ललितपुर, असार १७
“परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको दुईदिने राष्ट्रिय ख्रीष्टियन मिडिया कार्यशाला मंगलबार ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटलमा सम्पन्न भएको छ।
ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (CJF) को आयोजनामा तथा सुन्दर ढोका साथीसेवाको सहकार्यमा सम्पन्न कार्यशालाको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको सवाल मिडियामा प्रभावकारी रूपमा उठाउने रणनीति तय गर्नु थियो। कार्यशालामा देशभरबाट करिब ४० जना ख्रीष्टियन पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यशालाको पहिलो दिन सुन्दर ढोका साथीसेवाका कार्यकारी निर्देशक विजेता लुइटेल अधिकारीले “परमेश्वरको दृष्टिमा अपाङ्गता भएका व्यक्तिहरूको मूल्य” शीर्षकमा प्रस्तुति दिँदै भन्नुभयो, “समाजले हेप्ने दृष्टिले हेरे पनि, अपाङ्गता भएका व्यक्तिहरू आफैंमा सक्षम र परमेश्वरको उत्कृष्ट सिर्जना हुन्।”
त्यसै दिन नेपाल डेफ फेलोसिपका प्रतिनिधिहरू सुरेश देशार र गोविन्द फारनले “डेफ संस्कृतिलाई बुझौं” शीर्षकमा प्रस्तुति दिंदै बहिरा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, समाजको व्यवहार, र तिनको आत्मसम्मानका विषयमा महत्त्वपूर्ण तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँहरूले बहिरा व्यक्तिलाई चिच्याएर बोल्ने, उपचार गराउने प्रयास, वा निको पार्ने भनेर चर्चमा गरिएको व्यवहारले उनीहरूको आत्मसम्मानमा गहिरो असर पार्ने हुँदा त्यसप्रति संवेदनशील हुन आग्रह गर्नुभयो।
त्यसैगरी अधिवक्ता तेजेन्द्र बुढाले अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र अधिकारका विषयमा जानकारी दिनुभयो।
कार्यशालाको दोस्रो दिन प्रेस काउन्सिल नेपालका कार्यसमिति सदस्य सन्तराम विडारीले पत्रकार आचारसंहिताबारे प्रस्तुति दिँदै अपाङ्गता सम्बन्धी विषयवस्तु रिपोर्ट गर्दा अपनाउनुपर्ने संवेदनशीलता र मापदण्डबारे चर्चा गर्नुभयो।
CJF नेपालका अध्यक्ष दिनेश श्रेष्ठले कार्यशालाको उद्देश्य र महत्त्वबारे प्रकाश पार्दै भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरूका विषयमा मिडियामा आवाज बुलन्द गरिने लक्ष्यले यो कार्यशाला आयोजना गरिएको हो।”
कार्यशालाको समापन सत्रमा राष्ट्रिय मण्डली संगति नेपालका अध्यक्ष हनोक तामाङले सहभागी पत्रकारहरूका लागि कार्यशाला निकै फलदायी भएको विश्वास व्यक्त गर्नुभयो।
ख्रीष्टियन पत्रकारहरूको छाता संगठनका रूपमा रहेको CJF नेपालले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै सामाजिक रूपान्तरणमा सञ्चारको भूमिकालाई अझ सशक्त बनाउने विश्वास समेत व्यक्त गरेको छ।
@अर्जुन प्रधान