खेमनाथ दाहाल कृत महाकाव्य “श्वेत पत्र’’

0
822
प्रा.बालकृष्ण पोखरेल

अमर सिंह थापा शीर्षकको नाटक हिजोको दिल्लीका विरुद्ध तत्कालीन नेपालीहरुले गरेको एउटा ऐतिहासिक युद्धको सजीव चित्रण थियो भने खेमनाथ दाहालबाट विरचित “श्वेत पत्र’’शीर्षकको महाकाव्य आजका दिल्लीका विरुद्ध नेपाली आत्माले संं.२०३६ देखि आजसम्म सार्वभौमिकताको पक्षमा गरिआएको कूटनैतिक युद्धको एउटा राष्ट््रवादी प्रस्तुति हो । राजा वीरेन्द्रले शान्तिक्षेत्रको प्रस्ताव राख्ता भारत बाहेक संसारका सबै देशले स्वीकार गरेको कटुसत्यलाई पेस गर्दै इन्डियाबाट भारतमा परिणत भैसक्ता पनि दिल्ली अझै नेपाललाई राहुले सूर्य वा चन्द्रलाई ग्रसेझैँ ग्रस्ने मनस्थितिमा भइरहेको हुँदा उसले नेपाललाई भरिसक्के सिक्किम नभए पनि भुटान बनाउने गोटी हरेक दिन चलिरहेको यथार्थ उपर प्रकाश पार्नु नै प्रस्तुत महाकाव्यको सारसंक्षेप हो । अन्तर कति मात्र छ भने समले दिल्ली विरोधी आक्रोश नाट््यविधामा पोखेको थिए भने खेमनाथ दाहालले भने महाकाव्यको कलेवर मार्फत् देशभक्तिको पक्षमा वकालत गरेका छन् । के कुरो निर्विवाद छ भने महाकाव्य सफल हुनको लागि प्रवन्ध धर्मिता त्यति नै मात्रामा अनिवार्य हुन्छ जति मात्रामा उपन्यासले पनि सफलताको निम्ति प्रबन्ध धर्मितालाई रोजेको हुन्छ ।

यति मात्र होइन नाट््यविधाको लागि औपन्यासिकता गहना भए झैँ महाकाव्य र उपन्यासको निम्ति पनि नाटकधर्म उत्तिकै सुन्दर गहना हो । उदाहरणार्थ यस महाकाव्यका सर्गहरुमा तीन दिदी बहिनी (नेपाल ,सिक्किम र भुटान) बीच भएको भलाकुसारी महाकाव्यकार देखा नपरीकन सुटुक्क सुन्ने शिल्पलाई महाकाव्य भित्र लुकेको नाटकधर्म भन्न सकिन्छ ।
यस महाकाव्यले स्वीकार गरेका मूलपुरुष हुन् हिमालय । तिनका छोराहरु हुन् कञ्चनजङ्गा, मकालु आदि हिमशिखर । हिमालयका छोरी मध्ये जेठी नेपाल ,माहिली सिक्किम र कान्छी भुटान भएको कुरो महाकाव्यमा वर्णित छ । दिल्लीले सिक्किमलाई निल्यो भनिन्छ । भुटानलाई पनि उसले आधा निलेकै हो भन्ने सुनिन्छ । नेपाललाई पनि निल्ने इरादा ले यहाँ शान्तिको क्षेत्र कायम हुन दिल्लीले दिएन । परन्तु खेमनाथ दाहाल भने त्यसो गर्ने दिल्लीलाई भारत भन्दछन् । यथार्थ कुरो के हो भने भारतमा नेपालको शुभ चिन्तक पनि करोडौ छन् । अतः आज फोहोर राजनीतिको बलले नेपालको भित्री मामिलामा हस्तक्षेप गर्ने शक्तिको नाम भारत नभर्इ दिल्ली हो । म भारतमा पढ्दा यदा कदा सहपाठीहरु सँग यसरी जिस्कन्थे “मेरो नेपाल पनि तेरै आन्ध्र, तेरै तमिलनाडु, तेरै पन्जाव, तेरै केरल, तेरै उडिसा, तेरै बङ्गाल, आदि झैँ भारतको प्रान्त भए क्या मजा हुने थियो । कसो !’’

