–BCA को चौथो वार्षिक साधारण सभा सफल, अध्यक्ष कृष अधिकारी पुनः निर्वाचित
अर्जुन प्रधान
विन्डसर र एसेक्स काउन्टीमा बसेका भुटानी क्यानाडेली समुदायले मे ४, २०२५ मा एक ऐतिहासिक दिन मनाएको छ। भुटानी क्यानाडेली संघ (BCA) को चौथो वार्षिक साधारण सभाको अवसरमा विशेष निर्वाचन सम्पन्न भएको हो, जसमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान गरिएको थियो।
यस विशेष निर्वाचनमार्फत् कृष अधिकारी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँको नेतृत्वमा BCA ले विगत दुई वर्षमा उल्लेखनीय प्रगति गरेको भन्दै पुनः नेतृत्व दिने निर्णय समुदायले गरेको हो।
पुनः निर्वाचित अध्यक्ष कृष अधिकारीले निर्वाचनपछि दिएको मन्तव्यमा भन्नुभयो, “BCA अब सामाजिक सेवाबाट अझ गहिरो स्तरमा समुदायको भविष्य निर्माणमा लाग्नेछ।” उहाँले आगामी योजनामा युवाहरूलाई लक्षित छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने, र दीर्घकालीन रूपमा समुदायका लागि स्थायी हल निर्माणको योजना अघि सार्नुभएको छ।
उपाध्यक्षमा निर्वाचित हुनुभएको छ—सोमा उपरेती, जसले महिला र युवा सशक्तिकरणका क्षेत्रमा योगदान दिने बताउनुभएको छ। कोषाध्यक्ष पदमा भागवत रिजाल निर्वाचित हुनुभएको छ, जसले वित्तीय पारदर्शिता र संस्थागत स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो।
२०१९ मा स्थापनादेखि BCA ले समुदायलाई संगठनात्मक र सामाजिक हिसाबले एकीकृत गर्दै आएको छ। संस्थाका पूर्व अध्यक्षहरू—सरमान तामाङ र भानु ढुङ्गानाको नेतृत्वमा सुरु गरिएको यात्रा आज कृष अधिकारीको दृढ संकल्पसँग निरन्तर अगाडि बढिरहेको छ।
“संस्थाले युवालाई नेतृत्वमा ल्याउने, वृद्ध समुदायको सम्मान गर्ने र क्यानाडाली मूल्य–मान्यतासँग समन्वय गर्दै आफ्नो पहिचान जोगाउने मिसनमा काम गरिरहेको छ। संस्थाका पूर्व अध्यक्ष भानु ढुङ्गानाले शुभकामना सहित उत्तर उत्तर प्रगतिको कामना गर्नु भएको छ ।”
यस विशेष निर्वाचनले संस्थाको भावी मार्गचित्र निर्धारण गरेको छ। नयाँ कार्यसमिति अब समुदायको आन्तरिक एकता मात्र नभई कनाडाको बहुसांस्कृतिक समाजमा प्रभावशाली पहिचान निर्माण गर्ने दिशातर्फ अघि बढ्नेछ।
BCA अब केवल एक संस्था नभई, साझा सपना, सांस्कृतिक उत्तराधिकार र सम्भावनाहरूको स्रोत बनिरहेको त्यहास्थित उज्यालो विन्डसरका सञ्चारकर्मी बलराम काफ्लेले जानकारी दिनुभएको छ ।