नेपाली सिनेमा जगत् शोकमा : अभिनेता सुनील थापाप्रति भावपूर्ण श्रद्धाञ्जली

0
101

@newsdeskusa

नेपाली चलचित्र क्षेत्रका चर्चित तथा प्रभावशाली अभिनेता सुनील थापाको असामयिक निधनले आज नेपाली सिनेमा मात्र होइन, सम्पूर्ण कला क्षेत्र शोकमा डुबेको छ। चार दशकभन्दा बढी समय अभिनयमार्फत दर्शकको मन जित्दै आएका थापाको अवसानले नेपाली र भारतीय चलचित्र जगतले एक बलियो खम्बा गुमाएको छ।

‘चिनो’ चलचित्रका राते काइँलादेखि लिएर ‘मेरी कोम’का प्रशिक्षकसम्म, उहाँले निभाएका खलनायक र सहनायक पात्रहरू दर्शकका स्मृतिमा सदैव जीवित रहनेछन्। उहाँका हरेक भूमिका केवल अभिनय मात्र थिएनन्, ती जीवनका अनुभूति जस्तै थिए।

प्रधानमन्त्रीले पनि दिवंगत कलाकारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ,

“नेपाली र भारतीय चलचित्र क्षेत्रले एक बहुआयामिक कलाकार मात्र होइन, कला र संस्कृतिको एउटा दरिलो आधार गुमाएको छ।”

प्रधानमन्त्रीको यो भनाइले सुनील थापाको योगदान कति गहिरो थियो भन्ने कुरा झन् स्पष्ट बनाउँछ।

महानायकदेखि लिएर अन्य नेपाली भाषी भूटानी कलाकारहरू, फिल्मकर्मी, पत्रकार र दर्शकसम्म सबैले उहाँको निधनप्रति दुःख व्यक्त गरेका छन्। भारतीय चलचित्र क्षेत्रमा सहकार्य गरेका कलाकारहरूले पनि उहाँलाई अनुशासन, सरलता र मानवीय संवेदनाले भरिएको कलाकारका रूपमा सम्झिएका छन्।

सुनील थापाको यात्रा केवल चलचित्र पर्दासम्म सीमित थिएन। उहाँको संघर्ष, साधना र समर्पण भावी पुस्ताका कलाकारहरूका लागि प्रेरणाको दीप बनेर रहनेछ।

मेरी कोम’ मा थापासँग सहकार्य गरेका बलिउड अभिनेत्री प्रियंका चोप्राले लेखेकी छन्—

You will always remain my Coach Sir. You kept me together when I had just lost my dad…” र उहाँको माया, सहानुभूति र हास्य सधैं स्मृतिमा रहनेछ। 

त्यस्तै ‘The Family Man’ को सहकलाकार मनोज बाजपेयीले पनि भावनात्मक श्रद्धाञ्जली दिएका छन् ।

सुनील थापाको निधनले नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रले अपूरणीय क्षति व्यहोरेको भन्दै चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाहरूले संयुक्त रूपमा शोक वक्तव्य जारी गरेका छन्। वक्तव्यमा उहाँको योगदानलाई स्मरण गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

शोक वक्तव्यमा भनिएको छ, “नेपाली चलचित्र क्षेत्रमा उहाँले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहनेछ। उहाँको साधना, समर्पण र अभिनय भावी पुस्ताका कलाकारहरूका लागि प्रेरणाको स्रोत रहनेछ।”

चलचित्र पत्रकार संघ नेपाल, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, नृत्य संघ, द्वन्द्व कलाकार संघ, आदिवासी जनजाति चलचित्र महासंघ, AVAAN, AVSN लगायत संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

आज उहाँ हामीबीच शारीरिक रूपमा हुनुहुन्न, तर उहाँका पात्र, संवाद र अभिनय सधैँ नेपाली सिनेमा इतिहासमा बाँचिरहनेछन्। अमेरिकाको एक ग्लोबल नेपाली चलचित्र आवर्डमा ग्लोवलपोस्टका पत्रकार अर्जुन प्रधानलाइ ” नेपाली मन र नेपाली कलाकारकालागि सधैव लेखिरहनु “भन्दै आशिर्वाद दिएको सम्झन्छन् ।

यस दुःखद् घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवार, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण नेपाली कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

नेपाली सिनेमा आज एक दरिलो खम्बा गुमाएको छ। तर, सुनील थापाले निभाएका पात्र र छोडेर गएको अभिनयको विरासत दर्शकको स्मृतिमा सधैँ जीवित रहनेछ।

श्रद्धाञ्जली।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here