१५ भाद्र, काठमाण्डौ । नेपालको बैंकिङ प्रणालीबाट एक करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दरबारमागस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेर सार्बजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको छ । उनीहरुले शनिवारसम्म १ करोड ३६ लाख रुपैयाँ बैकको एटीएमबाट निकालेको देखिएको छ । परिसरको विषेश टोलीले सूचनाको आधारमा उनीहरुलाई आइतवार बिहान नियन्त्रणमा लिइएको थियो ।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन । उनीहरु चीनबाट नै नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजनाका साथ नेपाल आएको देखिएको परिसरका प्रमुख एसएसपी सुवेदीले बताए । उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए । होटेलको तीन वटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका थिए ।