‘मेरो कविता: द रिदम अफ पोएट्री’ को सातौं शृङ्खलाबाट जिना र प्रीति बाहिरिए

0
25

@अर्जुन प्रधान
‘मेरो कविता: द रिदम अफ पोएट्री’ को सातौं शृङ्खला रिदम एण्ड रियालिटी इभेन्ट प्रा.लि.को आयोजनामा तथा ‘माइ प्लेटफर्म’ (My Platform) को प्रस्तुतिमा सम्पन्न भएको छ। कार्यक्रम विश्व भूटानी साहित्यिक संगठन (GBLO) को पावर सपोर्ट र बेल्डाँगी नाट्य परिवारको सहकार्यमा सञ्चालन भइरहेको छ।

शब्द, संवेदना र समसामयिक विषयवस्तुको संगम बनेको यस शृङ्खलाले भावुक क्षणसँगै प्रतिस्पर्धात्मक वातावरण प्रस्तुत गर्‍यो। नियमित सञ्चालक सुमन अस्वस्थ भएपछि यस पटक कार्यक्रम सञ्चालन आकृति बस्नेतले सम्हालेकी थिइन्। निर्णायक मण्डलमा उत्तम तुम्सा लिम्बु, हेमन्त यात्री, सुमन स्मारिका र अज्ञात दधीको उपस्थिति रहेको थियो। एनआरए एक्सप्रेस एलएलसीका नेपाल प्रतिनिधि राजु घले विशेष अतिथिका रूपमा सहभागी भई सम्मानित भएका थिए।

यस चरणमा प्रतियोगीहरूले प्रेम, राजनीति, सामाजिक विसङ्गति, पहिचान र मानवीय संवेदनाका विविध आयाममा आधारित कविता प्रस्तुत गरेका थिए। रोजित बस्नेतले ‘तिम्रो पछौरी’ मार्फत प्रेम र बिछोडको भाव व्यक्त गरे भने अनिश राईले ‘मुखौटो भित्रको’ कविता मार्फत सामाजिक ढोंगमाथि प्रश्न उठाए। रेशम नजरको ‘प्रिय फूल’ ले हराएको प्रेमको अनुभूति प्रस्तुत गर्‍यो।

टोली प्रसाद राजवंशीले ‘बन्धकी’ मार्फत नागरिकताविहीन जीवनको संघर्ष चित्रित गरे। प्रीति मगरको ‘गलबन्दी’ स्मृति र प्रेमको संयोजन थियो। सुभाष सुवेदीले ‘तिमी खास छौ’ मार्फत मानसिक स्वास्थ्यको सन्देश दिए भने अभिलाल राईले ‘दाजु मलाई जान देउ’ मा पारिवारिक संवेदना र मानसिक अवस्थाको चित्रण गरे।

सोनाम पाल्जोरको ‘युद्धको बाछिटा’ ले युद्धका मानवीय असर देखायो। प्रबेग हाङस्रोङले ‘सेल्लोवा चरी’ मार्फत मुन्धुमी बिम्ब र पहिचान प्रस्तुत गरे। जिना अधिकारीको ‘परदेशीलाई चिठी’ ले वैदेशिक रोजगारीका कारण गाउँमा देखिएको रित्तोपन उजागर गरिन्। मनाहाङ लावतीले ‘उपचारमा छ भाषा’ मार्फत लोपोन्मुख भाषाको सवाल उठाए भने राजु उभकोटीले ‘भूपरिवेष्टित चेतना’ मा नेपाली अस्तित्वमाथि विमर्श गरे।

से थाम्सुहाङले आमाको सम्झना र काबेली खोलाको परिवेशमा आधारित भावुक कविता प्रस्तुत गरे भने बिनेश राई ‘मिन्जाई’ ले ‘नेता र देश’ शीर्षकमा व्यङ्ग्यात्मक प्रस्तुति दिए।

प्रस्तुतिपछि निर्णायकहरूले प्रतियोगीहरूलाई सुझाव दिएका थिए। निर्णायक हेमन्त यात्रीले केही कविताले गहिरो चिन्तन गर्न बाध्य बनाएको टिप्पणी गरे।

भोटिङ तथा समग्र मूल्याङ्कनका आधारमा से थाम्सुहाङ सबैभन्दा बढी मतसहित सुरक्षित भएका छन्। प्रतियोगिताको नियमअनुसार यस शृङ्खलाबाट जिना अधिकारी र प्रीति मगर बाहिरिएका छन्।

निर्देशक केवल छेत्री अनुसार आगामी शृङ्खलामा १२ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा जारी रहनेछ।

पुरा सातौं शृङ्खला

https://youtu.be/4wDao-1_re8?si=dG5NSt51f80NxsVX

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here