मैले यसो भनिटोपल्दा मेरा प्रायः सबै सहपाठीहरु मलाई यसरी झम्टिन्थे“हेर केटा,भारत भनेको लगभग एक यूरोप हो । एक यूरोपमा थुप्रै देश भएझैँ भारतमा पनि थुप्रै देश हुनु पथ्र्यो । दुर्भाग्यवश मुगल र अङ्ग्रेज साम्राज्यवादीहरुले गर्दा अझै हामी साम्राज्यवादको शिकार छौ तैपनि तिमी नेपालीहरुलाई मापदण्ड मानेर ढिलो चाँडो साम्राज्यवादीको पन्जाबाट उम्कने हाम्रो सपना छ । तर तँ भारतमा मिल्छु भन्छस् भने हाम्रा सपनाको शत्रु ठहरिन्छस् तँ ।’’आफ्ना सहपाठीहरुका वचन अझै मैले बिर्सेको छैन । यसैले म नेपालको शत्रु भारत नभई दिल्ली हो भन्दछु प्रायः । उहिले अमरसिंहहरुको पालोमाझैँ आज पनि हाम्रो शत्रु दिल्ली नै छ भन्ने कुरो सत्य हो । जबसम्म दिल्लीमा तोमर र चौहानहरुझैँ प्रातः स्मरणीय चरित्र थिए दिल्ली पनि आजझैँ विस्तारवादी थिएन , जव जयचन राठौरझैँ कुपुत्रहरुले दिल्लीलाई जुठ््याए त्यो दिन देखि आजसम्म दिल्ली छिमेकी देशहरुको लागि खलनायकवत छँदैछ । अझै हामी सङ्कल्प गर्दा भारतवर्षे भरतखण्डे भन्दछौं । त्यसो भन्नु दिल्लीको मातहतमा पक्कै भनिएको होइन । त्यसो भन्नु सार्क भन्ने इलाकामा छौं भनिएको थियो । परन्तु सारा सार्कको साझे नाउँ दिल्लीको जिम्मामा सुम्पनु नै वर्तमानमा दिल्लीलाई विस्तारवादी हुने अवसर दिनुको कारण हो । त्यसको पाप दिल्लीलाई पनि कम लागेको छैन । जति मासिक तलप जापान, कोरिया र मलेसियाहरु आफ्ना पिउनलाई खुवाउँदैछन् त्यति तलब दिल्लीले आफ्ना शाखा अधिकृतहरुलाई खुवाउन सकेको छैन । सार्कका भाइ फुटेसम्म गँवारहरुले लुट्दै रहनेछन् सार्कलाई ।
महाकाव्य (श्वेतपत्र)को समीक्षा प्रध्यापक गोपीकृष्ण गौतम(ज्ञानेशवर)ले सूक्ष्म रुपमा गर्नु भएको छ । यसबारे भुटानका प्रजातन्त्रवादी नेताको विचार पनि मैले पढें । यसबारे लेखक गण्डकी पुत्रले गरेको समालोचना मैले बिराटनगरबाट प्रकाशित हुने “उद्घोष” दैनिकको वैशाख मसान्तको अङ्कको दोस्रो पृष्ठमा पढें ।

यसबारे लेखक स्वयंले पनि महाकाव्य थालिनुभन्दा पूर्व सिरानमा व्यक्त गरेका विचारबाट के चाल पाइन्छ भने हिमवत्खण्ड विश्वमानचित्रको एउटा छुट्टै संस्कृति र छुट्टै स्वाभिमानको संसार हो । यसलाई हामी नाम्लो, बरिया,े खक्कन र तोक्माको संस्कृति भन्न सक्छौं । दहीका कहताराहरु लादिएका खर्पन काँधमा बोकेर आनन्दित हुन्छ नेपाल । यही खर्पनलाई होइन र हाम्रो प्यारो डोटीले अगिन्नर–पछिन्नर भनेको ! पानीको गाग्री टाउकामा बोक्छे तराई(थरहट)की थरुनी,तर त्यसलाई कम्मरमा बोक्छे पहाडी लेकाल्नी । उत्तरको गोपालकोट(गलकोट)देखि दक्षिणको गोपालडुब्बा(ग्वालडुब्बा)सम्मको सालाखाला परम्परा हो नेपाली अस्मिता । दक्षिणको यादव(जादव)र उत्तरको यादव(जाड)बीचको मायाँको अव्यक्त वन्धन हो नेपालीयता । दक्षिणको पाडाजुङ्गीनेरको गौह्रादह (तथाकथित गौरादह)मा पौरी खेल्ने भैँसी र उत्तरको हिमालमा चर्ने उसकी दिदी चौँरी बीचको बन्धन हो नेपाल । भन्छ भोटे अनुश्रुति चौँरीले राम्दा तल शिर झुकाएको आफ्नी बहिनी भैँसीलाई डाकेकी हो रे । भैँसी कराउँदा ठाडो शिर लागाएको आफ्नी दिदी चौँरीसँग कुरा गरेको हो रे । मूर्ख मतिले गर्दा आफ्नो अस्मिता बिर्सिएको व्यक्ति ठान्ला केवल उनन्तिसहजार फिट भन्दा माथिको चुचुरो मात्र सगरमाथा हो । तर देशभक्त गिदीले भन्छ केचना कवलको सत्तरी फुटे उँचाइ पनि सगरमाथा नै हो । यसलाई भनिन्छ प्रजातान्त्रिक शोच ।

