@newsdeskusa
हाल सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा फैलिएका ‘एपस्टिन फाइल्स’ सँग सम्बन्धित भ्रामक समाचारप्रति दलाई लामाको कार्यालयले औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै कडा खण्डन गरेको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा दलाई लामाको कार्यालयले ‘एपस्टिन फाइल्स’ सँग सम्बन्धित केही रिपोर्टहरूमा परमपूज्य दलाई लामालाई अनावश्यक रूपमा जोड्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ,

“परमपूज्य दलाई लामाले कहिल्यै जेफ्री एपस्टिनसँग भेट गर्नुभएको छैन। न त उहाँको तर्फबाट कसैलाई पनि एपस्टिनसँग कुनै प्रकारको भेटघाट वा अन्तरक्रिया गर्न अधिकार दिइएको छ।”
कार्यालयले यस्ता दाबीहरू पूर्ण रूपमा असत्य, आधारहीन र भ्रामक भएको उल्लेख गर्दै यस किसिमका गलत सूचनाले आम जनमानसमा अनावश्यक भ्रम सिर्जना गर्ने चेतावनी दिएको छ।
८ फेब्रुअरी २०२६ मा जारी गरिएको उक्त विज्ञप्ति परमपूज्य दलाई लामाको आधिकारिक कार्यालय थेकचेन चोएलिङ, धर्मशालाबाट सार्वजनिक गरिएको हो।
दलाई लामाको कार्यालयले आम नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचनामा विश्वास नगर्न तथा जिम्मेवार रूपमा सूचना साझा गर्न आग्रह गरेको छ।












