स्थानीय रेडियो श्रोतामाझ लोकप्रिय बनेको कार्यक्रम “हाम्रो आवाज” छिट्टै पुनः सुरु हुने भएको छ। लामो समयदेखि स्थगित यो कार्यक्रम अब फेरि WAIF FM 88.3 MHz बाट प्रसारण हुने पक्का भएको छ।
कार्यक्रमका सञ्चालक हरि सुबेदीले सामाजिक सञ्जालमार्फत श्रोताहरूमाझ जानकारी दिँदै भनेका छन् — “तपाईंहरू तयार हुनुहुन्छ? चाँडै नै फेरि हामी जोडिनेछौं FM 88.3 MHz मार्फत।”
उक्त रेडियो स्टेसनमा साप्ताहिक रुपमा जम्मा ८७ वटा कार्यक्रम सञ्चालन हुन्छन्, तर तीमध्ये “हाम्रो आवाज” नै एक मात्र नेपाली भाषी कार्यक्रम हो। यही कारण यसले नेपाली भाषी समुदायमा छुट्टै महत्व राख्दै आएको छ।
यो कार्यक्रमले विगतमा साहित्य, संस्कृति, भाषा, संगीत, सामाजिक मुद्दा र प्रवासी जीवनका अनुभवलाई प्रसारणमार्फत उजागर गर्दै आएको थियो। कार्यक्रम पुनः सुरु हुने खबर सार्वजनिक भएपछि पुराना श्रोतामाझ उत्साह देखिएको छ र धेरैले यसलाई समुदायलाई अझ नजिक ल्याउने पहलको रूपमा स्वागत गरेका छन्।
अब छिट्टै श्रोताप्रिय “हाम्रो आवाज” पुनःप्रसारणमार्फत आफ्ना समुदायसँग पुनः भेटिने अपेक्षा गरिएको छ।