यस शोच अनुरुप पगेटमा एक रुपयाँ हुने व्यक्ति पनि देशको नागरिक भएझैँ फगत सत्तरी फुट मात्र अग्लो ठहरिने केचना कवल पनि सगरमाथा नै हो नेपालको , किनभने सत्तरी फुट सगरमाथा नै भएकाले हिमाल बाहिर नेपाल छैन भन्ने बोध “श्वेत पत्र’’का स्रष्टा खेम भाइलाई भएको हुनु पर्छ ।
खास कथानक छैन यस महाकाव्यको । तैपनि चलचित्र हेरेझैँ वार्ता भएको घटना सुन्ने सुयोग जुट्छ कविलाई । बोल्न कति रहर लाग्यो होला कविलाई हर पाइलोमा । तर बाध्य भएर तीन दिदी बहिनी (नेपाल,सिक्किम र भुटान)को बोलीमै आफ्नो गन्थनलाई जिम्मा सुम्पेर कवि खेमको कलम अघि बढ्दछ । यसरी चौधौँ सर्गसम्म बोल्ने पात्र चार (तीन दिदी बहिनी र एक तिनका पिता हिमाल)हुन्छन् र सुन्ने पात्र एक –महाकाव्यका लेखक कवि (खेमनाथ)रहन्छन् । भन्नाले चौधौँ सर्गमा केवल पाँच पात्रहरु सक्रिय छन् । तर अन्तिम या पन्ध्रौ सर्गमा बोल्ने पात्र केवल खेमनाथ दाहाल बन्दछन् र सुन्ने पात्र उनका असङ्ख्य पाठकहरु बन्दछन् । खेमनाथले लामो मौनता भङ्ग गरेर वक्ताको अभिभारा बोकेको यस सर्गलाई उनले उद्घोषण नाउँ दिएका छन् । भौतिक विज्ञानको एउटा कथन छ प्रत्येक क्रियाको समान परन्तु उल्टो प्रतिक्रिया हुन्छ (फर एभ्री एक्सन देयरिज इक्वल एण्ड अपोजिट रिएक्सन) । हो महाकवि खेमनाथ दाहालको मुखवाट निस्किएको यो उद्घोषण उपर्युक्त कथन बमोजिमको एक रिएक्सन हो । अर्को किसिमले उच्चार्ने र आखर्ने हो भने यो त्यस खालको रियाक्सन हो ।

उद्घोषणका मुखर पात्र कवि खेमनाथले रअ को इसारामा मृत्युवत् नाच्ने दिल्लीको ब्यूरोक्रसीको कडा शब्दमा आलोचना गरेका छन् । रअ सँपेरा हो र दिल्लीको ब्यूरोक्रेसी उक्त सँपेराको बिन बाजाको सुरमा नाच्ने साँप हो । त्यो व्यूरोक्रसीले छिमेकी सस्याना देशको सार्वभौमिकतालाई धक्का पु–याउन थालेको छ । ठट्टाठट्टैमा सिक्किमलाई पूरै र भुटानलाई आधा निलेको छ उक्त साँपले । सीमास्तम्भ नाउँका मुर्चलहरु धमाधम उखेल्दै अनि नेपालको घरेलु नीतिमा हस्तक्षेप गर्दै अब नेपाललाई भुटान बनाउने तयारीमा लागेको छ त्यो व्यूरोक्रेसी । महाकवि खेमनाथको के अठोठ छ भने बुद्ध, जनक, भृकुटी र अर्निकोको देश नेपालले टिट फर ट््याटको जबाफ दिनु पर्छ त्यो जयचन धर्मी व्यूरोक्रेसीलाई । भन्छ“श्वेतपत्र’’को उद्घोषण–अब साच्चै निहुँ खोज्छ व्यूरोके्रसी भने भुटान, सिक्किम, गोर्खाल्याण्ड ,नेपाल, कुर्माचल,केदारखण्ड,हिमाञ्चल,कश्मीर र लद्दाखहरु बाध्य हुनेछन् यो कुत्सित व्यूरोक्रेसीका विरुद्ध संयुक्त लड्न । यही हाँक दिएर महाकाव्य समाप्त हुन्छ ।

