@अर्जुन प्रधान
विश्व भूटानी साहित्यिक संगठन (GBLO) को छैठौं अन्तर्राष्ट्रिय सम्मेलन (GICC–2025) अन्तर्गत नेदरल्यान्ड्सको द हेग सहरमा आयोजित ऐतिहासिक कार्यक्रममार्फत दुई प्रतिष्ठित पुरस्कारको घोषणा गरिएको छ।
साहित्य र आत्मस्वीकृतिमा आधारित सिर्जनात्मक योगदानको कदर गर्दै, वरिष्ठ कवि बैरागी काइँलालाई यस वर्षको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको हो।
पुरस्कारको नगद राशी रू. ६,००,००० (छ लाख रुपैयाँ) रहेको छ।
यस सम्मानको घोषणा स्वीकारोक्ति अभियानका अगुवा डेन्जोम साम्पाङले गरे।
यो पुरस्कारको थालनी सन् २०२२ मा भएको हो। पहिलोपटक नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्री यस सम्मानका प्राप्तकर्ता बनेका थिए।
समान कार्यक्रममा ‘दिनेश चाम्लिङ युवा प्रतिभा पुरस्कार’ यसपालि स्वाकारोक्ति फाउन्डेशनलाई प्रदान गरिने घोषणा पनि गरियो।
यो पुरस्कार संस्थाले प्रवासी नेपाली साहित्य, आत्मस्वीकृति र सामाजिक चेतनामा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।
संस्थालाई USD $5,001 (पाँच हजार एक डलर) राशिसहित सम्मान गरिनेछ, जसले खोज, अनुसन्धान तथा प्रचारप्रसारमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

द हेगमा सम्पन्न सम्मेलनमा नेदरल्यान्ड्सका लागि नेपाली राजदूत महामहिम सेवा लम्सालको प्रमुख आतिथ्य थियो।
सम्मेलनमा बेल्जियम, बेलायत, फ्रान्स, नर्वे, पोल्याण्ड, स्लोभेनिया, अमेरिका, न्यूजिल्याण्ड, नेपाल, भारत, भूटानसहित १६ देशका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
यो सम्मेलनले प्रवासी सन्दर्भमा साहित्य, संस्कृतिको पुनर्जागरण र आत्मपहिचानको बहसलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएको छ।