१६ भदौ, काठमाण्डौ । मुलुकभर हरितालिका तीजको रौनक देखिएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा आज दर्शनार्थी र ब्रतालु महिलाको घुँइचो लागेको छ ।
भगवान शिवको पूजा उपासना र दर्शनका लागि पशुपतिमा विहानै देखि महिला ब्रतालुको भीड रहेको थियो । बिहान ३ बजदेखि नै पशुपति नाथको चारै ढोका खोलिएको थियो । तीजमा लाग्ने विशेष मेला भक्तजनको भिडलाई लक्षीत गर्दै पशुपति क्षेत्र विकास कोसले यस्तो व्यवस्था मिलाएको हो।
मन्दिर प्रवेश गर्न मुख्यरूपमा ४ स्थानबाट लाईनको व्यवस्था गरिएको छ। एउटा लाईन गुह्येश्वरी-गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाईन जयवागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाईन एयरपोर्ट–पिङ्गलास्थान-चार शिवालय हुँदै दक्षिण ढोकाबाट, र चौथो लाइन बत्तिसपुतली-गौशला-पिङ्गलास्थान हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
यस्तै पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारी, सिफल चौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ। नेपाल र भारतका दर्शनार्थीहरुका लागि व्यवस्थत दर्शनको वयवस्था भएपिन तेस्रो मुलुकबाट आएका पर्यटकलाई भने मन्दिर प्राङगण प्रवेश निषेध गरिएको छ। असक्त र जेष्ठ नागरिकले मन्दिर दर्शनका लागि लाइन लाग्नु नपर्ने व्यवस्था कोषले मिलाएको छ।