पाँच लाख जनसङ्ख्या भएको सिक्किम निले झैँ सरल कार्य पाँच करोड नेपालीको देश नेपाल निल्नु कदापि हँुदैन निल्नु र ओकल्नु को बीचमा पर्ने छ व्यूरोक्रेसी यदी उसले भूल ग–यो भने । जनमत अनुसार मुसलमानको भागमा परेको भू भागलाई पाकिस्तान हुन दिने तर हिन्दूको भागमा परेको भू भागलाई हिन्दूस्तान हुन नदिने जयचनवादी व्यूरोक्रसीलाई कलात्मक ढङ्गले दिइएको एक हाँक हो यो महाकाव्य । अति गर्नू तर अतिचार चाहि नगर्नू भन्दछ महाकाव्यले व्यूरोक्रेट तिर आँैला उठाउँदै । म सहमत छु महाकविको उद्घोषणसित । फगत एक कुरामा असहमत छु म । त्यो के हो भने भारतलाई खलनायक नबनाऔं, कारण करोडौँ भारतीयहरु हिमालका मित्र पनि छन् । दिल्लीलाई खलनायक बनाइन्छ कलात्मक ढङ्गले भने त्यसमा म असहमत छैन ।

हिन्दूको भागमा परेको भू भागलाई जसले हिन्दूस्थान हुन दिएन त्यसै व्यूरोक्रेसीले नेपालको खुलासीमाबाट अनुचित लाभ उठाएर नेपालमा विघटनको सपना देखि रहेको छ । महाकविलाई ठ्याम्मै विश्वास छैन ती जयचनवादी व्यूरोक्रेटको धोको पूरा होला भन्ने । हो म सहमत छु महाकविसित । जो डरले बोल्न नसक्लान् ती पनि मनमनै पक्कै सकमत होलान् ।
यी भए “श्वेतपत्र’’का छन् पात्रका आश्रित केही गनथन । यत्तिकै मार्मिक गनथन समेटिन सक्छ “श्वेतपत्र’’का छैनन् पात्रहरु मार्फत् पनि । पुराणमा हिमालयका एक छोरी मात्र छन् जसको नाम हो पार्वती,तर “श्वेतपत्र’’मा पार्वतीको बदलामा नेपाल,सिक्किम भुटान(आदि)नाउँका थुप्रै छोरीहरु छन् हिमालयका । पुराण मैनाक नामक एक पुत्र दिएर चुप्प लाग्छ परन्तु “श्वेतपत्र’’भने कञ्चनजङ्घा, मकालु आदि नाउँ गरेका थुप्रै पुत्र दिएर पनि थाक्तैन हिमालयलाई । पुराणले मेना अथवा मेनका नामकी सुन्दरी पत्नी खोजेर बिहे गरिदिन्छ हिमालयसित । मैले आदौमा श्रीमेना (आर्मेनिया) र दौर्गमेना(तुर्कमेनिया) मा आश्रित यो मेना (मेनका) अस्मिताको आफ्नै भूमिका रहेको तर्क केही वर्षदेखि गर्दै आएको छु ।

मैले नेपालको उदयपुर जिल्लामा रहेको एक स्थलको नाम मैनामैनी रहनुका पछि यसै प्राचीन मेनकाको हात छ भनी भन्दै आएको छु । संस्कृतमा बोको(खस)लाई मेनाद भनिन्छ । मेनाद भनेको मेनाभक्षी(मेनाको शत्रु)भनिएको हो अझै केही राई भाषमा बाख्रोलाई मेन्दवा(मेनाद ! ! !) भनिदैछ । यो विषय बेग्लै भएको हुँदा यहाँ थन्काउनु उचित होला । हिमालको परिपे्रक्ष्यमा खसजाति(बोको)लाई जतिनै आलोचना गरे पनि त्यसले मेनापुत्री पार्वतीलाई जति आदर गरेको छ त्यति आदर कसैले गरेका छैनन् । खस समाजमा छोरी,दिदी,बहिनी आदिको पाउमा ढोक्ने चलनको मूल पार्वती प्रतिको आस्था हो भन्ने कुरामा शङ्का छैन । छोरी पार्वतीको प्रतीक भएकाले छोरीको गोडामा ढोक्नेहरु जम्मै हाम्रा आदिवासी हुन् नढोक्नेहरु जम्मै भित्रिया नभई इतर हुन् । इतरहरुलाई कालान्तरमा भित्रिया बनाउने संस्कार मानव जातिकै साझे धन हो ।

