अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु

0
67

@अर्जुन प्रधान/ग्लोवलपोस्ट

तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म यो मन  मेरो नेपाली हो मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी पृष्ठभूमिबाट आएकी १९ वर्षीया आयुशाको बाल्यकाल अमेरिकामा बिते पनि मन भने सधैं नेपाली संस्कार, भाषा र पहिचानसँग गाँसिएको मिडियामा बताउदै आएकि छिन।

करातेमा ब्ल्याक बेल्ट हासिल गरेकी उनी ‘मेरो डान्स कप’ सिजन ४ की फस्र्ट रनरअप पनि हुन्। नृत्य र अभिनय दुवैमा रुचि राख्ने आयुशाको सपना सानैदेखि हिरोइन बन्ने थियो। अब त्यो सपना उनले पहिलो फिल्मबाट पुरा गर्न लागेकी छन्।

आयुशालाई अभिनयतर्फ डोर्याउने मुख्य कारण भनेकै उनको नेपालीपनप्रतिको आत्मीयता हो। “फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले नेपाली भाषा, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्छ भन्ने थाहा पाएपछि मैले यो फिल्म रोजेँ,” उनले ग्लोबलपोस्टलाइ भनिन्।

फिल्ममा उनी भुटानी शरणार्थी क्याम्पमा अध्यापन गर्ने शिक्षिकाको भूमिकामा देखिन्छिन्। उनको पात्रले अमेरिका जाने र नेपालमै संघर्ष गरिरहेका शरणार्थीहरूको भविष्यबारे गहिरो सन्देश दिन्छ। “मेरो पात्र शिक्षिका भए पनि उसको निर्णयले समाजमा ठूलो प्रभाव पार्छ,” उनले स्पष्ट पारिन्।

पहिलो पटक अभिनय गर्दा डर लागेको अनुभव उनले बाँडेकी छन्। “नृत्य गरेकै कारण म स्टेजमा सहज थिएँ, तर अभिनय भने नसोचेको जति गाह्रो रहेछ,” आयुशाले भनिन्। तर, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राईजस्ता कलाकारसँग काम गर्दा उनले धेरै सिक्ने मौका पाएको खुशिका साथ बताइन्।

फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि आयुशाले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेकी छन्। “टिजर र ट्रेलर हेरेर धेरैले मन परेको प्रतिक्रिया दिएका छन्, अब फिल्म रिलिजपछि अझ राम्रो प्रतिक्रिया आउनेमा आशावादी छु,” उनी भन्छिन्।

https://m.youtube.com/watch?v=PxiLbxP28_A

उनले आफ्नो अभिनय करिअर नेपाली फिल्मबाट सुरु गरे पनि भविष्यमा हलिउडमा पनि काम गर्ने लक्ष्य राखेकी छन्। “नेपाली फिल्ममा निरन्तर काम गर्ने योजना छ, र भविष्यमा हलिउडमा पनि अवसर खोज्नेछु,” उनले भनिन्।

नेपाली जनमानसका प्रिया कलाकार दयाहाङ राई, अनमोल केसी र पल शाह उनी चिनेका नेपाली हिरो हुन्। ती सबैसँग अभिनय गर्ने सपना उनले बोकेकी छन्।

नेपाल आउन थालेको तीन वर्ष भयो। सन् २०१९ मा पहिलोपटक नेपाल आएकी उनी त्यसबेला त असहज महसुस गर्थिन्, तर अहिले नेपाल उनलाई धेरै मन पर्छ। “पहिलोपटक आउँदा त तीन हप्ता बस्दा पनि गाह्रो भयो, अहिलेचाहिँ नेपाल नआइ नहुने भइसक्यो,” उनले हाँस्दै भनिन्।

अहिले प्रेममा नरहेकी आयुशा विवाहबारे खुलेर केही भन्न चाहन्नन्। “म अहिले करिअर निर्माणको चरणमा छु, विवाहको कुरा पछि सोचौंला,” उनी भन्छिन्।

फिल्म यो मन  मेरो नेपाली हो उनको करिअरको पहिलो खुड्किलो मात्र होइन, नेपाली पहिचान र भावनासँगको सम्बन्धको उद्घोष पनि हो। अभिनयमार्फत उनी नेपाली समाजसँग अझ नजिकिन चाहन्छिन्, जुन उनको बोली र अभिनय दुवैबाट प्रस्ट झल्किन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here