ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया

0
11

जेष्ठ २६, २०८३अर्जुन प्रधान

ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare Healthcare र Serenity Home Health Agency का सञ्चालक डिल्लीराम अधिकारीले आफूहरू कुनै पनि प्रकारको ठगीजन्य गतिविधिमा संलग्न नरहेको दाबी गर्दै आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

अधिकारीका अनुसार सन् २०१६ मा Americare Healthcare र सन् २०१९ मा Serenity Home Health अधिग्रहण गरेयता संस्थाहरूको मुख्य उद्देश्य समुदायलाई गुणस्तरीय र करुणामय सेवा दिनु रहेको छ। उनले अहिले करिब २,४०० स्वास्थ्यकर्मीलाई रोजगारी दिइरहेको र ओहायोभर २,२०० भन्दा बढी सेवाग्राहीलाई सहयोग गरिरहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा सेवाग्राहीलाई प्रदान गरिएको सेवाको प्रमाण, प्रत्यक्ष हेरचाहमा खटिने कर्मचारीलाई दिइने उच्चदरको भुक्तानी र करसम्बन्धी अभिलेखहरू सुरक्षित रहेको दाबी गरिएको छ। साथै, बिल गरिएको रकममध्ये कुनै रकम आफूहरूले रोकिराखेको भन्ने आरोप अस्वीकार गर्दै सबै कागजात आवश्यक परे प्रस्तुत गर्न तयार रहेको जनाइएको छ।

संस्थाले ओहायो डिपार्टमेन्ट अफ मेडिकेडको प्रशासनिक अनुसन्धानमा पूर्ण रूपमा सहकार्य गरिरहेको पनि बताएको छ। अधिकारीले होम हेल्थ एजेन्सीको सञ्चालन नीति, प्रक्रिया र प्रणालीबारे पूर्ण बुझाइ बिना सार्वजनिक टिप्पणी नगरिन आग्रह गर्दै मिडिया र सर्वसाधारणलाई तथ्य जाँच गरेर मात्र बोल्न अनुरोध गरेका छन्।

यसैबीच, ग्लोबल पिपुल एलायन्स (GPA) ले मेडिकेयर ठगी, स्वास्थ्य सेवा सम्बन्धी धोखाधडी वा सार्वजनिक स्रोतको दुरुपयोगमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने भन्दै कडा निन्दा गरेको छ। तर संस्थाले केही व्यक्तिको कथित गलत कार्यका आधारमा सम्पूर्ण भुटानी-नेपाली समुदायलाई दोषी ठहर गर्ने वा कलंकित गर्ने प्रयासको विरोध पनि गरेको छ। GPA का अनुसार भुटानी-नेपाली समुदायले ओहायो र अमेरिकाभर शिक्षा, स्वास्थ्य, साना व्यवसाय, सार्वजनिक सेवा र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।

कमल धिमालले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै आफूले अमेरिकी Medicaid बाट ९ मिलियन डलर बिल नगरेको दाबी गरेका छन्। उनले सन् २०१७ मा नर्थ क्यारोलिनामा Melody Home Care नामक व्यवसायमा केही समय साझेदारका रूपमा संलग्न रहे पनि एक वर्षपछि स्वेच्छाले बाहिरिएको र त्यसपछि सञ्चालन वा Medicaid बिलिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्। धिमालले कुनै गैरकानुनी बिलिङको प्रमाण भए अनुसन्धानका लागि आफू तयार रहेको भन्दै तथ्य, प्रमाण र निष्पक्ष समीक्षा आधारमा मूल्याङ्कन गर्न समुदायसँग आग्रह गरेका छन्।

Dilli Adhikari, CEO, Intra-National Home Health Agency

धिमालले गलत समाचार र आधारहीन आरोपले आफ्नो परिवार, सहकर्मी र समुदायमा मानसिक दबाब सिर्जना गरेको उल्लेख गर्दै, आफ्नो नेतृत्वसँग जोडिएको ॐ सेन्टर दिव्य धाम तथा सामुदायिक अभियानलाई कमजोर बनाउन खोजिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। उनले उक्त अभियान १०८ परिवारको सहयोग, ऋण, विश्वास र समर्पणबाट स्थापित सामुदायिक संस्था भएको र त्यसका आर्थिक अभिलेख, ऋण सम्झौता, दान विवरण र खर्च विवरण सुरक्षित रहेको बताएका छन्।

यता भुटानी पत्रकार टीपी मिश्राले पनि सार्वजनिक भएको रिपोर्टप्रति आलोचना गर्दै त्यसले ठोस प्रमाणभन्दा बढी अनुमान, बिलिङको कुल रकम, व्यापार स्वामित्व र सम्पत्तिको प्रदर्शनमा आधारित निष्कर्ष दिएको बताएका छन्। उनले राम्रो अनुसन्धानमूलक पत्रकारिताले प्रमाण देखाउनुपर्ने, केवल आरोपलाई सत्यझैँ प्रस्तुत गर्न नहुने धारणा राखेका छन्।

