधान, गङ्गा भण्डारी, कृष्ण गौतम, किरण आचार्य, हरि कुमार श्रेष्ठ, रीता मगराती, कल्पना पौडेल, डा. मधु श्रेष्ठ र ऋषिराम सापकोटाले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गर्नुभयो। त्यसैगरी, वरिष्ठ साहित्यकार तथा विशेष अतिथि ज्ञानु अधिकारी, कुन्ता शर्मा र भवानी खतिवडाले आफ्ना अनुभवसहित सिर्जना वाचन गर्नुभयो भने गोविन्द प्रसाद गौतमले शुभकामना मन्तव्य राख्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि कौशिला रिसालले समसामयिक विषयमा मन्तव्य राख्दै आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभयो। कार्यक्रमको समापनमा अध्यक्ष डा. लोकनाथ काफ्लेले आफ्नो मन्तव्य राख्दै उपस्थित समस्त साहित्यकार तथा अतिथिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here