विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

0
750

विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025 प्रदान गरेको छ। सन् २०२२ देखि सञ्चालन हुँदै आएको यो कार्यक्रमले यस वर्ष कानुन तथा राजनीति विज्ञानकी विद्यार्थी निकुञ्ज आचार्य र अङ्ग्रेजी तथा शिक्षा (Concurrent) की विद्यार्थी प्रिया आचार्यलाई सम्मान गरेको हो।

उनीहरूले शैक्षिक उत्कृष्टता र लगनशीलताका कारण छात्रवृत्ति पाएका हुन्। यस अवसरमा BCA का अध्यक्ष क्रिष अधिकारीले भने, “हाम्रो समुदायका युवाहरूले उच्च शिक्षामा देखाएको परिश्रमले गर्वको अनुभूति गराएको छ। यो छात्रवृत्ति आर्थिक सहयोग मात्र नभई उनीहरूको भविष्यप्रति गरिएको लगानी हो।”

छात्रवृत्ति: समुदाय र शिक्षाबीचको सेतु

यस वर्षको कार्यक्रमलाई 401 Homes Realty ले प्रायोजन गरेको छ। कम्पनीका Broker of Record बलराम काफ्लेले शिक्षाको महत्त्व र सामुदायिक जडानलाई जोड्दै भने, “समुदायका होनहार विद्यार्थीलाई सहयोग गर्नु हाम्रो गर्वको विषय हो। शिक्षा समर्थन गर्नु हाम्रो सामाजिक दायित्व हो।”

छात्रवृत्ति प्राप्त गरेकी प्रिया आचार्यले यस पुरस्कारलाई समुदायको विश्वासको प्रतीक बताउँदै भनिन्, “यसले मलाई अझ बढी मेहनत गर्न प्रेरित गरेको छ। म भविष्यमा जिम्मेवार नागरिक बनेर समाजको हितमा योगदान गर्नेछु।”

त्यस्तै, कानुनकी विद्यार्थी निकुञ्ज आचार्यले भनिन्, “यो छात्रवृत्ति पाउनु मेरो लागि ठूलो सम्मान हो। यसले मलाई कानूनी शिक्षा र सामुदायिक सेवाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रेरित गरेको छ।”

यस कार्यक्रमले विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण समुदायलाई पनि शिक्षाप्रति एकजुट बनाउने प्रयास गरेको छ। निकुञ्ज र प्रियाको उपलब्धि समुदायकै साझा गौरव भएको उल्लेख गर्दै आयोजकहरूले भविष्यमा अझ धेरै युवालाई प्रेरणा दिने अपेक्षा राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here