मैले भर्खरै छामेको कटुसत्य के हो भने सं २०६२मा दिल्ली दरवारमा गएर जुन जुन दलहरुले बाह्रबुँदे सम्झौता गरेर आएका छन् तिनले नेपालमा इतरहरुलाई दुई तिहाई बनाएर यसलाई थुप्रै गण नामधारी गिंडहरुमा परीणत गरी सुगौली सन्धिले देखाउन नसकेका चमत्कार देखाउने अठोट लिएका छन् । नेपाल छिया छिया भयो भने त्यो भुटानभन्दा कमजोर पङ्गु देश हुनेछ र त्यसलाई उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने लुतेमा परिणत गर्न सकिनेछ भन्ने विश्वास आफ्नो हातमा परेको हिन्दूस्थानलाई धर्म निरपेक्ष नामक बनियाँको हातमा बेच्ने नवजयचनहरुको छ ।

तर नवजयचनहरुले के कुरा राम्ररी बुझ्नु आवश्यक छ भने तिनको धर्मनिरपेक्षता नामक स्लो पोइजनले अब निकट भविष्यमै भारतमा हिन्दूहरुलाई अल्पसङ्ख्यक बनाउने षड्यन्त्र गर्दैछ । त्यहाँ धमाधम बाबा र मैयाँहरु डेडी र ममी हँुदैछन् ।त्यहाँ वेगले प्रणाम वा नमस्कारहरु हाई अथवा हेलो हुँदैछन् । धर्मनिरपेक्षता नाउँको अफिमको खेती गरेर इस्लाम र क्रिस्तानहरु हिड्ने बाटोलाई कालोपत्रे बनाउन व्यस्त छ नवजयचनवाद आज दक्षिण एसियामा ।
अकबरको पालासम्म कति मीठो थियो दक्षिण एसियामा हिन्दू र मुसलमानको नाता । अकबरकी एक पत्नीले हिन्दूधर्म त्याग नगरी महलमा बस्न पाएकी थिइन् । ती थिइन् मानसिंहकी दिदी । चौथीको चाँदका दिन बादशाह अकबर हिन्दू विधि अनुसार मानसिंहकी दिदीको आरती ग्रहण गर्थे । कति मीठो थियो हिन्दू र मुसलमानको नाता अखबरको समयमा । तर ती दुईलाई जुधाएर फाइदा लिन पल्केका क्रुसेडधर्मी उग्रवादीहरुले आज मुसलमान र हिन्दूलाई दुई कट्टर शत्रु बनाएका छन् ।
भन्छन् बुज्रुकहरु बन्दुक भन्दा ठूलो हतियार कलम हो । संसार भरि नै कलमको इलाकामा दक्षिण एसिया जति धनी छ त्यति अरु कोही पनि छैनन् ।

अतः एटमबमहरु भयभीत छन् हाम्रा वेद,पुराण र शास्त्रहरुदेखि । यदि कलमको यस खजानाप्रति हाम्रा दक्षिण एसियालीहरुको मनमा घृणा उत्पन्न गर्न सकियो भने अरु योद्धाहरुलाई गद्दाफी,होस्नी मुबारक,सर्बिया आदि लाई जिते भैmँ सहजै जितिनेछ भनी धर्मनिरपेक्षतावादी नवजयचनहरु नेपालमा रहेको सांस्कृतिक गठवन्धनलाई तोड्न जाँगरिएका हुन् । होस गर इस्लाम,बौद्ध र जैनहरु हो वेद र पुराण खरानी भए भने तिमी पनि भस्म हुने छौ । विश्वास गर क्याथोलिकहरु हो वेद र पुराण नष्ट भए भने प्रोटेस्टेन्टले तिम्रा सम्प्रदायलाई पनि सखाप पार्ने छन् । विश्वास गर सबै, कलम झै प्रबल हतियार अर्को हुदैन ।
खेमनाथ दाहाल भाइको महाकाव्य(श्वेतपत्र)लाई म मुरीका मुरी धन्यवाद दिन्छु , जसका हरफहरु पढेर नवजयचनवादीहरुका विरुद्ध कलमका टाँका कुदाउने अवसर मैले पाएँ । यस्तो सशक्त महाकाव्यलाई संस्करण पिच्छे झन् जीवन्त पार्दै लाने सुझाउका साथमा म कलम यहीं बिसाउँछु ।

सं. २०६८.१.३०.६
balkrishna.rupabasi@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here