नेपाली भाषा–साहित्यको पठनपाठन, अनुसन्धान तथा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नइ एकेडेमीले भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

एकेडेमीका अनुसार पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। पुरस्कारबाट प्रा. डा. कविता लामा, प्रा. डा. कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्रा. डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा. डा. पुष्प शर्मा, डा. राजकुमार क्षेत्री, प्रा. डा. सञ्जय राई तथा डा. अरुणा राई (संयुक्त) सम्मानित हुने भएका छन्।
उक्त निर्णय एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले गरेको हो।
एकेडेमीले आगामी २०८२ चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने जनाएको छ।












