नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भदौ २३ र २४ गतेका घटनालाई लिएर देश पुनःनिर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेको छ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई लोकतन्त्र विरोधी समूहको घुसपैठको परिणाम बताउँदै घोर भर्त्सना गरेको छ।
दलले विज्ञप्तिमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। साथै, कांग्रेसले देशभर भएको हत्या, आगजनी, लुटपाट र तोडफोडबारे छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ।
पार्टीले भ्रष्टाचार विरुद्ध युवाले उठाएको मागलाई सम्बोधन गर्न सरकारलाई तत्काल पहल गर्न पनि आह्वान गरेको छ। हालसम्म घटनामा ७२ जनाको मृत्यु र सयौं घाइते भएको तथ्यांक सार्वजनिक भएको छ।