मनदेखि मनसम्म
सिन्सिनाटी, अमेरिका
“मनदेखि मनसम्म” नामक आजसम्मकै सबैभन्दा ठूलो स्पोकन वर्ड पोएट्री नाइट शनिबार सिन्सिनाटी शहरको जोयस् पार्क सेन्टरमा भब्यतापूर्वक सम्पन्न भयो। यस सृजनात्मक महोत्सवमा ३२ जना स्रष्टाहरू एउटै मञ्चमा उभिएर आफ्ना भावना, विचार र जीवनका अनुभवहरू काव्यात्मक स्वरूपमा प्रस्तुत गरे, जसले सम्पूर्ण वातावरणलाई संवेदना र सौन्दर्यले भरिदियो।
कार्यक्रममा अमेरिकाका विभिन्न सहरहरू, हेरीस्बर्ग, कोलम्बस, लुइभेल , सिन्सीनाटी लगायत स्थानहरूबाट आएका साहित्यप्रेमीहरू सहभागी थिए। यससँगै अस्ट्रेलियाबाट विशेष रूपमा आएका सर्जकहरूको सहभागिताले कार्यक्रममा अन्तर्राष्ट्रिय र सांस्कृतिक गहिराइ थपियो।
जोयस् पार्क सेन्टरको सभाहल साँझदेखि रातीसम्म शब्द र भावनाको यात्रामा डुबेको थियो। घण्टौँसम्म निरन्तर चलिरहेको कार्यक्रमका बीच दर्शक-श्रोताहरू मन्त्रमुग्ध भएर सुन्दै बसेका देखिन्थे— न त थकाइ, न त हतार, केवल शब्दको जादूमात्र।
यो कार्यक्रमले नेपाली भाषा, साहित्य र कला अमेरिकाजस्तै परदेशी भूमिमा पनि कति गहिरो रूपमा बाँचिरहेको छ भन्ने सन्देश दिएको छ। “मनदेखि मनसम्म” साँझ साँच्चै मनलाई अर्को मनसँग जोड्ने एउटा आत्मीय पुल बन्यो— जसको स्मरण हरेक सहभागीका हृदयमा लामो समयसम्म रहिरहनेछ।
#Mandekhimansamma