काठमाडौँ ।
कवि दिनेश अधिकारीको ५० वर्षे साहित्यिक यात्राको समग्रता झल्काउने कवितासंग्रह ‘पानीको परेड’ लोकार्पण भएको छ । पब्लिकेशन नेपालयले अधिकारीका ५० वर्षे साहित्यिक यात्राको अवसर पारेर यो संग्रह बजारमा ल्याएको हो ।
२०३२ साल चैतमा ‘रत्नश्री’ पत्रिकामा दुई कविता छापिएपछि आफ्नो काव्यिक यात्रा सुरु भएको स्मरण गर्दै अधिकारीले ‘अन्तरका छिटा’ देखि ‘पानीको परेड’ सम्मको यात्रा पार गरेको बताउनुभयो । उहाँले आफ्नो साहित्यिक यात्रामा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन र वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्यको रुपमा लिएको स्मरण गर्नुभयो ।
२०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेलगायत अग्रज कविहरूसँग आन्दोलनमा सहभागी भएको अनुभव सुनाउँदै उहाँले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताउनुभयो । २०३८ सालमा सरकारी जागिरे भएपछि ‘राष्ट्रपुकार’ मा विष्णुविभु घिमिरेसँग संयुक्त रुपमा लेखेको ‘समय’ कविता छापिएको र त्यसपछि १० वर्षको जेल सजाय हुने राजकाज मुद्दामा पक्राउ पुर्जी जारी भएको उहाँले स्मरण गर्नुभयो । उहाँको जागिर संयोगवश जोगिएको थियो ।
आफ्नो ५० वर्ष लामो काव्य यात्राको अनुभव बाँड्दै अधिकारीले कवितालाई जीवनको कलात्मक मन्तव्य वा विद्रोही वक्तव्यको रुपमा व्याख्या गर्नुभयो । उहाँले कविता शिल्प र कल्पनाको अंगालो मात्र नभई भावना र विचारको भंगालो तथा समयको छाप र संवेदनाको एकालाप पनि भएको धारणा राख्नुभयो ।
‘पानीको परेड’ मा पछिल्लो १५ वर्षमा लेखिएका ७७ वटा कविता समावेश छन् । जीवनको ज्वार, आस्थाको आकाश, वक्र (वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी सात खण्डमा कविताहरू समेटिएका छन् ।
पुस्तक लोकार्पण कार्यक्रममा कवि अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका सशक्त कवि मोमिला र नवराज लम्साललाई पुस्तक उपहार दिनुभएको थियो । उहाँले आफ्नी श्रीमती उषा अधिकारीलाई पनि पुस्तक उपहार दिनुभएको थियो । कार्यक्रममा ‘आमा’ कविता वाचन गरेर उहाँले आफ्नो मन्तव्य शुरू गर्नुभएको थियो ।

मदन पुरस्कार विजेता कवि अधिकारीको यो ‘अतिरिक्त अभिलेख’ कविता संग्रह हो । उहाँको अघिल्लो संग्रह ‘भरियाको भूगोल’ पनि नेपालयबाटै प्रकाशित छ ।
पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले कवि अधिकारीले अनुभूतिलाई स्वाभाविक र सन्तुलित रूपमा पस्किने क्षमता राख्ने बताउनुभयो । उहाँले ‘पानीको परेड’ लाई हृदयको रङले पोतिएको सप्तरंगी क्यानभासको संज्ञा दिनुभयो । कलात्मक साहित्यिक मूल्य र योगदानको कदरस्वरूप नेपालयले वर्षमा एक काव्य प्रकाशन गर्दै आएको उहाँ ले जानकारी दिनुभयो ।
Pictures and News Credited: #DineshAdhakariv#Sahityapost.com