“एउटा कुरा भन्छु” रोनन सुब्बाको मौन प्रेम, संगीतको स्वर, र समुदायको साथ

0
127

अर्जुन प्रधान /अमेरिकाअप्रिल २०२५ –

संगीत भन्नेबित्तिकै केवल धुन र शब्दको कुरा मात्र लाग्न सक्छ धेरैलाई। तर केही सिर्जनाहरू यस्ता पनि हुन्छन्, जसले आत्मालाई छोएर जान्छन्, मौन भावनाहरूलाई आवाज दिन्छन्। यस्तै एउटा संगीत यात्रा हो , रोनन सुब्बाको एउटा कुरा भन्छु

यस गीतमा प्रेम छ, अपूरो भावना छ, समाजको मौनतासँग जुध्ने साहस छ, र सबैभन्दा महत्वपूर्ण एक कलाकारको कृतज्ञताको स्वर छ।

गीतको भिडियोमा कलाकार सन्तोष बानियाँ र जुना विश्वकर्माले अभिनय गरेका छन्, जसले कलेज जीवनमा लुकेर बसेको प्रेम, एउटा ‘अनकही कुरा’लाई दृश्यमा परिणत गरेका छन्। कथा सरल छ ,एउटा युवकले युवतीलाई आफ्नो मनको कुरा भन्न चाहन्छ। तर यो सन्देश दृश्यहरूको माध्यमबाट जुन ढंगले प्रकट गरिएको छ, त्यो सादगीभित्रको गहिराइ दर्शकलाई मन छुन्छ।

रोनन सुब्बाले यो गीत लेख्दा उनी आफ्नो भित्री अनुभूतिहरूलाई पानामा उतारिरहेका थिए। त्यो अनुभव उनले यस्तो शब्दमा पोखेका छन्:

”‘एउटा कुरा भन्छु’ मेरो मनमा गुम्सिएको त्यो भावना हो, जुन न त सजिलै भन्न सकिन्थ्यो, न त भुल्न। जब मैले यो गीत सिर्जना गरें, मैले केवल कथा सुनाउन खोजेको होइन—मैले आफ्नो आत्मा पोख्ने प्रयास गरेको हुँ।”

गीतमा स्वर दिएका छन् लोक प्रिया गायिका मेलिना राई र रोनन सुब्बा स्वयंले। रचनाको सम्पूर्ण ध्वनि संरचना अन्तर्राष्ट्रिय स्तरको छ अमेरिका र नेपालमा छुट्टाछुट्टै स्टुडियोमा रेकर्ड गरिएको छ। संगीत संयोजन रिदम कँडेल, मिक्स/मास्टर किशोर थापा, र गिटारमा भास्कर स्वरले संगीतलाई जीवन दिएका छन्।

भिडियो निर्माण पनि उत्तिकै गम्भीरता र समर्पणसहित गरिएको छ। शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन र सुप्रिम पराजुलीको कलर ग्रेडिङ्गले गीतलाई दृश्यात्मक उत्कृष्टता दिएको छ।

समुदायको साथमा कलाकारको कृतज्ञता

गीत सार्वजनिक भएपछि रोननले आफ्ना कुरा सामाजिक सञ्जालमार्फत भने,

“आज मेरो समुदाय, मेरा आफन्त र साथीहरूले जसरी मप्रति माया, बधाई र साथ दिनु भयो, त्यो देखेर म अत्यन्त धन्य महसुस गर्दैछु। तपाईंहरूको समर्थन मेरो लागि शब्दभन्दा परको ऊर्जा हो।”

उनले थपे,

“यो गीत केवल संगीत होइन ,हाम्रो भावना, हाम्रो कथा, र हाम्रो मौन प्रेमको अभिव्यक्ति हो।”

हिजो “तिम्रो माया जाली”, आज “एउटा कुरा भन्छु”

रोनन सुब्बा नेपाली भाषी भूटानी समुदायका गायक, लेखक, र सर्जक हुन्। यसअघि उनको आफ्नै संगितमा तिम्रो माया जालीएल्बमले पनि समाजमा प्रेम र परिवर्तनका कथा सुनाएको थियो। एउटा कुरा भन्छु उनका सिर्जनाहरूको अर्को पाइला हो , अझ परिपक्व, अझ प्रामाणिक।

रोनन सुब्बाको यो सिर्जना केवल एक गीत होइन, एउटा अनुभव हो , जुन संगीतमार्फत हजारौंको मनमा गुञ्जिरहेको छ। जब गीत एउटा कलाकारको आत्माको आवाज बन्छ, तब त्यो केवल मनोरञ्जन होइन, प्रेरणा बन्छ।

हेर्नुहोस् यो अनुभव:

Euta Kura Vanchhu – Watch on Ronan Subba’s YouTube

यसअघिको गित तिम्रो माया जाली यहा छ ः-https://youtu.be/JqwaL7JdlTg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here