त्रिवेणी साहित्य मञ्चको मासिक रचना वाचन शृङ्खला–७ सम्पन्न

0
20

अर्जुन प्रधान, पेन्सलभेनिया

अमेरिकाको पेन्सलभेनियास्थित मिडलटाउन सहरमा त्रिवेणी साहित्य मञ्चको आयोजनामा मासिक रचना वाचन शृङ्खला–७ अन्तर्गत एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विविध साहित्यिक रचनाहरू प्रस्तुत गरिएको थियो। उपस्थित साहित्यकार र दर्शकहरूले नेपाली भाषाको सृजनात्मकता र सौन्दर्यमा भरपूर रमाएको प्रतिक्रिया दिएका छन्। यस शृङ्खलामा करिब ३० वटा रचनाहरू वाचन गरिएको थियो।

कार्यक्रमको सुरुवात स्वर्गीय डि. आर. गौतमको सम्झनामा गरिएको थियो। शिक्षण पेसामा चार दशक बिताएका गौतमको गत मार्च ३० मा ओहायो राज्यमा निधन भएको थियो। उनको स्मृतिमा मौनधारणसहित विशेष प्रस्तुति राखिएको थियो।

कार्यक्रम त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी ‘माइलो’को अध्यक्षतामा सम्पन्न भएको हो। विशेष अतिथिका रूपमा युवा वैज्ञानिक पूजा थापा उपस्थित थिइन्। थापाले वृद्ध अवस्थामा देखिने सामाजिक समस्याबारे अनुसन्धान गरिरहेको बताउँदै यस अभियानमा सामुदायिक सहयोगको आवश्यकता औंल्याइन्।

रचना वाचनको प्रक्रियामा यसपटक विशेष नविनता अपनाइएको थियो। मञ्चका सचिव नारद आचार्य ‘सुदामा’ले गोलाप्रथाबाट नाम छानेर रचनावाचनको व्यवस्था मिलाएका थिए, जसले कार्यक्रममा थप उत्साह ल्याएको थियो।

कार्यक्रममा त्रिवेणी साहित्य मञ्च ल्यान्कास्टर शाखाका ओम घिमिरे, साहित्यकार गण्डकी पुत्र, मीरा अधिकारी, विष्णु लुइँटेल, प्रकाश नौबाग, बाल प्रतिभा दिव्य घिमिरे, दीपशिखा घिमिरे, देविका बराल, खडा भण्डारी, लेखक सोम भण्डारी, नव गायिका रानी खरेल लगायत साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो।

करीब दुई घण्टा लामो कार्यक्रममा विभिन्न विधाका रचनाहरू प्रस्तुत गरिए। कथाहरू, कविताहरू, संस्मरण र गीत–सङ्गीतले भरिएको कार्यक्रममा सहभागीहरूले नेपाली साहित्यको विविधताको अनुभव गर्न पाए।

कार्यक्रमको सञ्चालन सचिव नारद आचार्य ‘सुदामा’ले गरेका थिए। त्रिवेणी साहित्य मञ्चद्वारा सञ्चालित यो मासिक शृङ्खलाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच भाषा र साहित्यको सेतु निर्माणमा योगदान पुर्‍याइरहेको छ।

https://www.facebook.com/share/v/18jQdFVGLc/?mibextid=wwXIfr

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here