अर्कोतर्फ, अमेरिकी पत्रकार लुक रोजियाकले ओहायोसहितका राज्यमा सञ्चालित मेडिकेड वेभर गृह-सेवा कार्यक्रमहरूमा व्यापक ठगी भएको दाबी गर्दै हाउस ओभरसाइट कमिटीमा प्रस्तुत गरेको प्रतिवेदनप्रति नेपाली-भुटानी समुदायभित्र तीव्र असन्तुष्टि देखिएको छ। समुदायका अगुवा डिल्ली अधिकारीले उक्त समचारलाई पूर्वाग्रही र आधारहीन ठहर गर्दै यसलाई समुदायमाथिको रङ्गभेदी प्रहारका रूपमा व्याख्या गरेका छन्। उनले गृह-सेवा प्रदायकहरूले म्यानेज्ड केयर संस्था र वेभर समन्वयकर्ताको सिफारिसपछि मात्र सेवा दिने भएकाले नियमविपरीत गतिविधि सम्भव नहुने दाबी गरेका छन्।

अधिकारीले समुदायले जानाजानी ठगी गर्ने आरोप अस्वीकार गर्दै देखिएका त्रुटि भए ती अनजानमै हुन सक्ने बताएका छन्। उनले “यो हाम्रो समुदायको प्रगति र उपलब्धिप्रतिको ईर्ष्या हो” भन्ने धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा उद्धृत गरिएको भन्दै भुटानी समुदायसँग आफ्नै राज्य नभएकाले लगानीका अवसरहरू सीमित रहेको तर्क पनि अघि सारेका छन्। उनका अनुसार यो विषय केही गृह-सेवा व्यवसायीको मात्र नभई समग्र समुदायको छविसँग जोडिएको मुद्दा हो।

रोशन अधिकारीका बुबा खड्डनन्द अधिकारीले आफ्नो र परिवारको महानहानी भएको बताउदै कुनै पनि प्रकारको गैरकानूनी गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै मेडिकेड ठगीका आरोपमाथि निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेका छन्। “यदि कसैले अपराध गरेको छ भने उसलाई कानुनी दायरामा ल्याइनुपर्छ,” उनीहरूले भने, “तर केही व्यक्तिको आधारमा सिङ्गो समुदायलाई दोषी ठहर गर्नु न्यायसंगत हुँदैन।”

समग्रमा, यो विवादले अमेरिकी मेडिकेड प्रणालीको निगरानी, आप्रवासी समुदायको छवि, सार्वजनिक जिम्मेवारी र मिडियाको भूमिकाबारे नयाँ बहस चर्काएको छ। भुटानीज कम्युनिटी अफ सेन्ट्रल ओहायोका कार्यकारी निर्देशक सुदर्शन प्याकुरेलसहितका प्रतिनिधिहरूले एक अनलाइन रिपोर्टमा उल्लेख गरिएको “८१ प्रतिशत समुदाय सरकारी सुविधामा निर्भर” र “१९ प्रतिशतले स्वास्थ्य व्यवसाय सञ्चालन” गर्ने दाबीलाई पूर्ण रूपमा बनावटी र तथ्यविहीन बताएका छन्। उनीहरूले काउन्टी र सार्वजनिक वित्तीय अभिलेख उद्धृत गर्दै ओहायोमा बसोबास गर्ने भुटानी-अमेरिकी घरधुरीमध्ये करिब २३ प्रतिशतले मात्र कुनै न कुनै सार्वजनिक सहायता लिने गरेको स्पष्ट पारे—जुन राष्ट्रिय औसत (करिब २१ प्रतिशत) सँग नजिक रहेको उनीहरूको दाबी छ।

निर्देशक सुदर्शन प्याकुरेलले कुनै पनि प्रकारको गैरकानूनी गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै मेडिकेड ठगीका आरोपमाथि निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेका छन्। “यदि कसैले अपराध गरेको छ भने उसलाई कानुनी दायरामा ल्याइनुपर्छ,” उनीहरूले भने, “तर केही व्यक्तिको आधारमा सिङ्गो समुदायलाई दोषी ठहर गर्नु न्यायसंगत हुँदैन।” सरकारसँग पारदर्शिताको माग नेतृत्वले स्थानीय, राज्य र संघीय सरकारलाई यस्ता भ्रामक प्रचारको प्रतिवाद गर्न आधिकारिक तथ्यांक सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, दुवै राजनीतिक दलका नेताहरूलाई विभाजनकारी भाष्यको सार्वजनिक रूपमा निन्दा गर्न पनि आह्वान गरिएको छ। समुदायका प्रतिनिधिहरूले आरोप जस्तोसुकै भए पनि त्यसको छानबिन प्रमाण, प्रक्रिया र व्यक्तिगत उत्तरदायित्वका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। ओहायो डिपार्टमेन्ट अफ मेडिकेडले मध्य ओहायोका ४९ उच्च-जोखिम home health प्रदायकको भुक्तानी निलम्बन गरेको छ। राज्यका अनुसार सम्भावित ठगी संकेत र बिलिङ ढाँचामा देखिएका अनियमितताका आधारमा उनीहरूलाई अनुसन्धान दायरामा राखिएको हो। तर, निलम्बित प्रदायकमध्ये कुन-कुन भुटानी मूलका हुन् भन्ने कुरा हालसम्म सार्वजनिक रूपमा स्पष्ट गरिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here