@अर्जुन प्रधान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया
‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष समारोहमार्फत स्वाकारोक्ति फाउन्डेसन, इन्कलाई प्रदान गरिएको छ। पुरस्कार हस्तान्तरण कार्यक्रम डेरी स्ट्रीटस्थित सम्पन्न भएको थियो।
यो वर्षको विजेताको घोषणा यसअघि नेदरल्यान्ड्सको हेगमा सम्पन्न छैटौं बृहत् अन्तरराष्ट्रिय सृजनात्मक अनुष्ठान(GICC) मा १४ जुन २०२५ का दिन गरिएको थियो भने आधिकारिक हस्तान्तरण आइतबार, अगस्ट ३१, २०२५ मा सम्पन्न भएको हो।

दिनेश चाम्लिङका नाममा उनका दाजु नरेन चाम्लिङ तथा परिवारले सुरु गरेको यस पुरस्कारले साहित्य, समाजसेवा, समुदाय निर्माण तथा समाजलाई जागरण गर्ने काममा आत्मसमर्पित योगदान पुर्याउने व्यक्तित्व वा संस्थालाई सम्मान गर्दै आएको छ। यसअघि समाजसेवी तथा पत्रकार रमेश गौतम र दार्जिलिङका साहित्यकार डा. महेश दाहाललाई यो पुरस्कार दिइसकिएको थियो।
यस वर्षको पुरस्कार चाम्लिङ परिवारले स्विकारोक्ति फाउन्डेशनलाई प्रदान गरेको छ। शान्ति, समानता र न्यायिक रूपमा सबै अस्तित्वको सम्मान गर्ने स्विकारोक्ति दर्शनका योगदानलाई उच्च मूल्याङ्कन गर्दै यो निर्णय गरिएको हो।
नरेन चाम्लिङले भने”निश्चय नै, स्वीकारोक्ति दर्शनले समुदायभित्र जीवन, सकारात्मकता र सद्भावको बारेमा चेतना बढाउनमा अत्यन्तै उल्लेखनीय काम गरेको छ। यस्तो उदात्त प्रयासलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो, र यो पुरस्कार यस बाटोलाई प्रोत्साहन गर्न हाम्रो परिवारको प्रतिबद्धताको एक प्रतीक हो ।”
पुरस्कार ग्रहण गर्दै फाउन्डेसनका अध्यक्ष तथा स्वाकारोक्ति दर्शनका प्रवर्तक डेनजोम साम्पाङले गहिरो कृतज्ञता व्यक्त गरे। कार्यक्रममा वरिष्ठ लेखक गण्डकी पुत्र, साहित्यकार लिला निशा, समाजसेवी द्रोपधी प्रधान, वरिष्ठ कवि ई.आर. टी.आर. राई(अंशु),सामुदायिक अगुवा टी.बी. गुरुङ, ह्यारिसबर्ग भूटानी कम्युनिटीका अध्यक्ष तिलक निरौला, साथै विभिन्न लेखक, पत्रकार र भूटानी,नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रत्येक संस्करणसँगै दिनेश चाम्लिङ स्मृति युवा पुरस्कारले साहित्य, दर्शन र समाजसेवाबीच पुल बाँध्दै दिवंगत कवि दिनेश चाम्लिङको कवितामय भावनालाई जीवित राखिरहेको छ।