२४ जून, २०१८ | शेरबहादुर कार्की
गान्तोक। भौतिक संसाधनले मात्र मान्छेलाई विकसित बनाउँदैन। मान्छेको मानसिक विकास हुन पनि जरूरी छ। मानसिक विकास भाषा-साहित्यको अध्ययन अनि चिन्तनले मात्र सम्भव हुन्छ। नेपाली भाषालाई अहिले गाउँले भाषा हो भन्ने सोंचको विकास भइरहेको छ। यस दिशामा पनि नेपाली समाज र सर्जकहरूले चिन्तन गर्न आवश्यक बन्दै गएको छ। उक्त मन्तव्य सडक तथा पुल विभागका मन्त्री गर्जमान गुरूङले व्यक्त गरेका हुन्। उनी आज नेपाली साहित्य परिषद भवनमा सुरेखा ढुङ्गेलकृत प्रेरणाको गोरेटो पुस्तकको लोकार्पण समारोहमा मुख्य अतिथिका रुपमा रहेका थिए। आफ्नो सम्बोधनमा उनले भने, हामी नेपाली संस्कार र संस्कृति खोज्छौं तर हामी आफै आफ्ना नानीहरूलाई नेपाली भाषा बोलेको खण्डमा जरिमाना लाग्ने स्कूलमा पढाउँछौं। हामी पुस्तकहरू प्रकाशित गर्छौं तर भारतका लब्ध प्रतिष्ठित पुस्तकालयमा आफ्नै पुस्तकहरू पुर्याउनमा सक्षम भइरहेका छैनौं।

नेपाली समाजमा आएको विकृतिको व्याख्यन गर्दै उनले भने, नेपाली समाज अहिले न जाँतोमा फिट हुन्छ न हातोमा, न हलो जोत्न जान्दछौ न पूर्ण रुपमा कम्प्युटरको ज्ञान छ, न आकाशमा उढ्न सक्छौं न समुद्रमा पौडिन, यदि चाहे नेपाली समाजले उढ्न आकाश अनि पौडिन समुद्र डल्लै छ। विज्ञानले नयाँ आविष्कार गर्नभन्दा पहिले हाम्रो पुर्खा शनि पुज्नमा, ग्रह शान्ति गर्नमा विश्वास गर्थिए भने आजको आधुनिक विज्ञानको युगमा पिढीले सत्य तथ्यलाई मात्र आधार मान्छन् अनि त्यसैअनुरूप कार्य गर्दै जानुपर्ने समयको माग हो। सर्जकहरूले पनि आफ्ना सिर्जनाहरू समय रहँदै समाजलाई अर्पण गर्नुपर्ने आह्वान गर्दै समाजको विकासको भार अब साहित्यकार, सङ्गीतकार, चित्रकार तथा शिल्पकारहरूको काँधमा रहेको उनले आफ्नो सम्बोधनमा बताए। उनले समाजको विकास क्रमको सन्दर्भलाई उठान गर्दै सफलताको निम्ति भौंतारिँदै अन्य ठाउँतिर जानभन्दा आफ्नै घर आँगनलाई सफलताको मैदान बनाउनुपर्ने मन्त्री गुरुङले आह्वान गरे।

यसै क्रममा कार्यक्रमको अध्यक्षता गरेका नेसापकै अध्यक्ष रूद्र पौड्यालले आफ्नो अध्यक्षीय सम्बोधनमा समाजको विकासको निम्ति बिल्डिङ बनाउनभन्दा, ठूला ठूला अट्टालिकाहरू बनाउनुभन्दा, जीवनमा भौतिक सुखका कुराहरू जोगाड गर्नभन्दा समाजलाई सुधार गर्न सामाजिक स्तरमा सिर्जनाहरू गर्नसके त्योभन्दा ठूलो धन अर्को नहुने उनले बताए। यसै क्रममा हामीअघिका सर्जकहरूले हामीलाई जे-जति दिएर गएका छन्, त्यही संस्कारलाई अघि बढाउनसके मात्र पनि धेरै हुने कुरा पौड्यालले बताए। अहिलेका केही मानिसहरू परम्परा तोड्न मन पराउँछन् त्यो तोडाइले नयाँ सिर्जना हुन्छ भने कोही मान्न तयार होला तर त्यो तोडाइ विध्वंश छ भने त्यो व्यक्तिको निम्ति मात्र नभएर समाजको निम्ति पनि अति घातक बन्नजान्छ भन्ने कुरा बताउँदै संवेदनशीतला साहित्यको स्रोत रहेको पौड्यालले बताए। कार्यक्रममा सर्जक सुरेखा ढुङ्गेलको पुस्तकमाथि समीक्षात्मक टिपोट राख्दै प्राध्यापक टीबी छेत्रीले कुनै सर्जकहरूले आफ्ना पुस्तक प्रकाशन गर्नभन्दा पहिले पुस्तकको पाण्डुलिपिलाई प्रबुद्ध बुद्धिजीवीवर्गसमक्ष राखेर त्यसलाई पूर्ण संशोधन गरी प्रकाशन गर्ने सुझाउ राखे। यसो गर्दा रचनाकारहरू अराजक नबन्ने कुरा छेत्रीको थियो। कार्यक्रममा आफ्ना कुरा राख्दै सर्जक सुरेखा ढुङ्गेलले कृति प्रकाशनसम्मको यात्रामा परिवारदेखि लिएर अन्यहरूले गरेको सहयोगप्रति आभार व्यक्त गरिन्। कार्यक्रममा वरिष्ठ साहित्यकार शङ्करदेव ढकालले ‘नेपाली भाषाको मानकीकरण’ शीर्षकमाथि वार्ता प्रस्तुत गरेका थिए।

कार्यक्रममा कवि गोष्ठीको पनि आयोजना गरिएको थियो, जसमा शेरबहादुर कार्की, अर्जुन यावा, कुबेर विष्ट, अम्बर लाछिकाठी, ललित लोहार आदिले आ-आफ्ना कथा-कविता वाचन गरेका थिए। नेसापका महासचिव जीवन शर्माद्वारा स्वागत सम्बोधनपछि प्रारम्भ भएको कार्यक्रमको सञ्चालन नेसापका पूर्व महासचिव नीलम न्यौपानेले गरेका थिए भने धन्यवाद ज्ञापन नेसापका कोषाध्यक्ष डा. राजु गिरीले गरेका थिए।












