साहित्यपोस्टले नवप्रतिभालाई तीन विधामा प्रदान गर्यो वार्षिक पुरस्कार

0
17

काठमाडौँ, असार १५ — साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले साहित्यपोस्टले २०८१ सालका लागि तीन उत्कृष्ट नवलेखकलाई वार्षिक पुरस्कार अर्पण गरेको छ। राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने पर्वको अवसर पारेर आयोजना गरिएको विशेष समारोहमा ‘काव्य’, ‘आख्यान’ र ‘गैर–आख्यान’ विधामा पुरस्कार घोषणा तथा वितरण गरिएको हो।

यस वर्षको साहित्यपोस्ट काव्य पुरस्कार कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ लाई प्रदान गरिएको छ। साहित्यपोस्ट आख्यान पुरस्कार उपन्यास ‘प्याउली’ का लेखक बालिका वान्तावा र साहित्यपोस्ट गैर–आख्यान पुरस्कार नियात्राकृति ‘छालबाटो’ का लेखक रमेश भुसाललाई अर्पण गरिएको हो।

प्रत्येक विजेता सर्जकलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रम राजधानीको एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजना गरिएको थियो, जसको संयोजनमा ‘साहित्यपोस्ट नवरत्न सम्मान’, पुरस्कार घोषणा तथा वितरण कार्यक्रम एकसाथ सम्पन्न गरियो।

कार्यक्रममा काव्य विधाको घोषणा प्रा. डा. सनतकुमार वस्ती, आख्यानको घोषणा गोपी मैनाली र गैर–आख्यानतर्फको घोषणा महेश पौड्यालले गर्नुभएको थियो। विजेतालाई पुरस्कार साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो।

‘साहित्यपोस्ट नवरत्न २०८१’ सम्मान अन्तर्गत ९ जना सर्जकलाई सम्मान गरिएको छ। सम्मानित सर्जकहरूमा हेमन्त शिशिर (‘बन्द कोठाको झ्याल’), आर्यश (‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’), मधुसुदन घिमिरे (‘मायाको आयतन’), रमण (‘कथा हुन्, कथा हैनन्’), जयराम तिमल्सिना (‘धीमहि’), बालिका वान्तावा (‘प्याउली’), रमेश भुसाल (‘छालबाटो’), सञ्जीव पौडेल (‘छोटु’) र तारा भट्टराई (‘मार्केट अफ स्वीटहार्ट’) हुनुहुन्छ।

कार्यक्रममा ’साहित्यपोस्ट एप’को औपचारिक सार्वजनिक घोषणा पनि गरियो। एप तथा साहित्यपोस्टका आगामी गतिविधिबारे अच्युत कोइरालाले जानकारी दिनुभयो। कवि तथा अधिवक्ता पेशलकुमार लुइँटेलले आगामी वर्षदेखि अंग्रेजी भाषाका कृति पनि पुरस्कारको दायरामा ल्याउने घोषणा गर्नुभयो।

साहित्यपोस्टका कार्यकारी सम्पादक कृष्ण ढुङ्गेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आख्यान सम्पादक तैं तैं धितालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको समापनमा ‘उत्कृत बाछिटा’ नामक बाछिटा संग्रहको विमोचनसमेत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here