अर्जुन प्रधान/आयोजक
Albury, NSW — अप्रिल ५
अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा शनिबार साँझ एउटा अविस्मरणीय साँगीतिक माहोल बन्यो, जब ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईले आफ्ना दर्जनौं हिट गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध तुल्याए। ‘करण राई नाईट’ नाम दिइएको यो सांगीतिक साँझमा सयौं दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा करण राईको ऊर्जा र प्रस्तुति मात्र नभई, खेलकुदको क्षेत्रमा उदीयमान प्रतिभाहरूको विशेष सम्मान पनि रहेको थियो। करिब १५ वर्ष मुनिका खेलाडीदेखि भूतपूर्व भूटानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरू समेतलाई करण राईका हातबाट सम्मान गरियो।
सांगीतिक कार्यक्रमसँगै, करण राई नाईटले नेपालीभाषी समुदायमा खेलकुदप्रतिको उत्साह र गर्व पनि प्रस्तुत गर्यो। मरे युनाइटेड फुटबल क्लब, मेलबर्न भिक्टोरी, तथा अल्बरी वोडोङ्गा फुटबल संघमा सक्रिय भई खेलिरहेका १५ वर्ष मुनिका युवा खेलाडीहरूलाई सम्मान गरेर कार्यक्रमले उनीहरूको प्रेरणादायी यात्रा उजागर गर्यो।

सम्मानित खेलाडीहरूको सूचीमा थिए:
शिरोन उप्रेती, रोवन रिमाल, इसाक तिवारी, रोवेना रिमाल, रेमण्ड क्षेत्री, रोनन क्षेत्री, देवी भक्ति ढकाल, प्रजिन खड्का, साथै फुटबल रेफ्री संघमा उल्लेखनीय योगदान पुर्याउँदै आएका रोजन रिमाल।
यसका साथै, १९७६–१९८५ मा भूटानको राष्ट्रिय फुटबल टिमका गोलकिपर रहनुभएका टलमान खड्कालाई पनि विशेष सम्मान प्रदान गरियो आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रमको सन्चालन नारायण खनाल ले गरेका थिए ।
करिब १३ वर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरमा उडान भर्ने अवसर पाएका रोवन रिमाल यस वर्ष सेप्टेम्बर १७–२० सम्म सिङ्गापुरमा हुने एसियाकै सबैभन्दा ठूलो युवा फुटबल प्रतियोगितामा मरे युनाइटेड फुटबल क्लबबाट प्रतिनिधित्व गर्दै छन्।

कार्यक्रमको अन्त्यतिर, (Bhutanese Australian Community Support Group in Albury ~Wodonga Inc(BACSGAW) का अध्यक्ष डमर क्षेत्रीले अर्को वर्ष आयोजना हुने महत्वपूर्ण प्रतियोगिताको जानकारी गराए। उहाँले आधिकारिक रूपमा घोषणा गर्नुभयो कि १२औं भुटानी अन्तरराज्यीय प्रतियोगिता २०२५ यही सेप्टेम्बर २६ देखि २९ सम्म अल्बरी-वोडोङ्गामा आयोजना हुने प्रतियोगिताका लागि डम्बर क्षेत्री र नारायण खनाललाई कार्यक्रम निर्देशकको रूपमा चयन गरिएको जानकारी दिनुभयो ।
‘करण राई नाईट’ एक साँगीतिक उत्सव मात्र थिएन, यो युवा प्रतिभाको पहिचान र समर्पणको उत्सव पनि बन्यो। समुदायको एकता, पहिचान र प्रेरणालाई उजागर गर्ने यस्ता कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीभाषीलाई अझ सशक्त बनाउने निश्चित देखिन्छ” साहित्यकार रिमेन आलोकले ग्लोबलपोस्टलाइ बताउनु भयो ।

