अर्जुन प्रधान
नेपाली भाषा, कला र संस्कृति विश्वभर फैलिएको नेपाली समुदायका लागि पहिचानको स्रोत बनेको छ। यिनै मूल्यहरूलाई प्रवर्द्धन गर्न Intra-National Welfare and Support Foundation of America ले सुरु गरेका दुई अन्तर्राष्ट्रिय स्तरका रियालिटी शो—मेरो भ्वईस् युनिभर्स (Mero Voice Universe) र मेरो डान्स युनिभर्स-२ (Mero Dance Universe)ले नेपाली स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्य लिएको छ।
यस महान अभियानप्रति अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले खुलेर समर्थन जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमा यी कार्यक्रमहरू नेपाली भाषिक र सांस्कृतिक एकताको सूत्र बन्ने विश्वास व्यक्त गरिएको छ।
INLA को भनाइअनुसार, यी कार्यक्रमहरूले विश्वभर छरिएर रहेका नेपाली गीत, संगीत, भाषा र साहित्यका सर्जकहरूलाई जोड्न सफल हुनेछन्। यसले नेपाली कलालाई विश्वव्यापी रूपमा चिनाउन सहयोग पुर्याउनेछ। नेपाली स्रष्टाहरूको मौलिकता र सिर्जनशीलतालाई विश्व मञ्चमा प्रस्तुत गर्ने यो अभियानप्रति संघले आफ्नो नैतिक समर्थनका साथै भविष्यमा सहकार्यको प्रतिवद्धता पनि जनाएको छ।

INLA ले विगतदेखि नै नेपाली भाषा, साहित्य र संगीतको प्रवर्द्धनमा भूमिका खेल्दै आएको छ। सोही परम्परा अनुरूप संघले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा ऐक्यबद्धता जनाउँदै आफू सधैं सँगै रहने बताएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ‘मेरो भ्वईस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ -२ को उद्देश्य केवल मनोरञ्जन मात्र नभई, नेपाली संस्कृति, भाषा र कलाको सम्मानसहित विश्वव्यापी पहुँच विस्तार गर्नु हो। यस किसिमका कार्यक्रमले नेपाली सन्तानमा भाषा र संस्कृतिप्रति गर्वको भावना जागृत गर्नेछन्।
INLA का अध्यक्ष हरि उप्रेती, उपाध्यक्ष शेखर ढुंगेल र महासचिव रन खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा, Intra-National Welfare and Support Foundation of America लाई कार्यक्रमको आयोजनाको लागि हार्दिक बधाई दिँदै सफलताको शुभकामना पनि व्यक्त गरिएको छ।
यसरी, नेपाली सांस्कृतिक धरोहरलाई प्रवर्द्धन गर्ने दिशामा उन्मुख यी दुई रियालिटी शोहरू नेपाली स्रष्टा, भाषा र समाजलाई अझ सशक्त बनाउनेतर्फ एक ऐतिहासिक पाइला सावित हुने INLAको बुझाइ छ ।